अभिनेता सलमान खानको फिल्म 'ब्याटल अफ गलवान' को नाम परिवर्तन गरिएको छ।
सलमानले सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका छन्, जसलाई 'मातृभूमिः मे वार रेस्ट इन पिस' नाम दिइएको छ।
नयाँ पोस्टरमा सलमानलाई युद्धभूमिमा घाइते र लडाईको असर देखिने अवतारमा देखाइएको छ। उनको अनुहारमा चोट र रगत देखिन्छ भने अग्रभूमिमा काँडे तारले बेरिएको काठको लौरो समातेको देखिन्छ।
सलमान खान फिल्मस्को प्रस्तुति रहेको 'मातृभूमि' को निर्देशक अपूर्व लाखिया हुन्। निर्मातामा सलमा खान छिन्।
फिल्ममा सलमान खान र चित्रांगदा सिंह मुख्य भूमिकामा छन्। साथमा जेन श, अंकुर भाटिया, विपिन भारद्वाजसहित नेपाली अभिनेता अनुपविक्रम शाहीको समेत अभिनय छ।
यो फिल्म एक वार ड्रामा हो। सन् २०२० मा गलवान क्षेत्रमा भारत र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा फिल्म आधारित रहेको छ।
भारत र चीनको सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो। हतियारबीना भएको सो झडपको कथामा आधारित रहेर यो फिल्म निर्माण भएको बताइएको छ।
यसको प्रदर्शन १७ अप्रिलमा हुनेछ।
