सम्बृद्धि र सुखका इन्द्रेणी सपना बाँड्दै सत्तारोहण गरेको सरकार कसै गरि सतहमा तथ्यहरु संकलन गरेर आफ्नो प्रगतिको बुँदागत बयान ‘न्यारेटिव’ खोजिरहेको छ। तर वरिपरिका घटनाक्रमले नियत र मान्यताको भ्वांग टाल्न नसकिने गरि छताछुल्ल भइरहेको छ।
सर्वसाधारणले कथित ‘सुख र सम्वृद्धिको’ अभियान यहि नै हो त भनेर सवाल उठाइरहेका छन्?
स्थापनाकालिन नेपाल कम्युनिष्ट पार्टीको प्रस्तावनाको ध्येय ‘अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्था बाट मुक्ति र समाजबादको स्थापना आजका दिनमा नेपाली जनताले अनुभव गरिरहेको जीवनको तारताम्य मिलेको छ त ?
होला, एक वर्षमा कायापलट हुँदैन तर जुन जगमा यो सत्ताले निरन्तरता पाइरहेको छ, के यसले जनताको सपना साकार गर्ने संकेत गर्दछ? संसदवादी खेलका नियम भित्र पसेका कैयन ठेकेदार र विचौलियाको रोहवरमा कथित ‘समाजवाद उन्मुख’ को उच्चतम अनुमान के लगाउन सकिन्छ?
यस आलेखमा मेरो प्रयत्न समकालिन राजनितिक विचलनका उदाहरण दर्शाउनु हो ताकि हाम्रो मस्तिष्क र आँखाले आफ्नो अगाडिका घटनाक्रमलाई भाग्यवादी चश्मा लगाएर होइन 'कारण र असर'को भेद बाट हेर्न सकौ। नेपाली युवा तथा बुद्धिजीवीले आफुलाई लठ्ठयाउने तर्क होइन रुपान्तरणको बौद्धिक प्रश्न र बहस सँग जोडिन सकौं। अध्याँरोको प्रचार होइन यसलाई अध्याँरो बाट उज्यालो तर्फको आवश्यक जागृतिको ‘आव्हान’ ठान्दा सान्दर्भिक हुन्छ।
किनकि ७० लाख युवा विदेशमा छन यता सम्बृद्धिको कुरा अनि बांकि भएकाहरु पठाउनको लागि किन्ने देश खोजीमा सरकार रहेको छ। खरबौको कपडा आयात हुन्छ जमिनमा कपास र हातमा रोजगार छैन, ७० प्रतिशत कृषक भएको देश ६७ प्रतिशत आयातित खाद्यान्न। अरबौको औषधि आयात हुन्छ। फार्मास्यूटिकल बेरोजगार बढिरहेका छन्।
उत्पादन गरेर युवालाई मालिक र रोजगारी दिने कुनै ठोस योजना छैन।
कारण यस्ता विषय भन्दा राम्रा लाग्छन्, 'तिलस्मी गफ, जस्तो कि रेल, पानीजहाज, अन्तरिक्ष, स्मार्ट सिटी आदि।'
जग्गा देखी ठेक्का, हाइड्रो देखी जहाज सबै दलाल र कमिसनका फेहरिस्त, पचास बर्षको लागि पुग्ने आठ सय म्यानपावर कम्पनी, सयौं अस्पताल, आठहजार नीजि संरचनालाई निरन्तरता दिइनेछ किनकी ती सत्तावालाका सम्पति हुन, आगामी दश बर्षमा तिसलाख गाडी आयात हुनेछन र ती सबै विदेशिका उत्पादन हुनेछन। देशमा साईकल पनि बन्ने छैन किनकि यता तिनका एजेण्टको संरक्षणमा सरकार व्यस्त हुनेछ, गाँउ गाँउमा करोडपति नेता हुनेछन। इमान र सिद्धान्तको राजनिति गर्ने मान्छे माथी पैसा हावी हुने प्रष्ट छ, हजारौ एमाले माके र कांग्रेस कार्यकर्ताको जनप्रनिधि नामको तलव व्यहोर्न करको मारमा आम जनता पिल्सिनु छ। के यि सव लाल्छाना मात्र हुन ?
