सञ्जय लीला भन्सालीको निर्देशनमा बनिरहेको बहुप्रतीक्षित बलिउड फिल्म 'लभ एन्ड वार'का केही लडाइँका दृश्य फेरि खिचिने भएको छ।
फिल्मको मुख्य छायांकन सकिएको केही समयपछि निर्देशक भन्सालीले केही दृश्य पुनः छायांकन गर्न लागेका हुन्।
फिल्ममा रणवीर कपूर, आलिया भट्ट र विकी कौशल मुख्य भूमिकामा छन्। ‘टाइम्स अफ इन्डिया’का अनुसार लडाइँका केही दृश्यबाट भन्साली पूर्ण रूपमा सन्तुष्ट नभएपछि थप छायांकन गर्न लागिएको हो। यसका लागि मुम्बईको गोरेगाउँस्थित वेलकम मैदानमा करिब एक सातासम्म छायांकन हुने बताइएको छ।
फिल्मको थप छायांकनको खबरसँगै यसको रिलिज मितिलाई लिएर पनि चासो बढेको छ। 'लभ एन्ड वार' सन् २०२७ को जनवरी २१ मा प्रदर्शनमा आउने तय भइसकेको छ। फिल्म हिन्दीका साथै तमिल र तेलुगु भाषामा पनि रिलिज हुने बताइएको छ।
'लभ एन्ड वार'मा रणवीर, आलिया र विकीसँगै अन्य कलाकारको पनि अभिनय छ। फिल्मलाई भन्सालीको महत्वाकांक्षी प्रोजेक्टका रूपमा हेरिएको छ।
भन्सालीले यसअघि 'देवदास', 'पद्मावत' र 'गंगुबाई काठियावाडी' जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।