बलिउड स्टार शाहरूख खान अभिनीत प्रतीक्षित फिल्म 'किंग' को प्रदर्शन मिति घोषणा गरिएको छ। शनिबार घोषणा भिडिओ सार्वजनिक गर्दै फिल्म सन् २०२६ को अन्त्यमा प्रदर्शनमा आउने जानकारी दिइएको हो।
फिल्म क्रिसमसको अवसर पारेर २४ डिसेम्बर (पुस ९) देखि प्रदर्शनमा आउनेछ। सार्वजनिक टिजरको सुरूआतमा शाहरूखलाई हिमाली पृष्ठभूमिका उभिएर चिच्याइरहेको अवस्थामा प्रस्तुत गरिएको छ। त्यस्तै, टिजरमा उनलाई एउटा भवनमा सिसा फुटाउँदै भुइँमा हाम फालेको देखाइएको छ। उनको शरीर र अनुहारमा रगत लतपतिएको छ भने आँखामा निकै क्रोध देखिन्छ। शाहरूख अन्त्यमा संवादसहित कसैलाई मुक्काले हिर्काइरहेको देखिन्छन्।
टिजरले फिल्मको कथावस्तु र प्रस्तुति गम्भीर तर प्रभावशाली हुने संकेत गर्छ। सिद्धार्थ आनन्द निर्देशित फिल्मलाई ठूलो बजेटको महत्वाकांक्षी प्रोजेक्टका रूपमा हेरिएको छ। एक्सन–थ्रिलर यो फिल्ममा शाहरूख खान मुख्य भूमिकामा देखिनेछन् भने उनकी छोरी सुहाना खानले यही फिल्ममार्फत ठूलो पर्दामा डेब्यु गर्दैछिन्।
फिल्ममा दीपिका पादुकोण, अभिषेक बच्चन, अनिल कपुर, ज्याकी श्राफ, अर्शद वारसी र रानी मुखर्जी लगायतका चर्चित कलाकारहरूको समेत अभिनय रहने जनाइएको छ। 'किंग' को निर्मातामा रेड चिलीज इन्टरटेनमेन्ट र माफ्र्लिक्स पिक्चर्स छ।