रूपान्तरणको सवाल
रुपान्तरणको सवालमा 'यो ठूलो परिवर्तन हो' भनेर बौद्धिकहरुको अल्छि परिभाषा दिन्छन् तर, परिवर्तन ठूलो होस या सानो, त्यो रुपान्तरण होइन। कारण ठूलो र सानो भन्नेकुरा विषयगत हुन्छ। नेपालमा जनयुद्ध पश्चातको परिवर्तन दरवारको लागि ठूलो भयो तर आम श्रमजिवी जनता किसान मजदुरको लागि केहि पनि होइन।
परिवर्तनले उसको आधार भत्काउन सक्दैन। परिवर्तनमा तातो पानी र चिसो पानी जे भएपनि ‘पानी’ पानी नै रहन्छ। रुपान्तरण भनेको तातो चिसो वा ठूलो सानो नभइ यसले बस्तुको तथ्यमा नविन प्रकार्य, प्रयोजन र परिचय जन्माउदछ जस्तो कि पानी बाट बरफ वा बाफ। रुपान्तरणले समुल रुपमा मानक स्थानान्तरण गर्दछ। लिटर बाट किलो ग्राम वा कोइलाबाट हिरा।
यो नबुझ्नु पहिलो सवाल हो भने बुझेर पनि रुपान्तरणका विज्ञान बाट विमूख हुनु दोश्रो सवाल हो। अहिलेको सरकार उनै चिसा बचेखुचेका दाउरा बालेर पानीलाई थोर बहुत तताइरहेको र यहि अहिलेको आवश्यकता हो भन्ने पार्न खोजी राखिएको छ।
वास्तवमै भन्नेहो भने यो सैद्धान्तिक अल्छिपनसँगै समर्पणवादको प्रहसन हो।
ज्ञान विमुख बैराग्य
कोहि नेताले ‘पुराना किताव फालिदिए हुन्छ’ भन्दै हिँड्छन्। आँखामा पर्दा बढदै जाँदा किताव पुराना लाग्छन स्वभाविक हो। भाग्यवादी मान्छे तार्किक भन्दा विश्वासी वन्न थाल्दछन।
सत्ता आरोहणको आशक्तिमा भासिएका केपी ओली र प्रचण्डहरु अव माक्र्सवादलाई पुराना किताव भन्ने सम्मको स्खलित वक्तव्यमा उत्रिएका छन। वैचारिक वैज्ञानिकता भन्दा सहज तरिकाले उत्तर साम्राज्यवाद र दलाल अर्थव्यवस्थाका स्थानिय संरक्षक बन्न लालायित छन।
इतिहाससँग विच्छेद भएपछि प्रतिक्रान्तिको कित्तामा भासिएका नेतृत्वको समग्र इतिहास ज्योती बसुको कथालाई नेपाली अनुवाद गरिए जस्तो प्रतित हुन्छ।
अध्ययनशिलतामा ह्रास आउनु, व्यवहारवादी र समन्वय केन्द्रित हुनु, वित्तिय लेनदेन र भ्रष्टाचार मार्फत निजी सम्पतिलाई संस्थागत रुपमै प्रशय दिनु, पार्टी नेतृत्व र सरकार पुर्ण रुपमा व्यापारिक र दलाल नोकरशाहीको प्रभावमा लिप्त हुनु तथा रचनात्मकताको अभाव र आडम्वर बढदै जानुले कम्युनिष्ट पार्टीका कुनै पनि आचरण र सैद्धान्तिक जीवन चलायमान देखिदैनन्। यस्तो लाग्छ कि सत्ताधारी पार्टीमा विचार र सिद्धान्तको बहस चाहनेहरु बेरोजगार हुन।
जतारको हिरोइज्म
आफ्नो लेखको सुरुवातमा ‘श्रमिकहरुको असाधारण नायकत्व’ बारे लेनिनले भनेका छन् ‘हाम्रो विरासतको जीवनशैली, अल्छिपन,र आडम्वरलाई जित्नुछ। हामीले सामुहिक नायकत्व प्रदर्शन गर्नु सर्वाधिक महत्वपूर्ण कुरा हुनेछ'।
