भारतको केरला उच्च अदालतले फिल्म 'द केरला स्टोरी २' को प्रदर्शनमा अन्तरिम रोक लगाएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार निर्धारित प्रदर्शन मितिभन्दा एक दिनअघि अदालतले यस्तो आदेश दिएको हो।
न्यायाधिश बेचु कुरियन थोमसको एकल इजलासले फिल्मको रिलिजमा १५ दिनको अन्तरिम रोक आदेश गरेको छ। फिल्मको विषयवस्तुबारे दायर गरिएको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अर्को आदेश नभएसम्म प्रदर्शन नगर्न अदालतले निर्देशन दिएको हो।
निवेदक पक्षले फिल्मका केही दृश्य र प्रस्तुतीकरणले केरला राज्यमा सामाजिक सद्भाव बिग्रन सक्ने तथा समुदायबीच असन्तोष उत्पन्न हुन सक्ने आशंका व्यक्त गरेको बताइएको छ।
अदालतले फिल्मलाई प्रमाणपत्र प्रदान गर्ने निकाय केन्द्रीय फिल्म प्रमाणन बोर्डसँग पनि स्पष्टीकरण मागेको छ। प्रमाणपत्र प्रदान गर्दा प्रचलित मापदण्ड र निर्देशिका पालना गरिएको थियो वा थिएन भन्ने विषयमा स्पष्ट जवाफ दिन सम्बन्धित निकायलाई अदालतले निर्देशन दिएको हो। उक्त विषयमा विस्तृत सुनुवाइ जारी रहेकाले अन्तिम निर्णय नआएसम्म फिल्मको प्रदर्शन स्थगित रहनेछ।
अदालतको आगामी आदेशपछि मात्र यसको प्रदर्शनबारे टुंगो लाग्ने बताइएको छ। कामाख्या नारायण सिंह निर्देशित 'द केरला स्टोरी २' मा उल्का गुप्ता, अदिति भाटिया र ऐश्वर्या ओझाले मुख्य भूमिका निर्वाह गरेका छन्।