शनिबार साँझ म्याग्दीको बेनी खुल्लामञ्च।
कालीगण्डकी र म्याग्दी खोलाको साक्षीमा संगीतको एउटा विशेष साँझ जम्दै थियो। साँझ सिमसिम पानी परिरहेको थियो। तर, त्यसले दर्शकको उत्साह रोक्न सकेको थिएन। कोही छाता ओढेर, कोही पानीमै रूझ्दै स्टेजतिर नियालिरहेका थिए।
पर्खाइ थियो- लोकगायक प्रकाश दूतराजको। यो प्रकाशको विगतका सोलो प्रस्तुतिजस्तो कार्यक्रम थिएन। यहीँबाट घोषणा हुँदै थियो लोकसंगीत ब्यान्ड- 'दूतराज प्रकाश एन्ड लाइनअप।'
यसपटकको प्रस्तुतिमा प्रकाशले आफ्ना गीतलाई लाइभ वाद्यवादनसहित प्रस्तुत गरे। ब्याण्डका सदस्यले प्रत्यक्ष वाद्यवादनमा उनलाई साथ दिए।
राति करिब ८ बजे प्रकाश स्टेजमा उक्लिएका थिए। त्यसपछि करिब डेढ घण्टासम्म ब्यान्डको प्रस्तुति खुल्लामञ्चमा गुञ्जिरह्यो। 'घर कता हो बैनीको'बाट सुरू भएको प्रस्तुति 'जाम भो माइली', 'रिमै' हुँदै 'रेशम', 'छैन र माया', 'मनमाया'सम्ममा आएर टुंगियो।
प्रकाशले गीत प्रस्तुति गर्ने मात्र होइन, आफ्ना सिर्जनाको थिम र त्यससँग जोडिएका कथासमेत दर्शकसँग बाँड्दै गएका थिए।
त्यो साँझ बेनीका लागि एउटा कन्सर्ट मात्र थिएन, आफ्नै ठाउँमा हुर्किएको कलाकारको नयाँ सांगीतिक यात्राको सुरूवातको साक्षी बन्ने अवसर पनि थियो।
लोकगायक प्रकाशले शनिबार आफ्नो गृहजिल्ला म्याग्दीको बेनीबाट ब्याण्डको औपचारिक घोषणा गर्दै पहिलो कन्सर्ट प्रस्तुत गरेका हुन्। आफू हुर्किएको र संगीतको बाटो रोजेको ठाउँबाटै उनले आफ्नो प्रस्तुतिको नयाँ अध्याय थालेका हुन्।
'करिब १४ वर्षअघि यहीँ पहिलोपटक स्टेजमा गीत गाउने अवसर पाएको थिएँ। त्यतिबेला पनि म्याग्दी उद्योग वाणिज्य संघकै आयोजनाको कार्यक्रम थियो,' प्रकाशले भने, 'त्यसबेलादेखिकै सपना थियो- भोलिका दिनमा एउटा लोक ब्याण्ड बनाएर देशका विभिन्न ठाउँमा गएर प्रस्तुति दिने। अहिले त्यही सपना पूरा गर्ने यात्राको सुरूआत यहीँबाट गर्न पाउँदा भावनात्मक रूपमा पनि विशेष लागेको छ।'
प्रकाशका अनुसार ब्याण्डसँग काम गर्ने योजना भने ८-९ वर्षअघिदेखिकै हो। लामो समयदेखि सोचमा रहेको योजनालाई अहिले औपचारिक रूपमा अघि बढाएको उनले बताए।
'मेरो करिअर, म आज जहाँ पुगेको छु र जति माया पाएको छु, त्यसमा यो ठाउँको ठूलो योगदान छ। त्यसैले ब्याण्डको कार्यक्रम पनि यहीँबाट सुरू गरेँ,' उनले भने।
यो कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको थियो।
अब 'दूतराज प्रकाश एन्ड लाइनअप' ले नेपालका विभिन्न सहरसँगै विदेशमा समेत कन्सर्ट गर्ने तयारी गरेको ब्याण्ड म्यानेजर धिरज गुरूङले बताए।
उनका अनुसार स्वदेशमा यसअघि नै केही कन्सर्ट तय भइसकेका छन्।
ब्यान्डको औपचारिक घोषणामा छिमेकी जिल्ला बागलुङ र पर्वतबाट समेत दर्शक बेनी पुगेका थिए। कार्यक्रमका क्रममा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति तथा पर्वतारोही निर्मल पुर्जाको निधनप्रति शोकसमेत व्यक्त गरिएको थियो।
'दुतराज प्रकाश एन्ड लाइनअप'मा वाद्यवादन तथा प्राविधिकसहित १२ जना सदस्य छन्। प्रकाश लिड भोकलमा छन्।
ब्याण्डमा मादलमा सन्देश गायक, मादल/खिँमा विवेक गायक, बेसमा कवि गौचन, गितारमा सागर मल्ल, ड्रम्समा निश्चल थापा, कोरस भोकलमा उमेश अधिकारी, किबोर्डमा मनिष गायक र बाँसुरीमा सुदीप गायक छन्। ब्याण्ड म्यानेजरको जिम्मेवारी धिरज गुरूङले सम्हालेका छन्।
नेपाली मौलिक बाजालाई प्रवर्धन गर्दै त्यसलाई संसारभर पुर्याउने आफ्नो उद्देश्य रहेको प्रकाशले बताएका छन्।
तस्बिरहरू:-



