बलिउड अभिनेता अक्षय कुमार प्रतीक्षित कमेडी फिल्म 'गोलमाल ५' मा देखिने भएका छन्।
रोहित शेट्टीको निर्देशनमा बन्ने फिल्मका लागि अक्षयले आफ्नो व्यस्त तालिकाबाट १८ दिन छुट्याएका छन्। उनी हाल आफ्नो हरर-कमेडी फिल्म 'भूत बंगला' को रिलिज तयारीमा छन्। यही व्यस्तताका बीच उनले 'गोलमाल ५' को छायांकनका लागि छुट्टै समय व्यवस्थापन गरेका हुन्।
फिल्ममा अक्षयले विशेष तथा रोचक भूमिका निर्वाह गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्। पिंकभिल्लाको रिपोर्ट अनुसार उनको पात्रले अजय देवगनसँग पर्दामा 'टम एन्ड जेरी' जस्तै हास्यपूर्ण प्रतिस्पर्धा गर्ने बताइएको छ।
अक्षयको उपस्थितिले कमेडीमा नयाँ गतिशीलता थप्ने विश्वास गरिएको छ। चाखलाग्दो कुरा के छ भने अक्षय र अजयले विगतमा 'सिम्बा', 'सूर्यवंशी' लगायतका फिल्ममा सहकार्य गरे पनि पूर्ण कमेडी फिल्ममा 'गोलमाल ५' पहिलो सहकार्य हुनेछ।
फिल्ममा अर्शद वारसी, शर्मन जोशी, कुणाल केम्मु र तुषार कपूरलगायतको पनि अभिनय रहनेछ।
'गोलमाल' बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइजमध्ये एक हो, जसको पाँचौं भाग ठूलो अपेक्षासहित निर्माण भइरहेको छ।
फिल्म सन् २०२७ मा प्रदर्शनमा ल्याइने जनाइएको छ।