हरितालिका तीज आउन अब चार दिन मात्रै बाँकी छ। तर यसपालि तीजको रौनक विगतका वर्षमा जस्तो देखिँदैन।
रसुवा बाढीले निम्त्याएको विपत्तिका कारण पनि विगतमा जस्तो संख्यामा तीज गीत सार्वजनिक भएका छैनन्। यद्यपि, त्यसअघि र पछिल्लो समय सार्वजनिक भएका केही गीतले भने तीजको माहोल बनाइरहेका छन्।
तीमध्ये सर्वाधिक चर्चामा छन्,- एलिना चौहानको 'नौरती फुली' र विष्णु माझीको 'घरबार'।
यसवर्ष सार्वजनिक भएका तीज गीतमध्ये यी दुई गीतले युट्युबमा सर्वाधिक भ्युज पाएका छन्। टिकटक, रिल्सलगायतका प्लेटफर्ममा पनि यी गीत चर्चामा छन्।
'नौरती फुली'
एलिना चौहानको 'नौरती फुली' साउनको पहिलो साता सार्वजनिक भएको थियो। गीतमा एलिनासहित रचना रिमाल, मेलिना मैनाली र दिपिका बयम्बुको स्वर छ।
दीपक शर्माको शब्द/संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।
तीजको रौनकसँगै माइतीको माया र चेलीको मनभित्र लुकेको भावनालाई गीतले समेट्छ। तीजको उत्सवभन्दा चेलीको भाव र माइतीको मायालाई बढी केन्द्रमा राखेर गीत तयार पारिएको छ।
भिडिओमा गायिकाहरू स्वयं पनि देखिएका छन् भने स्मारिका ढकाल, जुना सुन्दास, सञ्चिता बोलखे र रिना थापा फिचर्ड छन्। भिडिओ निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। दुर्गा पौडेलको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ। बिहीबारसम्म यो गीत युट्युबमा ९० लाखभन्दा बढीपटक हेरिएको छ।
'घरबार'
यसवर्ष सार्वजनिक भएका तीज गीतमध्ये छोटो समयमा सर्वाधिक चर्चा पाउने र धेरै हेरिने गीत हो, 'घरबार'।
विष्णु माझीको स्वरमा रहेको यो गीत सार्वजनिक भएको सात दिनमै युट्युबमा ६६ लाखभन्दा बढीपटक हेरिएको छ। 'पुतलीको भट्टी' भाग २२ का रूपमा आएको 'घरबार'मा विष्णुका विगतका गीतमा जस्तै सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ।
गीतले विवाहपछिको घरायसी जीवन, महिलाका भावनात्मक उतारचढाव तथा पारिवारिक सुख-दुःखलाई प्रस्तुत गर्छ। भिडिओमा वैदेशिक रोजगारीको कथा र विदेशमा श्रीमानको दुर्घटनापछि श्रीमतीले भोग्नुपर्ने पीडा तथा वेदनालाई समेत मार्मिक ढंगले देखाइएको छ।
समग्रमा भन्नुपर्दा 'घरबार'ले विवाहपछि सुरू भएको जीवनको पीडा र त्यसलाई सहँदै अघि बढिरहेकी चेलीको कथा प्रस्तुत गर्छ।
भिडिओमा यसअघिकै मोडल ललिता पौडेल प्रस्तुत छिन्। कोरियोग्राफरमा मौसम हिमाली यसपालि पनि दोहोरिएका छन्। भिडिओ निर्देशन सुन्दरमणिकै छ भने शम्भु चालिसेको छायांकन र मनोज कार्कीको सम्पादन छ।
यीबाहेक पछिल्लो समय फिल्म 'झिंगेदाउ २'को तीज ब्याटल पनि निकै चर्चामा छ। अन्य एकाध गीतले पनि चर्चा पाइरहेका छन्।
यद्यपि, विगतका वर्षमा जस्तो तीज गीतको माहोल भने यसपालि देखिएको छैन।