बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज 'वेलकम' को चौथो भाग पनि बन्ने भएको छ।
निर्माता फिरोज नाडियाडवालाले फिल्म 'वेलकम ४' को स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको पुष्टि गरेका छन्।
भारतीय संचारमाध्यमसँगको कुराकानीमा उनले फिल्मको कथा लेखन कार्य तीव्र रूपमा अघि बढिरहेको र स्क्रिप्ट लगभग अन्तिम चरणमा पुगेको बताएका हुन्। उनले दर्शकले मन पराएका पुराना पात्रहरूलाई फेरि पर्दामा ल्याउने विषयमा पनि काम भइरहेको संकेत दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
तेस्रो श्रृंखला 'वेलकम टु द जंगल' रिलिजको प्रतीक्षामा रहेका बेला चौथो श्रृंखलाको घोषणा भएको हो।
फिल्ममा विशेषगरी अक्षय कुमारले निभाएको राजीव, नाना पाटेकरको उदय भाइ, अनील कपूरको मजनु भाइ र परेश रावलले अभिनय गरेको डा. घुंगरू जस्ता लोकप्रिय पात्र पुनः देखिन सक्ने चर्चा छ। यी पात्रहरू दर्शकमाझ निकै चर्चित भएका कारण नयाँ भागमा उनीहरूको पुनरागमनलाई विशेष महत्व दिइएको बताइएको छ।
निर्माताका अनुसार आगामी फिल्म पहिलेका भागहरू जस्तै हास्यप्रधान हुनेछ। तर यसको प्रस्तुति अझ ठूलो र भव्य बनाइने योजना रहेको छ। निर्माता फिरोजले फ्रेन्चाइजका अघिल्ला भागहरूले जस्तै दर्शकलाई मनोरञ्जन दिने विश्वास गरेका छन्।
हाल भने फ्रेन्चाइजको अर्को फिल्म 'वेलकम टु द जंगल' प्रदर्शनको तयारीमा छ। उक्त फिल्मपछि ‘वेलकम’ श्रृंखलाको चौथो भागको निर्माण प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
'वेलकम' फ्रेन्चाइजीको सुरूआत २००७ मा भएको थियो। पहिलो भाग बक्स अफिसमा हिट भयो। यसको सिक्वेल 'वेलकम ब्याक' थियो भने अक्षय कुमार तेस्रो फिल्ममा फर्कने तयारीमा छन्।
चौथो श्रृंखलाको पुष्टि भएपछि 'वेलकम' फ्रेन्चाइजीले आफ्नो हास्य ब्रह्माण्डलाई अझ विस्तार गर्न तयार देखिन्छ।
'वेलकम टु द जंगल' २६ जुन २०२६ मा प्रदर्शनमा आउने तालिका तय छ।