तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता थलापति विजय अभिनीत फिल्म 'जन नायकन' अन्ततः रिलिज भएको छ।
पूर्व निर्धारित मितिभन्दा करिब ६ महिनापछि बिहीबारदेखि फिल्म विश्वव्यापी प्रदर्शनमा आएको हो।
एच. विनोथ निर्देशित 'जन नायकन' राजनीतिक एक्सन फिल्म हो। यसलाई विजयको अभिनय करिअरको अन्तिम फिल्म मानिएको छ।
फिल्ममा विजयसँगै पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियामणी, गौतम वासुदेव मेनन, ममिता बैजुलगायत कलाकारहरूको अभिनय छ।
फिल्म प्रदर्शनसँगै तमिलनाडुभरका सिनेमा हलमा दर्शकको उल्लेखनीय उत्साह देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्यन्त्र पनि माहोल राम्रो देखिएको जनाइएको छ। मुख्यमन्त्री बनेपछि विजयको यो पहिलो रिलिज भएकाले पनि फिल्म विशेष चर्चामा छ।
'जन नायकन' विजयको राजनीतिक यात्राअघि अभिनय गरेको अन्तिम फिल्म हो। राजनीतिमा पूर्ण रूपमा सक्रिय घोषणा गर्नुअघि नै विजयले अभिनयबाट विश्राम लिने संकेत दिएका थिए।
फिल्म सुरूमा ९ जनवरी २०२६ (पोंगल) मा प्रदर्शन गर्ने तयारी गरिएको थियो। तर पोस्ट प्रोडक्सनको काम, भीएफएक्स र सेन्सरसँग सम्बन्धित प्रक्रियाका कारण रिलिज स्थगित गरिएको थियो। त्यसपछि प्रदर्शन मिति सारेर २३ जुलाई २०२६ तय गरिएको हो।
'जन नायकन' विश्वव्यापी प्रदर्शनमा आए पनि नेपालमा भने रिलिज भएको छैन।