बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'भूत बंगला' ले भारतीय बक्स अफिसमा ७५ करोड भारू कमाइ पार गरेको छ।
प्रियदर्शन निर्देशित यो हरर कमेडी फिल्मले प्रदर्शनको छैटौं दिनसम्म उक्त आँकडा पार गरेको हो। फिल्मले बक्स अफिसमा स्थिर दौड कायम राखेको जनाइएको छ।
ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार 'भूत बंगला' ले बुधबार भारतमा ६.१५ करोड भारू नेट कमाइ गरेको छ। योसँगै घरेलु कुल कमाइ ७८.९० करोड भारू पुगेको छ। फिल्मले सोमबार ६.७५ करोड र मंगलबार ८ करोड भारू कमाएको थियो।
'भूत बंगला' ले प्रिमियरबाट ३.७५ करोड र सुरूवाती दिनमा १२.२५ करोड भारू कमाएको थियो। त्यस्तै, यसले शनिबार र आइतबार १९ करोड र २३ करोड भारू कमाएको थियो।
यो फिल्म अक्षय कुमार, एकता कपूर र शोभा कपूरद्वारा बालाजी मोशन पिक्चर्स र केप अफ गुड फिल्म्स अन्तर्गत निर्माण गरिएको हो। फिल्ममा अक्षयसहित तब्बु, परेश रावल, जिशु सेनगुप्ता, राजपाल यादव, मिथिला पालकर र वामिका गब्बीले अभिनय गरेका छन्।
यो सन् २००७ को हिट फिल्म 'भूल भुलैया' पछि प्रियदर्शन र अक्षयको दोस्रो हरर कमेडी हो।
'भूत बंगला' अप्रिल १७ मा रिलिज भएको थियो। फिल्म नेपालमा पनि प्रदर्शनरत छ।