भारतीय अभिनेता यश अभिनीत फिल्म 'टक्सिकः अ फेयरीटेल फर ग्रोन-अप्स' को प्रदर्शन मिति पछि सारिएको छ।
यसअघि १९ मार्च २०२६ (चैत ५) मा प्रदर्शन तयारी गरिएको फिल्म अब ४ जुन २०२६ (जेठ २१) देखि विश्वभर एकसाथ प्रदर्शन गरिने भएको हो। निर्माता तथा अभिनेताले बुधबार एक विज्ञप्ति साझा गर्दै फिल्मको नयाँ रिलिज मिति घोषणा गरेका हुन्।
अमेरिका र इजरायलको इरानमा संयुक्त हमलापछि मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण प्रदर्शन तालिका परिवर्तन गर्नुपरेको निर्माताले जनाएका छन्।
मध्यपूर्व क्षेत्र भारतीय फिल्मका लागि महत्वपूर्ण बजार मानिन्छ। त्यहाँको अस्थिर परिस्थितिले फिल्मको समग्र व्यापारमा प्रतिकूल असर पार्न सक्ने अनुमान गरिएपछि मिति सार्ने निर्णय गरिएको जनाइएको छ।
उच्च लागतमा निर्माण भइरहेको यस फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ। विभिन्न भाषामा तयार पारिएको यस फिल्मलाई विश्व बजारमा एकैसाथ उतार्ने तयारी गरिएकाले अनुकूल समयको प्रतीक्षा गर्नु आवश्यक ठानिएको बताइएको छ।
गीतु मोहनदासद्वारा निर्देशित 'टक्सिक' मा यशसँगै नयनतारा, कियारा आडवाणी, हुमा कुरेशी, रूक्मिणी वसन्त र तारा सुतारिया पनि मुख्य भूमिकामा छन्। 'टक्सिक' पछि सरेसँगै 'धुरन्धर २' सँगको प्रतिस्पर्धा टरेको छ।
