शाहिद कपूर र तृप्ती डिमरी अभिनीत फिल्म 'ओ रोमियो' ले विश्वव्यापी बक्स अफिसमा करिब १ सय करोड भारू ग्रस कमाइ गरेको छ।
फिल्मले रिलिजको दुई सातामा भारतमा नेट ६२ करोड भारू र विश्वव्यापी ९८ करोड भारू ग्रस कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्। व्यापार स्रोतहरूले शुक्रबार १ सय करोड भारूको आँकडा पार गर्ने अनुमान गरेका छन्।
उक्त कमाइ गर्दा फिल्म हिट कि फ्लप? धेरैको जिज्ञासा हुनसक्छ।
फिल्मको बक्स अफिस सफलता कमाइले मात्र होइन्, नाफाले निर्धारण गर्छ। फिल्म रिलिज हुँदासम्म यसको लागत कति थियो भन्ने कुरामा सफलता/असफलता निर्धारण हुन्छ।
निर्माताहरूले आधिकारिक घोषणा नगरे पनि व्यापारिक स्रोतहरूका अनुसार मार्केटिङ र प्रमोशन समेत जोडेर फिल्ममा १ सय देखि १ सय २० करोड भारूसम्म लगानी भएको बताइन्छ। फिल्मको कमाइ हेर्दा यसले लगानी उठाउने सम्भावना न्यून देखिन्छ।
विशाल भारद्वाजद्वारा निर्देशित 'ओ रोमियो' मा शाहिद र तृप्तिसहित अविनाश तिवारी, फरिदा जलाल, विक्रान्त मेसी (विशेष उपस्थिति), नाना पाटेकर, तमन्ना भाटिया, दिशा पटानी, अरूणा इरानी, हुसेन दलाल, राहुल देशपाण्डेलगायत कलाकारहरू छन्।
नेपालका सिनेमा हलमा पनि यो फिल्म प्रदर्शनरत छ।