भारतीय अभिनेता रणवीर सिंह अभिनीत सुपरहिट फिल्म 'धुरन्धर' को सिक्वेल 'धुरन्धरः द रिभेन्ज' ले रिलिजअगावै रेकर्ड बनाएको छ।
मार्च १९ (चैत ५) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले 'पेड-प्रिभ्यू' बाट मात्रै २७ करोड १३ लाख भारू कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
दैनिक भास्करका अनुसार ‘धुरन्धरः द रिभेन्ज’ को यो कमाइ अहिलेसम्मको हिन्दी फिल्मको पेड प्रिभ्यू कमाइमा सबभन्दा बढी रकम हो।
निर्माताहरूले सामान्यतया दर्शकको प्रतिक्रिया मापन गर्न रिलिज हुनुभन्दा अगाडि केही चुनिएका सशुल्क पूर्वालोकन (पेड-प्रिभ्यू) शो राख्छन्। 'धुरन्धरः द रिभेन्ज' को १८ मार्चमा भारतमा ९ हजार ५५० पेड प्रिभ्यू शो राखिएको समाचारमा उल्लेख छ। यसको ८ लाख ३८ हजार टिकट बिक्री भएको जनाइएको छ।
'पेड प्रिभ्यू' कमाइमा 'धुरन्धर २' ले 'दे काल हिम ओजी', 'बाहुबली २', 'स्त्री २' लगायत फिल्मलाई पछि पारेको छ।
'दे काल हिम ओजी' ले पेड प्रिभ्यूबाट २३ करोड कमाएको थियो भने 'बाहुबली २' को कमाइ २२ करोड थियो। 'धुरन्धर २' को पेड प्रिभ्यू कमाइ 'स्त्री २' को ८.५ करोडभारू भन्दा लगभग तीन गुणा बढी हो।
आदित्य धर निर्देशित 'धुरन्धरः द रिभेन्ज' रणवीरसहित अर्जुन रामपाल, संजय दत्त र आर. माधवनको पनि अभिनय छ।
यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषाहरूमा रिलिज हुनेछ।