बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' ले प्रदर्शनको पहिलो दिनमै ऐतिहासिक सफलता हासिल गरेको छ।
फिल्मले रिलिजको पहिलो दिन १ सय करोड भारूभन्दा बढी कमाउँदै बलिउड इतिहासकै सबभन्दा ठूलो ओपनिङ कलेक्सन गर्ने फिल्मको रूपमा कीर्तिमान कायम गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
यो फिल्म रिलिज हुनुभन्दा अघिल्लो दिन बुधबार साँझ विश्वभरका चुनिएका थिएटरहरूमा पेड प्रिभ्यू गरिएको थियो। रिपोर्टअनुसार प्रेड पिभ्यूबाट भारतमा मात्रै ४३ करोड भारू नेट कमाइ गरेको थियो।
बिहीबार रिलिजको पहिलो दिन फिल्मले भारतमा मात्रै १०२ करोड भारू नेट कमाइ गरेको स्याकनिल्कले जनाएको छ। योसँगै भारतमा फिल्मको कुल कमाइ नेट १४५ करोड भारू पुगेको छ।
यसअघि उच्च ओपनिङ कलेक्सन गर्ने फिल्महरूमा 'जवान', 'पठान', 'एनिमल', 'स्त्री २' जस्ता फिल्महरू थिए। तर, 'धुरन्धर २' ले ती सबैलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो।
त्यस्तै, यो कमाइ सबै भारतीय फिल्महरूमध्ये भने दोस्रो उच्च हो। 'पुष्पा २' को १६४ करोड भारूपछि छ भने 'बाहुबली २' को १२१ करोड र 'आरआरआर' को १३३ करोड ओपनिङ भन्दा 'धुरन्धर २' अगाडि आएको हो।
फिल्मको सफलताको पछाडि रिलिजअघ देखिएको दर्शकको उत्साह, उच्च एड्भान्स बुकिङ, व्यापक स्क्रिनिङ आदिलाई प्रमुख कारणका रूपमा हेरिएको छ।
आदित्य धरद्वारा निर्देशित जासूसी थ्रिलर 'धुरन्धर २' मा रणवीर सिंह बाहेक आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदी लगायतको अभिनय छ। पहिलो ‘धुरन्धर’ ले विश्वव्यापी रूपमा १३०० करोड भारू कमाएको थियो।
नेपालमा पनि फिल्मले ठूलो कमाइ गरेको थियो। यतिबेला 'धुरन्धर २' नेपालमा सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ।