रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' ले बक्स अफिसमा ठूलो सफलता हासिल गरेको छ। यसले विश्वव्यापी रूपमा करिब १७४८.९१ करोड भारू ग्रस कमाउँदै सर्वाधिक कमाउने तेस्रो भारतीय फिल्म बनेको हो।
फिल्मले अल्लु अर्जुन स्टारर 'पुष्पा २' लाई पछि पार्दै उक्त स्थान बनाएको हो। 'पुष्पा २' ले १७४२.१० करोड भारू कमाएको थियो।
'धुरन्धर २' अब 'दंगल' (२०७० करोड भारू) र 'बाहुबली २' (१७८८.०६ करोड भारू) गरी दुईवटा फिल्मभन्दा पछाडि छ।
ट्रेड वेबसाइट सैकनिल्कका अनुसार फिल्मले भारतमा मात्रै नेट १११०.४७ (ग्रस १३२९.३१) करोड भारू कमाइ गरेको छ। विदेशमा ४१६.६० करोड ग्रस कमाएको संचारमाध्यमले जनाएका छन्।
प्रदर्शनको ३१ औं दिनसम्म पनि फिल्मले मजबुत कमाइ कायम राखेको बताइएको छ।
आदित्य धर निर्देशित 'धुरन्धरः द रिभेन्ज' मा रणवीरसहित अर्जुन रामपाल, संजय दत्त, आर.माधवनलगायत कलाकारहरूको अभिनय छ। फिल्म नेपालमा पनि अझै प्रदर्शनरत छ।