शाहिद कपुर, रश्मिका मन्दना र कृति सेनन अभिनीत रोमान्टिक कमेडी फिल्म 'ककटेल २' को ट्रेलर सार्वजनिक भएको छ।
होमी अदजानिया निर्देशित फिल्मको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले तीन मुख्य पात्रबीचको प्रेम, मित्रता र जटिल सम्बन्धको झलक प्रस्तुत गरेको छ। ट्रेलरमा शाहिदको पात्र दुई युवतीबीचको भावनात्मक द्धन्द्धमा फसेको देखिन्छ। रश्मिकासँग उनको प्रेम सम्बन्ध रहेको संकेत देखाइएको छ भने उनकी घनिष्ठ साथीको भूमिकामा रहेकी कृतिले पनि उनीप्रति प्रेमभाव राख्न थालेपछि कथा रोचक बनेको देखिन्छ।
कृति र रश्मिकाका पात्रहरू शाहिदको प्रेम प्राप्त गर्न प्रतिस्पर्धामा उत्रिएको ट्रेलरमा देखिन्छ। दुवैले शाहिदसँग भविष्यको सपना देखिरहेका छन्। ट्रेलरको अन्त्यतिर दुवै पात्र शाहिदकी दुलही को बन्ने भन्ने विषयमा विवाद गरिरहेका देखिन्छन्, जसले शाहिदलाई कठिन निर्णयको मोडमा पुर्याएको संकेत दिन्छ।
ट्रेलरमा सन् २०१२ को चर्चित फिल्म 'ककटेल' को लोकप्रिय गीत 'तुम ही हो बन्धु' समेत समावेश गरिएको छ, जसले दर्शकलाई पुरानो फिल्मको सम्झना दिलाउँछ।
'ककटेल' बलिउडको सफल रोमान्टिक कमेडी फिल्म हो। करिब ४५ करोड भारू बजेटमा बनेको फिल्मले विश्वव्यापी रूपमा १२१ करोड भारूभन्दा बढी कमाइ गरेको थियो। त्यसको एक दशकभन्दा बढी समयपछि सिक्वेल दर्शकमाझ आउन लागेको हो।
'ककटेल २' १९ जुनमा प्रदर्शन हुने तयारीमा छ।