चर्चित भारतीय अभिनेत्री रानी मुखर्जीको फिल्म 'मर्दानी ३' अब डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ।
यो क्राइम-थ्रिलर फिल्म थिएटर रिलिजको ८ हप्तापछि ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुन लागेको हो। 'मर्दानी ३' मार्च २७ (शुक्रबार) देखि नेटफ्लिक्समा स्ट्रिमिङ हुनेछ।
नेटफ्लिक्स इन्डियाको बिहीबार सामाजिक सञ्जालमा फिल्मको पोस्टर साझा गर्दै शुक्रबारदेखि रिलिज हुन लागेको जानकारी दिएको छ।
'मर्दानी ३' अभिराज मीनावालाद्वारा निर्देशित र आदित्य चोपडाद्वारा यश राज फिल्म्स अन्तर्गत निर्मित छ। यसमा रानीसँगै जानकी बोडीवाला र मल्लिका प्रसादलगायत कलाकारहरूको अभिनय छ।
फिल्मले प्रहरी अफिसर शिवानी शिवाजी रोयलाई पछ्याउँछ, उनले केवल तीन महिनामा रहस्यमय परिस्थितिमा हराएका ९३ युवतीहरूको मुद्दाको अनुसन्धान गर्छिन्।
'मर्दानी ३' जनवरी ३० मा थिएटर रिलिज भएको थियो। यसले विश्वव्यापी रूपमा ७६.२० करोड भारू कमाएको थियो। त्यसबेला दर्शकबाट फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो।