बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म 'दृश्यम ३'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार ‘दृश्यमः द कन्क्लुजन’को २ मिनेट ४९ सेकेन्ड अवधिको ट्रेलर युट्युबमा सार्वजनिक गरिएको हो।
ट्रेलरमा अजयको पात्र विजय सालगाउँकर फेरि आफ्नो परिवारको रहस्यलाई कानुनबाट जोगाउन संघर्ष गरिरहेको देखिन्छ।
क्राइम-थ्रिलर ‘दृश्यम ३’ लाई ‘दृश्यम’ फ्रेन्चाइजीको हिन्दी संस्करणको तेस्रो तथा अन्तिम अध्याय बताइएको छ।
फिल्ममा अजयसहित तब्बु र श्रिया सरन पुरानै भूमिकामा फर्किएका छन्। जयदीप अहलावत, प्रकाश राज, रजत कपूर, इशिता दत्तलगायत अन्य कलाकारहरूको समेत फिल्ममा अभिनय छ।
जयदीप फिल्ममा क्राइम ब्रान्चका एसपीको भूमिकामा छन्। उनी विजयको चलाखीलाई बुझ्दै अनुसन्धान अघि बढाउँछन्। ट्रेलरमा प्रकाश राजको पात्रले विजयलाई ‘अनपढ तर बेवकुफ नभएको’ भन्दै हल्का रूपमा नलिने बताउँछन्। यसपटक विजय र प्रहरीबीचको संघर्ष पहिलेभन्दा गम्भीर रहने देखिन्छ।
फिल्मको निर्देशन अभिषेक पाठकले गरेका हुन्। अजयका अनुसार ‘दृश्यम २’पछि तेस्रो भाग बन्छ कि बन्दैन भन्ने निश्चित थिएन। निर्देशक पाठकको आइडिया मन परेपछि उनले करिब साढे दुई वर्ष लेखकहरूसँग काम गरेर स्क्रिप्ट तयार पारेका थिए। अजयले यो फिल्म मलयालम ‘दृश्यम ३’भन्दा पूर्ण रूपमा फरक रहेको बताएका छन्। उनले मलयालम संस्करणका अभिनेता मोहनलालसहितको मूल टिमले ‘दृश्यम ३’ हेरेर प्रतिक्रिया दिए आफूलाई खुसी लाग्ने बताएका छन्।
‘दृश्यम’को पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो भने दोस्रो भाग २०२२ मा आएको थियो। दुवै फिल्ममा विजय सालगाउँकरले आफ्नो परिवारलाई आपराधिक घटनाबाट जोगाउन बनाएको योजनालाई केन्द्रमा राखिएको थियो।
'दृश्यम ३'को हिन्दी संस्करण २ अक्टोबर २०२६ (असोज १६) देखि प्रदर्शनमा आउने तय छ।