बलिउड फिल्म 'बोर्डर २' ले भारतीय बक्स अफिसमा बलियो ओपनिङ गरेको छ।
प्रदर्शनको पहिलो दिन शुक्रबार फिल्मले भारतमा ३२ करोड १० लाख भारू ग्रस कमाइ गरेको हो। सार्वजनिक बिदा नभएको दिनमा रिलिज भएर पनि फिल्मले ठूलो कमाइ गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले जनाएका छन्।
'बोर्डर २' को यो ओपनिङ सन् २०२६ को हालसम्मकै सर्वाधिक ठूलो हो। यो आँकडा गत वर्षको सबभन्दा ठूलो ओपनिङ गर्ने फिल्म 'छावा' कै आसपासमा पुगेको हो।
'बोर्डर २' ले खासगरी 'मास बेल्ट' क्षेत्रमा उत्कृष्ट व्यापार गरेको छ। धेरै एकल पर्दा (सिंगल स्क्रिन) हलहरूमा दर्शकको उल्लेखनीय भीड रहेको जनाइएको छ। सहरी क्षेत्रमा भने दिनको सुरूआती समयमा सामान्य उपस्थिति रहे पनि साँझतिर दर्शक संख्या उल्लेखनीय रूपमा बढेको भारतीय संचारमाध्यमले जनाएका छन्।
यद्यपि, उत्तर भारतका केही क्षेत्रमा परेको भारी वर्षाले व्यापारमा आंशिक असर पारेको उल्लेख गरिएको छ। त्यसका बाबजुद फिल्मको पहिलो दिनको व्यापार सन्तोषजनकभन्दा माथि रहेको विश्लेषण गरिएको छ।
फिल्मको 'वर्ड अफ माउथ' सकारात्मक रहेकाले शनिबार र आइतबारको व्यापार अझ उकालो लाग्ने अपेक्षा गरिएको छ। अनुराग सिंह निर्देशित 'बोर्डर २' भारत-पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित छ।
फिल्ममा सनी देओल, वरूण धवन, दिलजीत दोसांझ, अहान शेट्टी लगायतको प्रमुख भूमिका छ। 'बोर्डर २' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।