श्रमिक र उत्पादनशिल जनताको अपमान गर्दै सामुहिकताको मान्यतावाट विचलित हुँदै केपी ओली र प्रचण्डको दुई टाउके नायकत्व जवरजस्ती स्वकार्नु पर्ने वाध्यता र यसका निम्ति राज्य सत्ताको दुरुपयोग गरेरै भएपनि कथित सम्वृद्धि र सुखका नायकको रुपमा प्रचारवाजीतर्फ ध्यान केन्द्रित देखिन्छ।
कुनै पनि प्रकारका आलोचना वा विपरित विचारसंगको भय यति झाँगिएको छ कि मानौ निर्वाचनको परिणाम भित्र अकर्मण्यता समेत अनुमोदन भएको छ। जव आम जनताले पोल पोलमा सरकार टोलटोलमा बलात्कार जस्ता व्यंग्यमार्फत प्रचारवाजीलाई रद्ध गरेपछि अहिले आएर हजारौ तथ्य मध्ये बिग्रन बांकी केहि तथ्य सहित सरकार फेरी पनि प्रचार र हिरोइज्ममा रमाईरहेको देखिन्छ। सत्ताधारी पार्टी भित्र अव बस्तुगत आवश्यकता भन्दा बढि रहरहरु र महत्वाकांक्षाहरु हावी छन।
विचलन लुकाउने अभियान
राष्टियताको बडेमानको दुहाई दिएर सत्तामा पुगेको सरकार अब आफ्नो इमानको कर्दमा गर्दन कन्याई रहेको छ। किनकि राष्ट्रियता एउटा स्टण्ट थियो। सरकार बन्नासाथ साम्राज्यवादीका अघिल्तीर सपथ खाना पुग्ने वित्तीकै आम समुदायलाई यो दुविधा बाकी रहेन।
एकीकृत जनक्रान्तिको उदय र माहोलसँगसँगै पछिल्ला वक्तव्यहरुमा प्रचण्ड आफ्नो बारेमा स्वयं वकालत गर्ने अवस्थामा पुगेका छन। किनकी जनताले सान्दर्भिकता रद्ध गरेपछि राजनीति ‘सुफि फकिरको कविता’ हुने निश्चित छ। वर्गिय मुद्धा, सम्वृद्धिका नारा र युद्ध स्तरमा आफ्ना योजना अगाडी सार्न नसके पछि नितान्त रक्षात्मक अवस्थामा नेतृत्व पुगेको छ। यसको सामान्य निक्र्यौल के हो भने सैद्धान्तिक विचलन र हिजोका नायकहरुमा ल्याएको विचलनले खाली स्पेश छाडेकोछ जहाँ क्रान्तिकारीहरुको धुर्वीकरण तिव्रताका साथ भईरहेको छ। एउटा असफल र अपूर्ण क्रान्तिले बाबुराम र प्रचण्डलाई नदि किनाराका मुढाको स्थानमा ठेगान लगाएर समय अगाडी बढदैछ।
परिवर्तनको केन्द्रमा जनता खै?
पार्टीका तलवधारी मान्छे नियूक्ति भएका छन। श्रोत साधनमाथि नियन्त्रण गरि त्यसको दुरुपयोग र भ्रष्टाचार गर्न पाउने सुविधालार्ई वैधानिकता दिने कार्य सुचि पहिलो प्राथमिकतामा देखिन्छ। जनजिविकाका विषय र नागरिकहरुले सदियौ देखी व्यहोर्नु परेका अभाव भन्दा पहिले सत्तामा बस्ने सिमित पदाधिकारीको निम्ति अरबौ रुपैयाँको खर्च भार जनतालाई बोक्न बाध्य पारिएको छ। विविध प्रकारका कर र प्रत्यक्ष अप्रत्यक्ष शोषणको नयाँ शैली भित्रिएको छ। ठूला दलाल र पुँजीपतिको संरक्षण मात्र होइन उनीहरुको साझा लागनीकर्ताकै हैसियतमा नेताहरु पुगेको कुरा छर्लंगिएकोछ। एउटा ठूलो कम्पनीले व्यापारिक शाखा विस्तारको योजना ल्याए जस्तै जनप्रतिनिधी मार्फत पिरामिड निर्माण गरिएको छ। यसको समग्र संरचनाको केन्द्र भनेको स्वार्थ केन्द्रित र भ्रष्ट नेतृत्वको सुरक्षा सिवाय केही छैन।
