आमिर खान प्रोडक्सनको फिल्म 'एक दिन' को ट्रेलर सार्वजनिक भएको छ।
बुधबार सार्वजनिक ट्रेलरमा मुख्य कलाकार साईं पल्लवी र जुनैद खानबीचको प्रेमकथाको सुन्दर झलक देखाइएको छ।
उनीहरूबीच एक दिनका लागि सुरू हुने रोचक प्रेम र भावनात्मक उतार-चढावको कथा ट्रेलरमा देखिन्छ। यो दक्षिण भारतकी चर्चित अभिनेत्री साईं पल्लवीको बलिउड डेब्यू फिल्म समेत हो। त्यस्तै, अभिनेता जुनैद आमिर खानका छोरा हुन्।
ट्रेलरमा मुख्य दुई पात्रले सँगै बिताएको एक सुन्दर दिनको झल्को देखाइन्छ। तर दिन समाप्त भएपछि उनीहरूबीचको सम्बन्धले कस्तो मोड लिन्छ भन्ने कथाको मुख्य रहस्यका रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरको पृष्ठभूमिमा बजेको टाइटल ट्रयाकमा चर्चित गायक अरिजित सिंहको आवाजले कथा अझ भावनात्मक बनाएको छ।
सुनील पाण्डेको निर्देशनमा बनेको 'एक दिन' सन् २०१६ को थाई फिल्म 'वान डे' को रिमेक भएको बताइएको छ। प्रेम, उत्साह र भावनात्मक सम्बन्धलाई चित्रण गर्ने फिल्मले कहिलेकाहीँ एक दिन मात्र पनि जीवनपर्यन्त प्रभाव पार्न सक्ने कथा भन्ने बताइएको छ।
'एक दिन' आगामी १ मे २०२६ मा प्रदर्शनमा आउने तयारीमा छ।