दक्षिण भारतीय स्टार थलापति विजयकी श्रीमती संगीता सोर्नालिंगमले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी छन्।
संगीताले विजयमाथि विश्वासघातको आरोप लगाउँदै वैवाहिक जीवन अन्त्य गर्न तमिलनाडुस्थित चेंगलपट्टू परिवार अदालतमा निवेदन दर्ता गराएकी हुन्।
भारतीय संचारमाध्यम इण्डिया टुडेको रिपोर्ट अनुसार उनले विजय एक सहकर्मी अभिनेत्रीसँग विवाहेत्तर सम्बन्धमा रहेको आरोप लगाएकी छन्।
निवेदन अनुसार उनले यो सम्बन्ध सन् २०२१ मा आफूले पत्ता लगाएको र सम्बन्ध समाप्त गर्ने वाचा गरे पनि निरन्तर रहेको उल्लेख गरेकी छन्। विजयले आफूलाई आफ्नो सामाजिक र व्यावसायिक जीवनबाट बहिष्कार गरेको समेत संगीताले दाबी गरेकी छन्।
विजय र संगीताले सन् १९९९ मा विवाह गरेका थिए। उनीहरूका एक छोरा र एक छोरी छन्।