यसपालि विगतका वर्षमा जस्तो ठूलो संख्यामा तीज गीत सार्वजनिक भएनन्। रसुवालगायतका क्षेत्रमा आएको बाढीले निम्त्याएको विपत्तिका कारण तीज गीतको सार्वजनिक क्रम पनि प्रभावित भयो। यद्यपि, सार्वजनिक भएका केही गीतले भने तीजको माहोल बनाउन सफल भएका छन्।
तीमध्ये एलिना चौहानको 'नौरती फुली' र विष्णु माझीको 'घरबार' युट्युबमा करोड क्लबमा प्रवेश गर्ने गीत बनेका छन्।
एलिनाको 'नौरती फुली' तीजको एक दिनअघि नै करोड क्लबमा पुगेको थिया। विष्णु माझीको 'घरबार'ले तीजकै दिन करोडको आँकडा पार गरेको हो। यससँगै यी दुई गीत यसवर्षका सर्वाधिक चर्चित तीज गीतका रूपमा अगाडि आएका छन्।
सामाजिक सञ्जालका टिकटक, रिल्सलगायतका प्लेटफर्ममा पनि यी दुवै गीतले राम्रो चर्चा पाइरहेका छन्।
एलिनाको 'नौरती फुली' साउनको पहिलो साता सार्वजनिक भएको थियो। गीतमा एलिनासहित रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बुको स्वर छ। दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।
तीजको उत्सवसँगै माइतीको माया र चेलीको मनभित्र लुकेको भावनालाई गीतले प्रस्तुत गरेको छ। तीजको रमझमभन्दा चेलीको भाव र माइतीप्रतिको मायालाई केन्द्रमा राखिएको गीतको भिडियोमा गायिकाहरू स्वयं पनि देखिएका छन्।
भिडिओमा स्मारिका ढकाल, जुना सुन्दास, सञ्चिता बोलखे र रिना थापा पनि फिचर्ड छन्। भिडिओ निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। दुर्गा पौडेलको छायांकन र नवीन घर्ती मगरको सम्पादन छ।
यस्तै, विष्णु माझीको 'घरबार' सार्वजनिक भएदेखि नै दर्शक-श्रोतामाझ चर्चामा रहँदै आएको थियो। सार्वजनिक भएको ११ दिनमै गीतले करोड भ्युज पूरा गरेको हो।
'पुतलीको भट्टी' भाग २२ का रूपमा आएको 'घरबार'मा विष्णु माझीका यसअघिका गीतमा जस्तै सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ।
गीतले विवाहपछिको घरायसी जीवन, महिलाका भावनात्मक उतारचढाव तथा पारिवारिक सुख-दुःखलाई प्रस्तुत गर्छ। समग्रमा ‘घरबार’ले विवाहपछि सुरू भएको जीवनका पीडा र त्यसलाई सहँदै अघि बढिरहेकी चेलीको कथा प्रस्तुत गर्छ।
भिडिओमा यसअघिकै मोडल ललिता पौडेल प्रस्तुत छिन्। कोरियोग्राफर मौसम हिमाली हुन्। भिडिओ निर्देशन सुन्दरमणि अधिकारीकै छ भने शम्भु चालिसेको छायांकन र मनोज कार्कीको सम्पादन छ।
यीबाहेक पछिल्लो समय फिल्म ‘झिंगेदाउ २’को तीज ब्याटल पनि निकै चर्चामा छ। अन्य एकाध तीज गीतले पनि दर्शक-श्रोताको ध्यान खिचिरहेका छन्।