भारतीय फिल्म 'लभ एन्ड वार'बाट अभिनेता रणवीर कपूरको पहिलो झलक सार्वजनिक भएको छ। सञ्जय लीला भन्साली निर्देशित फिल्मको निर्माणपक्षले बिहीबार पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरमा रणवीरलाई पुरानो शैलीको गाडी चलाइरहेको घाइते अवतारमा देखाइएको छ। रणवीरको एउटा हात गाडीको स्टेयरिङमा छ भने अर्को हातमा चोट लागेको र रगत देखिन्छ।
रणवीर जुँगा, गोलो चस्मा र पछाडि कोरिएको कपालसहितको अवतारमा देखिएका छन्।
'लभ एन्ड वार'मा रणवीरसँगै आलिया भट्ट र विक्की कौशल मुख्य भूमिकामा छन्। यो फिल्म रणवीर र भन्सालीको करिब दुई दशकपछिको पुनर्मिलन पनि हो। रणवीरले भन्सालीकै निर्देशनमा बनेको 'सावरिया'बाट फिल्म क्षेत्रमा प्रवेश गरेका थिए।
'लभ एन्ड वार' ले युद्धको पृष्ठभूमिमा प्रेमकथा प्रस्तुत गर्ने बताइएको छ।
फिल्म आगामी २१ जनवरी २०२७ मा विश्वभर प्रदर्शनमा आउने तय छ। हिन्दीसहित तमिल र तेलुगु भाषामा फिल्म प्रदर्शन हुने जनाइएको छ।