'कोही भोकै मर्न नपरोस्' भन्ने मानवीय उद्देश्यसहित विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रूपैयाँमा खाना खुवाउँदै आएको केजीएफले भोलि शनिबार झापाको बिर्तामोडमा च्यारिटी कन्सर्ट आयोजना गर्दैछ।
सामाजिक, सांस्कृतिक, खेलकुद, कृषि तथा मानव सेवाका क्षेत्रमा सक्रिय केजीएफ (सामाजिक सांस्कृतिक खेलकुद कृषि मानव सेवा प्रतिष्ठान) ले आफ्नो 'हरेक दिन खाना’ अभियानलाई निरन्तरता दिन आवश्यक स्रोत जुटाउने उद्देश्यले बिर्तामोडस्थित न्युटन स्कुलअगाडि बृहत् सांगीतिक कार्यक्रम गर्न लागेको हो।
संस्थाले सञ्चालन गर्दै आएको अभियानअन्तर्गत आवश्यकतामा रहेका व्यक्तिलाई पाँच रूपैयाँमा खाना उपलब्ध गराउँदै आएको छ। दैनिक भोजन व्यवस्थापनका लागि खाद्यान्न तथा अन्य सामग्रीमा ठूलो खर्च हुने भएकाले अभियानलाई निरन्तरता दिन सहयोगी हातहरूको आवश्यकता रहेको संस्थाले जनाएको छ।
केजीएफका संस्थापक अध्यक्ष ये हाङका अनुसार खाना खुवाउने अभियान कुनै प्रचार वा दया देखाउने उद्देश्यले नभई भोकका कारण कसैले पनि अपमानित वा असहाय महसुस गर्न नपरोस् भन्ने सोचबाट सुरू गरिएको हो।
'हामीले पाँच रूपैयाँमा खाना खुवाउनुको उद्देश्य पैसा कमाउनु होइन, खाना खान नसक्ने अवस्थामा रहेका मानिसलाई सम्मानपूर्वक भोजनको पहुँच दिनु हो। हाम्रो समाजमा कोही मानिस भोककै कारण मर्नुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो। त्यसैले हामीले आफ्नो क्षमताअनुसार यो अभियान सुरु गरेका हौं,' हाङले भने।
उनका अनुसार अभियान सुरू गर्नुभन्दा त्यसलाई नियमित र दीर्घकालीन रूपमा सञ्चालन गर्नु चुनौतीपूर्ण छ। दैनिक आवश्यक पर्ने खाद्य सामग्री, खाना पकाउने तथा वितरण व्यवस्थापनलगायतका खर्च जुटाउन सहयोग आवश्यक पर्ने भएकाले च्यारिटी कन्सर्ट आयोजना गर्न लागिएको हो।
कन्सर्टमा अभया एन्ड द स्टिम इन्जिन्स, यबी द गोट, प्रशान्त शिवाकोटी तथा नेपाली आइडल विजेता गायक एवं संगीतकार बादल लिम्बूले प्रस्तुति दिनेछन्। सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सेवाको अभियानमा जोड्ने आयोजकको उद्देश्य छ।
कार्यक्रमबाट संकलित रकम संस्थाले सञ्चालन गर्दै आएको पाँच रूपैयाँमा खाना खुवाउने अभियानलगायत सामाजिक सेवाका गतिविधिमा खर्च गरिने जनाइएको छ। केजीएफले मानव सेवासँगै असहाय जनावरका लागि खाना तथा पानीको व्यवस्था गर्ने लगायतका सामाजिक गतिविधि पनि सञ्चालन गर्दै आएको छ।
'भोकविरूद्धको अभियान कुनै एक व्यक्ति वा संस्थाको मात्रै जिम्मेवारी होइन, यो समाजकै साझा दायित्व हो। हामीले सुरू गरेको अभियानमा सबैको साथ र सहकार्य जुटोस् भन्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागेका हौं,' हाङले भने।
केजीएफले सांगीतिक कार्यक्रममा सहभागी भई मनोरञ्जन लिनुका साथै सामाजिक सेवाको अभियानमा समेत हातेमालो गर्न सबैलाई आग्रह गरेको छ।