भारतीय अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतीक्षित फिल्म 'धुरन्धरः द रिभेन्ज' ले रिलिजअघि अग्रिम टिकट बिक्रीमा कीर्तिमान बनाएको छ।
फिल्मले प्रिभ्यू शोहरूका लागि मात्रै दुई लाखभन्दा बढी टिकट बिक्री गर्दै बलिउडमा प्रिमियरबाट सबभन्दा धेरै आम्दानी गर्ने फिल्मको रेकर्ड बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फिल्मको मार्च ७ को बिहान ट्रेलर सार्वजनिक भएपछि एड्भान्स बुकिङ खुलाइएको थियो। हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार बुकिङ खुलाएको पहिलो २४ घण्टाभित्रै फिल्मले बुक माइ शोमा मात्र ८७ हजार टिकट बिक्री गरिसकेको थियो। मार्च ९ बिहानसम्ममा यो संख्या उक्त प्लेटफर्ममा १ लाख ५० हजारभन्दा बढी र समग्रमा २ लाखभन्दा बढी पुगेको थियो।
सैकनिल्कका अनुसार फिल्मको प्रिभ्यू शोहरूका लागि भारतभरि २ करोड ६ लाख टिकट बिक्री गरिसकेको छ, जसले १२ करोड २९ लाख भारू कमायो। यो संकलनको ठूलो हिस्सा मूल हिन्दी संस्करणबाट आएको भए पनि, तमिल डबले पनि प्रिभ्यू शोहरूका लागि लगभग १० लाख भारू कमाएको जनाइएको छ।
आधिकारिक रिलिजभन्दा एक दिनअघि आयोजना गरिने पेड-प्रिमियर शोबाट भएको कमाइले बलिउडमा यसअघि रहेका प्रिमियर कमाइका रेकर्डसमेत तोडेको बताइन्छ।
'धुरन्धरः द रिभेन्ज' ले 'स्त्री २' को १० करोड भारूको अंकलाई उछिन्दैछ। प्रिमियर हुन अझै ९ दिन बाँकी रहेकोले यो संख्या अझै बढ्ने सम्भावना छ।
फिल्मको एडभान्स बुकिङबाट भएको कमाइले केही फिल्महरूको पहिलो दिनको कमाइलाई समेत उछिनेको उल्लेख गरिएको छ। उदाहरणका लागि 'ओ रोमियो' को पहिलो दिनको कमाइ करिब ९ करोड भारू आसपास थियो भने 'बागी ४' को ओपनिङ कमाइ पनि करिब १२ करोड रूपैयाँ हाराहारीमा रहेको बताइएको छ।
'धुरन्धर २' ले भने प्रिमियर शोका लागि भएको अग्रिम टिकट बिक्रीबाट मात्रै यति बराबर वा सोभन्दा बढी कमाइ गरिसकेको रिपोर्टमा उल्लेख छ।
'धुरन्धर' पहिलो भागले बक्स अफिसमा ठूलो सफलता हासिल गरेको थियो। त्यसैको निरन्तरताका रूपमा निर्माण गरिएको सिक्वेल 'धुरन्धरः द रिभेन्ज' १९ मार्च (चैत ५) देखि विश्वव्यापी प्रदर्शन तयारीमा छ।
आदित्य धरको निर्देशनमा बनेको फिल्ममा रणवीरसँगै अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदीलगायत कलाकारहरूको अभिनय छ। रणवीरले भारतीय गुप्तचर पात्रको भूमिकामा अभिनय गरेका छन्।
फिल्म हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा पनि एकैसाथ रिलिज हुनेछ। नेपालमा पनि फिल्म एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।