बहुप्रतीक्षित भारतीय फिल्म 'रामायण'को ट्रेलर रिलिज कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको छ।
नितेश तिवारी निर्देशित फिल्मको ट्रेलर शुक्रबार बिहान सार्वजनिक गर्ने तयारी थियो। तर अब ट्रेलर रिलिज पछि सारिएको छ।
निर्माता नमित मल्होत्राले शुक्रबार बिहान सामाजिक सञ्जाल पोस्टमार्फत यस्तो घोषणा गरेका हुन्। पछि विश्वव्यापी रूपमा ट्रेलर लन्च गरिने उनले बताएका छन्।
फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा सोनी पिक्चर्स इन्टरटेन्मेन्टले लिएको पनि निर्माताले घोषणा गरेका छन्। यही कारण ट्रेलर पनि विश्वभर एकैसाथ सार्वजनिक गर्ने निर्णय गरिएको निर्माता मल्होत्राले उल्लेख गरेका छन्। आधिकारिक मिति भने अहिले घोषणा गरिएको छैन।
मल्होत्राका अनुसार सोनी पिक्चर्ससँगको सहकार्यसँगै 'रामायण' प्रमुख हलिउड फिल्मसरह विश्वव्यापी रूपमा प्रदर्शन हुने बाटो खुलेको छ। यसले फिल्मलाई विश्वसामु अझ व्यापक रूपमा पुर्याउने उनको विश्वास छ।
यसअघि ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम सान डिएगो कमिक-कनमा आयोजित फिल्मको विशेष प्यानलसँगै तय गरिएको थियो। कार्यक्रममा अभिनेता रणवीर कपूर, यश, निर्देशक नितेश तिवारी र निर्माता नमित मल्होत्रा सहभागी भएका थिए।
दुई भागमा निर्माण भइरहेको 'रामायण'को पहिलो भाग सन् २०२६ को दीपावलीमा र दोस्रो भाग सन् २०२७ मा प्रदर्शन हुनेछ।
फिल्ममा रणवीर कपूर राम, साई पल्लवी सीता र यश रावणको भूमिकामा छन्। त्यस्तै, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिँदै छन्। 'रामायण' निर्माण घोषणादेखि नै चर्चामा छ।