आफू असफल भए देश नै रहन्न जस्तो मनोबैज्ञानिक त्रासदी पैदा गरेर पालो पालो देश दोहन गर्ने सम्झौता देखेर सत्ताधारी पार्टी भित्रका क्रान्तिकारी नेता तथा बुद्धिजीवीहरु अवाक भएको हुनुपर्छ। सिद्धान्त र कार्यक्रमिक बहसले आफ्ना महत्वाकांक्षाहरु ढिलाइमा पर्ने भएकोले सोलो डोलो देशको सम्वृद्धि भन्ने जस्ता ‘तुरुप’ बोकेर हिडेको देखिन्छ। आफुलाई बामपन्थी भन्ने सत्ताधारी पार्टी सायद दुनियाको पहिलो पार्टी होला जोसंग आफ्नो अभियानको व्याख्या छैन। कार्यक्रमको सैद्धान्तिक संगति छैन।
चीनबाट रेल आईसक्यो भनिन्छ केही महिना पछि आउँदैछ भनिन्छ, फेरि केहि महिना पछि रेलको सम्भाव्यता अध्ययन भनिन्छ र अहिले आएर चीनको तर्फबाट पुर्वसम्भाव्यता अध्ययन सहायता मात्र भन्नेमा टुगिंन्छ। यो प्रसिद्ध मजाकले नेपाली जनताका आशा, भरोसा र सपनाको नेतृत्व कति बहुलठ्ठी तरिकाले गरिदैछ भन्ने देखाउँछ।
विकासको नाममा ब्रम्हलुट
गाउ गाउमा पसेको भनिएको सिंहदरवार र अरबौको राज्यकोष पुगेको छ। सिमित व्यक्तिहरु जो २०४६ साल यता अक्सर विकास बाडेर खाने पेशामै तल्लीन थिए, विचमा जग्गा दलाली, ठेक्कापट्टा र तस्करी सम्म गर्न पछि परेका थिएनन उनिहरुको हातमा यो कोष पुगेकोछ। आम समुदायको चेतना र उनीहरुको जानकारीमा पहुँच नै हुन नसक्ने गरि केहि दर्जन मान्छे हालीमुहाली गरिरहेका छन किनकि बहुसंख्यकले यो पद पैसाको बलमा किनेका थिए।
जनप्रतिनिधि भनिएका बहुसंख्यक नेता कार्यकर्ता स्थानिय तहमा कोटेशन संकलक र लेनदेनका वार्ताकार बनिसकेका छन। निर्मला हत्याको विषयमा बोल्ने एकजना जनप्रतिनिधीलाई केन्द्र देखि हप्काएर पठाएको विषयबाट थाह हुन्छ कि उनिहरु कति स्वायत्त र जनउत्तरदायि बन्न पाउँछन। साँचो अर्थमा भन्दा इमान्दार र उत्तरदायि जनप्रतिनिधी मध्ये धेरैलाई यो नैतिक रुपमा ध्वस्त संरचनाको हिस्सा बनिरहन त्यति मन लागेको छैन। पश्चिम क्षेत्रका एक मेयरले सार्वजनिक कार्यक्रममै भने ‘यति धेरै विकृतिको केन्द्र भएर बस्न मन छैन’।
व्यवस्थापनमा सिमान्तीकरण सिण्ड्रोम
नोकरशाही भनेको मेसिन हो र यसलाई दिशानिर्देश गर्नेकाम राजनैतिक नेतृत्वको हो। गाडी त्यस्तै गुड्छ जस्तो चालकले चलाउँछ। कर्मचारी तन्त्रमाथि दोषारोपण बारम्वार सुनिन्छ। कर्मचारीहरुले काम गर्न दिएनन वा बाधा बने भनेर। प्रचण्डदेखि मन्त्रीसम्मको भनाई र समायोजनको सवाल किन अडएिको छ। निश्चित छ यो देशका निम्न स्तरका कर्मचारीहरु सम्म सबैलाई थाहा छ कि सत्ताको दुरुपयोग, राज्यकोषको ब्रम्हलुट अनि राजनैतिक आवरणमा दलाल अर्थतन्त्रको साक्षी वा सहयोगी बनेर राजनैतिक दलहरुले अरवौं कुम्ल्याएको।
