भारतीय अभिनेता यश अभिनीत फिल्म 'टक्सिकः अ फेयरीटेल फर ग्रोन अप्स' को टिजर विवादमा तानिएको छ।
टिजरले अश्लील दृश्य समेटिएको आरोप खेप्न थालेको हो।
भारतीय संचारमाध्यमहरूका अनुसार टिजरमा देखाइएको केही दृश्यप्रति आपत्ति जनाउँदै आम आदमी पार्टीको महिला संगठनले कर्नाटक राज्य महिला आयोगमा उजुरी दर्ता गराएको छ।
भारतको ठूलो समाचार एजेन्सी पीटीआईका अनुसार आम आदमी पार्टीको महिला संगठनका नेताहरू सोमबार महिला आयोगका पदाधिकारीसँग भेटेर टिजरमा समावेश आपत्तिजनक दृश्य हटाउन माग गरेका छन्। उनीहरूले टिजर सार्वजनिक रूपमा प्रदर्शन गर्नु समाजका लागि नकारात्मक प्रभाव पार्ने खालको रहेको दाबी गरेका छन्।
पार्टीले आयोगलाई हस्तक्षेप गर्न र राज्य सरकारका अधिकारीहरूलाई टिजर प्रतिबन्ध लगाउन र सामाजिक सञ्जाल प्लेटफर्महरूबाट हटाउन निर्देशन दिन आग्रह गरेको छ।
उजुरी प्राप्त भएपछि कर्नाटक राज्य महिला आयोगले केन्द्रीय चलचित्र प्रमाणिकरण बोर्ड (सेन्सर बोर्ड)लाई पत्र लेख्दै 'उपयुक्त कारबाही' गर्न आग्रह गरेको छ।
आम आदमी पार्टीकी कर्नाटक प्रदेश सचिव उषा मोहनले आयोगलाई बुझाएको पत्रमा टिजरमा देखिएको अश्लील र स्पष्ट सामग्रीले महिला तथा बालबालिकाको सामाजिक हितमा गम्भीर क्षति पुर्याएको आरोप लगाइएको छ।
उमेरसम्बन्धी कुनै चेतावनी बिना सार्वजनिक गरिएको उक्त टिजरले महिलाको गरिमा घटाएको र कन्नड संस्कृतिको अपमान गरेको दाबी छ। साथै, यसले विशेषगरी नाबालिगहरूमा नकारात्मक असर पार्ने भन्दै टिजरमाथि प्रतिबन्ध लगाई सामाजिक सञ्जालबाट हटाउन निर्देशन दिन आग्रह गरिएको छ।
'टक्सिक' को टिजर यशको जन्मदिनको अवसर पारेर जनवरी ८ मा सार्वजनिक गरिएको थियो।
गीतु मोहनदासको निर्देशित यो फिल्ममा यशसँगै रूक्मिणी वसन्त, नयनतारा, कियारा आडवाणी, तारा सुतारिया, हुमा कुरेशीलगायत कलाकारहरूको अभिनय छ।
'टक्सिक' आगामी मार्च १९ मा प्रदर्शनमा आउने तयारीमा छ।