तमिल सुपरस्टार थलापति विजय अभिनीत फिल्म 'जन नायकन' को सेन्सर विवाद भारतको सर्वोच्च अदालत पुगेको छ।
सेन्सर बोर्ड (केन्द्रीय फिल्म प्रमाणीकरण बोर्ड-सीबीएफसी) सँगको विवादलाई लिएर फिल्मका निर्माताले मद्रास उच्च अदालतको आदेशविरूद्ध सोमबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।
सुरूमा सीबीएफसीले समयमा प्रमाणपत्र नदिएको र प्रक्रिया अनावश्यक रूपमा रोकेको भन्दै निर्माता पक्ष मद्रास उच्च अदालत पुगेको थियो।
उनीहरूको माग थियो-सीबीएफसीलाई फिल्म प्रमाणीकरण गर्न निर्देशन दिइयोस्। यस विषयमा उच्च अदालतको एकल इजलासले निर्माताको पक्षमा आदेश दिँदै सीबीएफसीलाई प्रमाणपत्र दिन निर्देशन दिएको थियो।
तर उच्च अदालतकै खण्डपीठले एकल इजलासको सो आदेशलाई स्थगित गरिदियो। यही स्थगन आदेशका कारण फिल्मको सेन्सर प्रक्रिया पुनः रोकियो र रिलिज अन्योलमा पर्यो। त्यसपछि निर्माण कम्पनी केभीएन प्रोडक्सन्स एलएलपीले उच्च अदालतकै उक्त स्थगन आदेशविरूद्ध सर्वोच्च अदालतमा निवेदन दिएको भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
निर्माता पक्षले एकल इजलासको आदेश रोक्नुका लागि खण्डपीठले स्पष्ट र पर्याप्त कारण नदिएको दाबी गर्दै सर्वोच्च अदालतको हस्तक्षेप आवश्यक रहेको जनाएको छ।
'जन नायकन' जनवरी ९ देखि प्रदर्शनमा आउने तयारीमा थियो। तर सेन्सर नभएपछि प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरिएको छ।
यसैबीच मद्रास उच्च अदालतमा सो मुद्दाको अर्को सुनुवाइ जनवरी २० वा २१ तारिखमा हुने जनाइएको छ।
एच. विनोथ निर्देशित 'जन नायकन' विजयको अन्तिम फिल्म मानिएको छ। विजयले यसपछि सक्रिय राजनीतिमा प्रवेश गर्ने घोषणा गरिसकेकाले पनि फिल्मको विषयवस्तु र यसको कानुनी विवादलाई लिएर चासो बढेको छ।
फिल्ममा विजयसहित बबी देओल, पूजा हेगडे, ममिता बैजु, गौतम वासुदेव मेनन, प्रकाश राज, प्रियामणिलगायत कलाकारहरूको अभिनय छ।