बलिउडको बहुप्रतीक्षित फिल्म 'धुरन्धरः द रिभेन्ज' को शनिबार सार्वजनिक ट्रेलरले दर्शकहरूलाई उत्साहित बनाइरहेको छ।
स्पाइ–एक्सन थ्रिलर फिल्मको ट्रेलरले युट्युबमा छोटो समयमै निकै चर्चा बटुलेको छ। बलिउडका अन्य चर्चित कलाकारहरूले समेत ट्रेलरको चर्चा गरेका छन्।
आइतबार दिउँसोसम्म रिलिजको एक दिनमै यसको हिन्दी संस्करणको ट्रेलरलाई ४ करोड ४० लाखभन्दा बढीपटक हेरिएको छ।
पाकिस्तानविरूद्ध लड्ने भारतीय जासूसी मिसनको कथा भन्ने फिल्मको ट्रेलर हेर्दा देखिन्छ, रणवीर सिंह फिल्ममा दुई फरक-फरक अवतारमा छन्। उनले फिल्ममा हमजा अली मजारी र जसकिरत सिंह रंगीको दुई फरक अवतार निर्वाह गरेको ट्रेलरमा देखिन्छ, जसले कथालाई थप रहस्यमय र रोचक बनाएको छ।
ट्रेलर अनुसार यी दुई अवतार एउटै व्यक्तिको रहेको बुझ्न सकिन्छ। एक व्यक्तिको भिन्न नाम र पहिचान जसले कथा अगाडि बढाउँछ।
आदित्य धरको निर्देशनमा बनेको फिल्मले एक्सन र थ्रिलको उत्कृष्ट मिश्रण प्रस्तुत गर्ने दाबी निर्माणपक्षको छ।
ट्रेलरमा देखिएका एक्सन दृश्य, रणवीरको फरक लुकले दर्शकहरूलाई उत्साहित बनाएको छ। निर्माण पक्षका अनुसार फिल्म पहिलो भागको कथा जारी राख्दै अगाडि बढ्छ, जसले मुख्य पात्रको आकांक्षा, बदला र चुनौतीलाई झल्काउँछ।
युट्युब चार्ट्समा नेपालमा समेत शीर्षस्थानमा
यो फिल्मको ट्रेलर सार्वजनिकसँगै थुप्रै देशमा ट्रेन्डिङमा देखिएको छ। नेपालमा समेत युट्युब चार्ट्समा ट्रेलर पहिलो नम्बरमा उक्लिएको छ। यसले नेपालमा पनि फिल्मप्रति दर्शकको उत्साह देखाउँछ।
‘धुरन्धर’ पहिलो भागले बक्स अफिसमा ठूलो सफलता हासिल गरेको थियो। त्यसैको निरन्तरताका रूपमा निर्माण गरिएको सिक्वेल ‘धुरन्धरः द रिभेन्ज’ १९ मार्च (चैत ५) देखि विश्वव्यापी प्रदर्शन तयारीमा छ। फिल्ममा रणवीरसँगै अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदीलगायत कलाकारहरूको अभिनय छ।
फिल्म हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा पनि एकैसाथ रिलिज हुनेछ।