बलिउड फिल्म 'धुरन्धर २' (धुरन्धरः द रिभेन्ज) ले प्रदर्शनको पहिलो सप्ताहन्तमै बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको छ।
रणवीर सिंह अभिनीत फिल्मले प्रदर्शनको चार दिनमै भारतीय बक्स अफिसमा करिब ३८३ करोड भारू नेट कमाइ गरेको हो। फिल्मको कुल कमाइ भने ४ सय करोड नजिक पुगेको छ।
पिंकभिल्लाका अनुसार फिल्मको हिन्दी संस्करणले चौथो दिन आइतबार मात्रै भारतमा १०१ करोड भारू नेट कमाइ गरेको छ। फिल्मको चार दिनको कमाइ बलिउडको लागि अघिल्लो ‘जवान’ ले राखेको (२४७ करोडको) रेकर्डभन्दा करिब १५० करोड भारूले बढी हो।
फिल्मले शनिबारदेखि दक्षिण–डब गरिएका संस्करणहरू पनि प्रदर्शनमा ल्याएको छ, जसले दुई दिनमा १५ करोड भारू नेट कमाएको जनाइएको छ।
क्षेत्रगत रूपमा हेर्दा गुजरात, मध्य भारतलगायतका क्षेत्रमा आइतबार उल्लेखनीय वृद्धि देखिएको छ भने मुम्बई, राजस्थान, बिहार र पश्चिम बंगालमा पनि राम्रो उछाल देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
पिंकभिल्लाका अनुसार फिल्मले पेड प्रिभ्यूबाट ३९.५० करोड भारू नेट कमाएको थियो। त्यस्तै बिहीबार हिन्दी संस्करणले भारतमा ७५ करोड, शुक्रबार ७१.५० करोड र शनिबार ९६ करोड कमाएको थियो।
आदित्य धर निर्देशित स्पाइ–एक्सन थ्रिलर फिल्ममा रणवीर सिंहले अन्डरकभर एजेन्टको भूमिका निर्वाह गरेका छन्। उनका साथमा आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदी लगायतको अभिनय छ।
नेपालमा समेत फिल्मले राम्रो प्रदर्शन गरिरहेको छ।