रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धरः द रिभेन्ज' बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको छ। नेपालमा पनि यो फिल्म एकसाथ प्रदर्शनमा ल्याइएको हो।
नेपालमा बुधबारदेखि फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। बुकिङ खुल्नासाथ टिकट खरिद गर्ने दर्शकको चाप अत्यधिक बढेपछि अग्रिम बिक्री तीव्र बनेको थियो। सोही उच्च ट्राफिकका कारण नेपालको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सको वेबसाइट डाउन भएको छ।
साइट डाउन हुँदा धेरै दर्शकले यसबारे चासो राखेका छन्।
क्युएफएक्सकी महाप्रबन्धक तृप्ति गिरीका अनुसार बुकिङ खुलाएको केही समयमै अस्वाभाविक रूपमा उच्च ट्राफिक आउँदा प्रणालीले लोड धान्न नसकेको हो।
'लोड धान्न नसकेपछि वेबसाइट डाउन भएको थियो। अहिले मर्मत तथा पुनः सञ्चालनको काम भइरहेको छ,' उनले भनिन्।
साइट डाउन भएपछि क्युएफएक्सले आफ्नो फेसबुक पेजमा सूचना समेत जारी गरेको छ।
'धुरन्धरः द रिभेन्ज' को पहिलो भागले नेपालमा १० करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो। सोही सफलताका कारण यसको सिक्वेल नेपाली दर्शकमाझ पनि प्रतीक्षित थियो।