बलिउड अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतीक्षित फिल्म 'धुरन्धरः द रिभेन्ज' बिहीबारदेखि विश्वव्यापी प्रदर्शन तयारीमा छ।
रिलिजअघि नै ठूलो चर्चा कमाएको फिल्मको रनटाइम पहिलो भागभन्दा अझ लामो हुने भएको छ। पहिलो भागको अवधि २१४ मिनेट थियो। रिपोर्ट अनुसार ‘धुरन्धरः द रिभेन्ज’ को अवधि २२९ मिनेट अर्थात ३ घण्टा ४९ मिनेट पुगेको छ, जुन 'धुरन्धर' भन्दा १५ मिनेट लामो हो।
योसँगै 'धुरन्धर २' बलिउड फिल्मको इतिहासमै लामो फिल्ममध्ये एक बनेको छ।
फिल्मको रनटाइम लामो भएकाले यसको कथावस्तु र प्रस्तुतिलाई अझ विस्तारित रूपमा देखाइने अपेक्षा गरिएको छ।
'धुरन्धरः द रिभेन्ज' आदित्य धरको निर्देशनमा बनेको हो। यो स्पाइ-एक्सन ड्रामाले भारतको सेन्सर बोर्डबाट 'ए' प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ।
बोर्डले फिल्मलाई केवल वयस्क दर्शक (१८ वर्षभन्दा माथि) का लागि प्रदर्शन गर्ने अनुमति दिएको हो। फिल्ममा केही हिंसात्मक दृश्यहरु र गाली गलौजका शब्दहरू कटौती वा संशोधन गरिएको छ। विशेष गरी हतौडा प्रहार, गम्भीर चोटका दृश्यहरू छोट्याइएको छ। यसका साथै सबटाइटलमा पनि केही सुधार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
फिल्मले रिलिजअघि नै अग्रिम बुकिङमा उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। उच्च बजेट र ठूलो स्केलमा निर्माण गरिएको यस फिल्मले बक्स अफिसमा बलियो सुरूआत गर्ने देखिन्छ।
'धुरन्धरः द रिभेन्ज' मा रणवीरसँगै सारा अर्जुन, संजय दत्त, राकेश वादीलगायत कलाकारहरूको अभिनय छ। फिल्म नेपालमा पनि एकसाथ प्रदर्शनमा आउने तयारी छ।