सिक्किम र नेपालको पूर्वी भेगको सांगीतिक यात्रा सकेर फर्किएको नेपथ्यले फेरि देशका विभिन्न स्थानमा कन्सर्ट गर्ने भएको छ। यसपटक ब्यान्डको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती र मझौला सहरमा केन्द्रित हुनेछ।
नेपथ्यले चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुति दिने भएको हो।
ब्यान्डको पहिलो कन्सर्ट मंसिर ३ गते सौराहामा हुनेछ। पर्यटकीय बस्ती सौराहाको सिसुवार मैदान (सभागृहअगाडि) मा कन्सर्ट आयोजना गरिनेछ। यसका लागि सहुलियत दरका टिकट बिक्री भइसकेका छन् भने अन्य टिकट पनि सीमित मात्र बाँकी रहेको आयोजकले जनाएको छ।
दोस्रो कन्सर्ट मंसिर ५ गते शनिबार स्याङ्जाको पुतलीबजारस्थित मालेबगर खेलमैदानमा हुनेछ। त्यसपछि ब्यान्ड म्याग्दीको बेनी पुग्नेछ। त्यहाँस्थित खुलामञ्चमा मंसिर ९ गते नेपथ्यले प्रस्तुति दिनेछ।
यात्राको चौथो तथा अन्तिम कन्सर्ट मंसिर १२ गते शनिबार तनहुँको बेलचौतारामा हुनेछ। शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त क्याम्पसको मैदानमा कन्सर्ट आयोजना गरिनेछ। नेपथ्यका सबै कन्सर्टका लागि निर्धारित दिन अपरान्ह ४ बजे दर्शकका लागि प्रवेशद्वार खुला गरिनेछ।
देशभित्र र बाहिरका ठूला सहरमा भव्य प्रस्तुति दिँदै आएको नेपथ्यले साना सहर र ग्रामीण बस्तीका दर्शकलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ। यसपटकको यात्राले पनि त्यसलाई निरन्तरता दिनेछ। चारमध्ये म्याग्दीको बेनीबाहेक अन्य तीन स्थानमा नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको हो। कन्सर्टलाई लिएर ती क्षेत्रका बासिन्दाले सामाजिक सञ्जालमा समेत उत्साह व्यक्त गर्न थालेका छन्।
आफूलाई विभिन्न माध्यमबाट सन्देश पठाइरहने दर्शकमाझ पुग्न आफू आतुर रहेको नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरूङ बताउँछन्।
'मैले गाउँघर डुलेरै नेपाल चिनेको हुँ। यस्ता बस्तीहरूबाटै हाम्रा गीतहरू संकलन गरिएका हुन्,' उनी भन्छन्, 'त्यसमाथि यस्ता ठाउँमा प्रस्तुत हुँदा दर्शकबाट अन्यत्रभन्दा बढी आत्मीयता अनुभव गर्दै आएको छु।'
नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले ब्यान्डलाई विश्वका सुविधासम्पन्न सहरदेखि साना बस्तीसम्म उस्तै गुणस्तरमा प्रस्तुत गर्नु चुनौतीपूर्ण भए पनि त्यसका लागि आफूहरू प्रतिबद्ध रहेको बताए।
'कलाकारबाहेक प्राविधिकदेखि व्यवस्थापनसम्मको हाम्रो ठूलो टोलीले प्रस्तुतिको स्तर कायम राख्नेछ,' उनले भने।
यस सांगीतिक यात्रामा आठवटा ट्रक र चारवटा यात्रुवाहक गाडीसहित झन्डै सय जनाको टोली सहभागी हुनेछ। कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
नेपालका यी चार स्थानमा प्रस्तुति दिएपछि नेपथ्य अस्ट्रेलिया जानेछ। डिसेम्बरमा एडिलेड, सिड्नी र पर्थमा कन्सर्ट गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ।
नेपालयका अनुसार सबै कन्सर्टका टिकट अनलाइनबाटै खरिद गर्न सकिने छ। इच्छुक दर्शकले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत टिकट खरिद गरी आफ्नो सिट सुरक्षित गर्न सक्ने जनाइएको छ।
