सरिता गिरी नाटक र फिल्म दुवै क्षेत्रमा परिचित नाम हो।
फिल्मको चमक–धमकबीच पनि उनी सधैं नाटकप्रतिको प्रेम र समर्पणलाई प्राथमिकता दिन्छिन्। यस अन्तर्वार्तामा उनले नाटकप्रतिको आफ्नो लगाव, फिल्मसँगको सम्बन्ध र 'बहादुरपुरको दन्त्यकथा' नाटक सँगको अनुभव साझा गरेकी छन्।
प्रस्तुत छ सरितासँग सेतोपाटीका नवीनबाबु गुरूङले गरेको कुराकानीको सम्पादित अंशः
अरू मान्छे नाटक छोडेर फिल्म खेल्न जान्छन्। तपाईं चाहिँ फिल्म छाडेर नाटक गर्न किन आउनुहुन्छ?
नाटक मेरा लागि मोह मात्र होइन, प्रेम नै हो। नाटक एकदमै महत्त्वपूर्ण छ। फिल्म मन नपर्ने होइन, तर म नाटकबाटै जन्मेकी मान्छे हुँ। नाटकलाई माया मार्नु हुँदैनजस्तो लाग्छ। नाटकप्रति त लगाव धेरै छ। यो मेरो प्रेम नै हो।
तर धेरै मानिस नाटकलाई महत्त्व दिँदैनन्।
अहिले यहाँ मण्डला थिएटरमा चलिरहेको नाटकमा सिनियर कलाकार राखौं भनेको, कोही पनि भ्याएनन्। 'यसलाई भनौं, उसलाई गुहारौं' भनेर सिनियर कलाकार खोज्यौं। तर नाटक नै गरेर गएकाहरू पनि कोही भ्याएनन्। किनभने, उनीहरूको फिल्मको 'एग्रिमेन्ट' गरेर बसेका छन्।
तपाईं चाहिँ आफ्नै फिल्मको सुटिङ रद्द गरेर नाटकमा आउनुभयो नि!
हो, मेरा दुइटा फल्म थिए। तर 'बहादुरपुरको दन्त्यकथा' नाटक निर्देशक सरस्वतीले 'नाटक यही महिनामा गर्ने' भनेपछि फिल्म पछाडि सारेँ।

फिल्म तपाईंकै लागि सरेको हो?
हो, मेरै लागि सरेको हो दुवै। तर पहिल्यै भनेको हो। म व्यस्त हुने भएकाले अहिले नगरौं, अलिकति सारौं भनेकी हुँ। उहाँहरूले दुई महिना सार्न तयार हुनुभयो।
फिल्ममा पनि तपाईं नै चाहिने, नाटकमा पनि तपाईं नै चाहिने—तपाईंको माग कडा रहेछ है?
त्यस्तो त होइन। (हाँस्दै) फिल्ममा माग त्यति हुँदैन। तर कुनै कुनै पात्र म नै चाहिन्छ भन्नुहुन्छ। अहिले सारिएका फिल्मको पनि त्यस्तै हो। तपाईंले नै गर्नुपर्ने पात्र छ भन्नुभयो। त्यसैले उहाँहरूले पर्खिनु पनि भयो।
अब यी फिल्म मेनस्ट्रिमका भए त किन पर्खिन्थे होला र, अरूलाई लिइहाल्थे। यी चाहिँ आर्ट फिल्म हुन्, फेस्टिभल जान्छन्। त्यसैले त्यसको पात्र मैले निर्वाह गर्न सक्ने भएकाले मलाई पर्खिनुभएको हो।
अहिलेसम्म कति वटा नाटक गर्नुभयो?
साढे ३ सय जति पुगे होलान्।
नाटक प्रस्ताव आएजति गर्नुहुन्छ?
नाटक चाहिँ छोड्न मन लाग्दैन। तर राम्रो पात्र हुनुपर्यो। यो 'बहादुरपुरको दन्त्यकथा' पनि सरस्वतीले भनेकी थिइन्। यो गर्नुपर्छ भन्ने मलाई पहिल्यै लागेको थियो।

'बहादुरपुरको दन्त्यकथा' कस्तो खालको नाटक हो?
यो राजनीतिक व्यंग्यात्मक, शुद्ध कमेडी नाटक हो।
यो पुरानो दरबार र राजाहरूको कथा हो। कुनै बेला राजा–महाराजाहरू थिए, पछि सबै सकिएर, सामान बेचेर खानुपर्ने स्थिति आएको कथा हो।
पुरानै कथा हो कि नयाँ?
यो बादल सरकार भन्ने भारतीय लेखकको नाटक हो। तर यो अनुवाद मात्र होइन —एडप्टेसन हो। किनभने चरित्रहरू मिल्नुपर्छ। भारतसँग हाम्रो धेरै कुरा मिले पनि अरू धेरै सामाजिक हिसाबले मिल्दैन। त्यसैले अनुवाद मात्र गरेर पुग्दैन— एडप्ट नै गर्नुपर्छ। अर्थात् नेपालको परिस्थितिसँग मिलाउनुपर्छ।
नेपालको परिस्थितिमा ढाल्ने काम वरिष्ठ कलाकार विजय बिस्फोट, निर्देशक सरस्वती चौधरी र हामी बसेर गर्यौं।
यो पनि मण्डलाकै प्रोडक्सन हो?
हो।

नाटकहरू देखाउन विदेश पनि जानुभयो होला नि?
नाटककै लागि त विश्व घुमियो।
विदेश तिर त कस्तो हुन्छ? नेपाली दर्शक आउँछन् कि विदेशी? विदेशीहरूले कसरी बुझ्छन् नेपाली नाटक?
संगीत, नाटक, फिल्म, चित्रकला जे होस् — कला भाषा नबुझे पनि बुझिन्छ। सबैको आ–आफ्नै दृष्टिकोण हुन्छ।
हामी फ्रेन्च, जर्मन नाटक हेर्छौं, भाषा बुझिँदैन। तर बडी ल्यांग्वेजले बुझिन्छ। भावना भनेको संसारमा एउटै हो। प्रेम, क्रोध, घृणा जे भए पनि उसैगरी व्यक्त हुन्छ। त्यसैले नाटक बुझ्न भाषा चाहिँदैन। जसरी कुनै भाषाको गीत मनपराउन वा भाव बुझ्न त्यसको शब्द बुझिरहन पर्दैन!
थिएटरमा तपाईं धेरै रमाउनु हुन्छ?
हो, थिएटर आफ्नै स्पेस जस्तो लाग्छ। आनन्द लाग्छ। फिल्म भनेको काम गरून्जेल मात्र हो। जति दिन काम गर्यो, त्यतिमा सकियो। त्यो ठाउँ मेरो हो जस्तो लाग्दैन।
थिएटर चाहिँ सधैं मेरो हो। थिएटरले सधैं स्वागत गर्छ। मेरै हो जस्तो लाग्छ। त्यसैले फिल्मभन्दा मलाई थिएटरले तान्छ।