बलिउड अभिनेता अक्षय कुमार अभिनीत हरर-कमेडी फिल्म 'भूत बंगला' को टिजर सार्वजनिक भएको छ।
प्रियदर्शन निर्देशित फिल्मको बिहीबार सार्वजनिक टिजरमा अक्षयको हास्य शैलीसँगै डर र रहस्यको कथा मिसिएको देखिन्छ। कथामा अक्षयले एउटा पुरानो दरबारजस्तो घर उत्तराधिकारमा पाउँछन्, जहाँ भूतको प्रभाव देखिन्छ। मंगलपुरमा रहेको उक्त दरबारसँग जोडिएको एक रहस्यमय कथाको झलक पनि टिजरमा प्रस्तुत गरिएको छ।
टिजरमा परेश रावल, तब्बु, वामिका गब्बी, राजपाल यादव, मिथिला पालकर, जिशु सेनगुप्ता, राजेश शर्मालगायतको पात्रहरूको पनि परिचय गराइएको छ।
टिजर सार्वजनिक भएसँगै अक्षय कुमारको कमेडी टाइमिङ देखेर धेरै दर्शकले उनलाई फेरि 'भूल भुलैया' शैलीको भूमिकामा देख्न पाएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा समेत गरेका छन्।
केहीले 'ओरिजिनल जोडी फर्कियो' भन्दै निर्देशक प्रियदर्शकन र अक्षय कुमारको सहकार्यलाई मनोरञ्जनको ग्यारेन्टी बताएका छन्।
अक्षय र प्रियदर्शनले यसअघि 'हेरा फेरी', 'गरम मसला', 'भागम भाग', 'दे दना दन', 'खट्टा मीठा' जस्ता प्रतिष्ठित कमेडीहरूमा सहकार्य गरेका थिए। 'भूत बंगला' १० अप्रिल २०२६ (चैत २७) मा थिएटरहरूमा रिलिज हुनेछ।