भारतीय फिल्म उद्योगमा एकै मितिमा रिलिज हुने भनिएका दुई ठूला बजेटका फिल्मबीचको सम्भावित बक्स अफिस प्रतिस्पर्धा अन्ततः टरेको छ।
यश स्टारर 'टक्सिक' को प्रदर्शन मिति सारिएपछि यो फिल्म र रणवीर सिंह स्टारर 'धुरन्धर २' बीच हुने भनिएको टक्कर टरेको हो।
'टक्सिक' पहिले १९ मार्च (चैत ५) मा प्रदर्शन हुने तय गरिएको थियो। सोही मितिमा 'धुरन्धर' पनि प्रदर्शन हुने घोषणा थियो। तर 'टक्सिक' को निर्माण पक्षले यसको प्रदर्शन मिति ४ जुन (जेठ २१) मा सार्ने निर्णय गरेपछि दुवै फिल्मबीचको प्रतिस्पर्धा टरेको हो।
इरान–इजरायलमा भइरहेको द्वन्द्वका कारण मध्य पूर्वको व्यापार प्रभावित हुने सम्भावना देखाउँदै ‘टक्सिक’ को प्रदर्शन सारिएको हो।
योसँगै फिल्म हल संचालक तथा प्रदर्शकहरूले 'टक्सिक' र 'धुरन्धर २' अब एकै दिन रिलिज नहुनेमा खुसी व्यक्त गरेका छन्। किनकि एउटै दिन दुई ठूला बजेटका फिल्म प्रदर्शन हुँदा स्क्रिन बाँडफाँटको समस्या सिर्जना हुने र दर्शकसमेत विभाजित हुने सम्भावना रहन्छ।
अब आदित्य धरको बहुप्रतिक्षित जासूसी थ्रिलर 'धुरन्धरः द रिभेन्ज' लाई आफ्नो तय गरिएको मिति १९ मार्च (चैत ५) मा एकल रूपमा प्रदर्शन हुने अवसर प्राप्त भएको छ। फिल्म व्यापार विश्लेषकहरूका अनुसार प्रतिस्पर्धी ठूला फिल्म नहुँदा यसको प्रारम्भिक व्यापारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
'धुरन्धरः द रिभेन्ज' मा रणवीरसहित अर्जुन रामपाल, सञ्जय दत्त, आर माधवन, सारा अर्जुन, राकेश बेदीलगायतको अभिनय छ।
त्यस्तै, गीतु मोहनदासद्वारा निर्देशित 'टक्सिक' मा यशसँगै नयनतारा, कियारा आडवाणी, हुमा कुरेशी, रूक्मिणी वसन्त र तारा सुतारिया पनि मुख्य भूमिकामा छन्।