आलिया भट्ट, शर्वरी वाघ, अनिल कपूर र बबी देओल अभिनीत स्पाई युनिभर्स फिल्म 'अल्फा' को प्रदर्शन मिति घोषणा गरिएको छ।
फिल्म १० जुलाई २०२६ मा विश्वव्यापी प्रदर्शनमा आउने भएको हो। प्रोडक्सन हाउस यशराज फिल्म्सले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ।
पहिले 'अल्फा' सिधै ओटिटी रिलिजको बारेमा कुरा भएको थियो। मिडिया रिपोर्टका अनुसार निर्माताहरूले नेटफ्लिक्सबाट २१५ करोड भारूको प्रस्ताव प्राप्त गरेका थिए। यद्यपि, निर्माता आदित्य चोपडा र उनको टोलीले यसलाई अस्वीकार गरे।
शिव रवैल निर्देशित 'अल्फा' यशराज स्पाइ युनिभर्सको पहिलो महिला केन्द्रित कथा भएको बताइएको छ। फिल्ममा आलिया र शर्वरी दुवैजना गुप्तचर एजेन्टको भूमिकामा देखिनेछन्। उनीहरूको एक्सन दृश्यहरू दर्शकले हेर्न पाउनेछन्। त्यस्तै, अनिल कपूर र बबी देओल पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।
निर्माताहरूले उनीहरूको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी साझा गरेका छैनन्।
'अल्फा' को घोषणा सन् २०२४ मा गरिएको थियो। सुरूमा अप्रिल १७, २०२६ मा रिलिज हुने योजना रहे पनि नयाँ रिलिज मिति जुलाई १० को लागि तय गरिएको हो। महिला मुख्य भूमिका भएको जासूसी ब्रह्माण्डको पहिलो फिल्मको रूपमा यशराज फिल्म्सले 'अल्फा' को लागि उच्च आशा राखेको छ।
यो फिल्म हिन्दी मात्र नभई तमिल र तेलुगुमा पनि रिलिज हुने जनाइएको छ।
