बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' (धुरन्धरः द रिभेन्ज) बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको छ।
आदित्य धर निर्देशित स्पाइ-एक्सन थ्रिलर फिल्मले रिलिज भएको ५ दिनमै विश्वव्यापी रूपमा करिब ८५० करोड भारू कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
५ दिनको अवधिमा भारतमा मात्रै फिल्मले करिब ५१९ करोड भारू कमाएको जनाइएको छ।
हिन्तुस्तान टाइम्सका अनुसार सोमबार फिल्मले भारतमा ६५ करोड र विश्वभर १ सय करोड भारू कमाएको थियो।
'धुरन्धर २' रिलिजको केही दिनमै बक्स अफिसमा १ हजार करोडको आँकडातर्फ अघि बढिरहेको छ। यसक्रममा फिल्मले केही ठूला भारतीय फिल्महरूको लाइफटाइम कमाइलाई पनि उछिनेको छ।
सोमबार ८ सय करोडको आँकडा पार गर्दै यसले आमिर खानको फिल्म 'पिके' को कमाइलाई उछिनेको छ। ७६९ करोडका साथ 'पिके' आफ्नो समयको सर्वाधिक कमाउने फिल्म थियो। त्यस्तै, 'धुरन्धर २' ले विक्की कौशलको 'छावा' (८०७ करोड) को लाइफटाइम कलेक्सनलाई समेत पार गरेको छ।
'धुरन्धर २' मा रणवीर सिंह बाहेक आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदीलगायत कलाकारहरूको अभिनय छ।
नेपालका सिनेमा घरहरूमा समेत यो फिल्म प्रदर्शनरत छ।