रणवीर सिंह र अक्षय खन्ना अभिनीत भारतीय फिल्म 'धुरन्धर' ले बक्स अफिसमा राम्रो सफलता पाइरहेको छ।
फिल्मले प्रदर्शनको ३० दिनमा घरेलु बक्स अफिसमा ७५९.५ करोड तथा विश्वव्यापी बक्स अफिसमा ११८२.२५ करोड भारूभन्दा बढी कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
आदित्य धर निर्देशित फिल्मले यसअघि नै केही रेकर्डहरू बनाइसकेको छ। यहाँ यो फिल्मले तोडेका केही ठूलो रेकर्डहरूबारे जानकारी दिइएको छ।
हिन्दी भाषामा मात्र रिलिज भएर पनि ठूलो कमाइ
हिन्दी भाषामा मात्र रिलिज भएर ‘धुरन्धर’ ले गरेको कमाइ निकै ठूलो हो। यसले विश्वव्यापी कमाइमा 'जवान' (१०८० करोड भारू) र 'पुष्पा २' को हिन्दी डबले कमाएको (१०८७ करोड भारू) लाई पार गरेको नवभारत टाइम्सले जनाएको छ।
चौथो हप्तामा १ सय करोड भारूभन्दा बढी कमाउने पहिलो भारतीय फिल्म
'धुरन्धर' ले आफ्नो सुरूआती सप्ताहन्तमा मुस्किलले १ सय करोड भारू कमाएको थियो। दर्शकको साथले यसको कमाइमा उल्लेखनिय बृद्धि ल्यायो। नयाँ रिलिजहरूले समेत यसको कमाइको गतिलाई रोक्न सकेनन्। चौथो हप्तामा फिल्मले भारतमा १०३ करोड भारू कमाएको थियो, जुन एक रेकर्ड हो। अघिल्लो रेकर्ड 'पुष्पा २' ले बनाएको थियो। पाँच भाषाहरूमा उक्त फिल्मले चौथो साता ६९ करोड कमाइ गरेको थियो।
घरेलु बक्स अफिसमा धेरै कमाउने पहिलो बलिउड फिल्म
जनवरी २ सम्म 'धुरन्धर' ले भारतमा ७४७ करोड भारू कमाएको छ। जुन बलिउड फिल्मको रेकर्ड हो। यसअघि कुनै पनि बलिउड फिल्मले घरेलु बक्स अफिसमा ७०० करोड कमाएको थिएन। 'धुरन्धर' ले सन् २०२३ मा भारतमा ६४० करोड भारू कमाएको शाहरूख खानको 'जवान' को रेकर्ड तोडेको जनाइएको छ।
लगातार ३० दिनसम्म दोहोरो अंकको कमाइ
धेरैजसो ठूला फिल्महरूले लगातार १२-१५ दिनसम्म दोहोरो अंकको कमाइ गर्न सफल हुन्छन्। 'जवान' ले लगातार १३ दिनसम्म दोहोरो अंकको कमाई हासिल गर्यो, जबकि 'छावा' ले १८ दिनसम्म दोहोरो अंकको कमाइलाई निरन्तरता दियो।
धेरै भाषाहरूमा कमाइ गर्ने भएकाले भारतभरका फिल्महरू अझ लामो समयसम्म टिक्न सक्छन्। 'बाहुबली २' ले २४ दिनसम्म दोहोरो अंकको आँकडा पार गर्यो। तर 'धुरन्धर' ले लगातार ३० दिनसम्म हरेक दिन १० करोड वा सोभन्दा बढी कमाइ गरेको छ। यो बलिउडमा दुर्लभ उपलब्धि मानिन्छ। शनिबार पनि 'धुरन्धर' ले ११.७५ करोड भारू कमाएको थियो।
'बुक माइ शो' मा सबभन्दा धेरै टिकट बिक्री गर्ने बलिउड फिल्म
चौथो हप्तामा ‘धुरन्धर’ लोकप्रिय टिकटिङ प्लेटफर्ममा सबभन्दा धेरै बिक्री हुने बलिउड फिल्म बनेको छ। यसले प्लेटफर्ममा १ करोड ३० लाख टिकट बिक्री गरेको छ।
योसँगै 'छावा' (१ करोड २५ लाख) र 'जवान' (१ करोड २४ लाख) जस्ता फिल्महरूलाई उछिनेको जनाइएको छ। भारतीय फिल्मको लागि सबभन्दा धेरै टिकटको यो रेकर्ड 'पुष्पा २' को नाममा छ, जसले प्लेटफर्ममा २ करोड टिकट बिक्री गरेको थियो।
तर 'पुष्पा' बलिउड फिल्म थिएन। त्यसैले, 'धुरन्धर' बलिउड फिल्मको यस सूचीमा नम्बर १ मा छ।
जासुसी–थ्रिलर कथामा आधारित 'धुरन्धर' डिसेम्बर ५ देखि प्रदर्शनमा आएको थियो। आदित्य धर निर्देशित फिल्ममा रणवीर र अक्षयसँगै संजय दत्त, आर.माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ। फिल्मले नेपालमा १० करोड रूपैयाँभन्दा माथिको कमाइ गरेको जनाइएको छ।