कर्मचारीतन्त्र तुलनात्मक रुपमा सजग वर्ग भएकोले उसले एनसेल, हाइड्रोपावर योजनाहरु, विमान खरिद घोटाला, सुनकाण्ड, सांसद विकास कोषको अरवौ बजेट लगायत धेरै संस्थागत भ्रष्टाचारको साक्षी भएको छ। कर्मचारीहरु आफ्नो स्वार्थ र सुविधा केन्द्रित हुदाहुदै पनि राष्ट प्रतिका यति धेरै घात देखेको कारण राजनिति, पदासिन र कार्यकर्तामाथि विश्वास र सम्मान गुमाएको छ। नोकरशाहीको आफ्नै आन्तरिक शोषण र असमानताका मुद्धापनि जिवीत छन, दौराको फेर समातेर व्यवसायिक भन्दा पनि चाकरीको भर्याङ्बाट माथि उक्लिने अनि राजनैतिक सुरक्षाको लागि बांकि कर्मचारीलाई मानमर्दन वा हतोत्साहित हुने गरि उपाय सुझाउने वरिष्ठहरुका कारण पनि आम कर्मचारीमा नकारात्मक प्रभाव परेको देखिन्छ।
नोकरशाही भित्रको वर्ग, असमानता र अनुत्तरित सवाल छोडेर वा नसुनेर भान्साबाट सरकार चलेको देखिन्छ। यसले निश्चित रुपमा देश बनाउने आवश्यक उर्जा र हौसला क्षिण बनाईरहेको छ। मूल्य र इमान्दारीताको राजनिति नगर्ने नेताको पछाडि लाग्नु मात्र राष्टसेवा होइन। देश समाज र जनताका आवश्यकता दलाली गरेर किन बेच गर्ने नेताको पछाडि इमान्दार कर्मचारी नउभिनु ठिकै पनि हो।
प्यारापिटका बुद्धिजिवी
यो देशका बहुसंख्यक ‘ओपिनियन मेकर’ जनपक्षिय वुद्धिजिवीहरु पनि थाकेका हुन कि मौन छन। खास खास समयमा अतिनै महत्व राख्ने यो तप्का अहिले एकाध विषयमा बोल्ने बाहेक विकृतिलाई पनि ‘विजिनेस: एज युजल’ झै स्विकारेको देखिन्छ। यो एक प्रकारको भयानक भाग्यवाद हो। विचार र वहसको सट्टा समसामयिकतामै तल्लीन बुद्धिजीवि तथा प्राध्यापकहरु पाँच वर्ष थकाई मार्न बसेको जस्तो भान हुन्छ। यसले नेपाली समाजको रुपान्तरणमा एउटा गम्भिर अन्तर पुस्ता दुरी छोड्ने सम्भावना हुन्छ। युवा वर्गमा आफ्नो ज्ञानको ऐतिहासिक कडि टुटेको भान हुनेछ र मानिसहरुमा विकल्पबारे आलोचनात्मक चेतना भन्दापनि विवशता बोधतिर लैजाने छ। नेपाली समाजको आमुल रुपान्तरणको ध्येय र सपना अपुरो रहुन्जेल, जनताहरु माथि ‘मिस लिडिंग’ भ्रान्तिपथ हावीहुंदा यस विरुद्ध आवाज उठाई राख्नु जिम्मेवारी हो।
केहि समयको कृपाको जागिर पाईन्छ कि भनेर सत्ताको वरिपरि ज्ञानीमान्छे फन्को मार्न थाल्ने हो भने निश्चित छ हाम्रो आगामी पुस्ताले हाम्रो बुद्धिजीवीहरुमाथी गर्व गर्ने छैनन्। राष्टिय अन्तराष्टिय कोणबाट देशको सार्वभौमिकता र दार्शनिक ‘कल्ट’ भ्रमहरु समयमै चिरफार नगर्ने हो भने कुनै दिन पुजारीहरु, पादरीहरु पार्टी मुख्यालयका साझेदार बन्नेछन। यो देशको बारेमा ‘ओपिनियन’ धारणा हामी स्वयंले नवनाउने हो भने अरु कसैले बनाईदिएकोमा बाच्न विवस हुनेछौ।
आत्मसमर्पणका परिघटना र कथित राष्टवाद
माथि उल्लेख गरिसकिएको छ कि राष्टवाद एउटा खोक्रो ‘तुरुप’ भएको छ। भर्खरै अमेरिका संग भएको दुइ पक्षिय भेटघाट, अमेरिकि सैन्य अधिकारीको नेपाल आगमन, विवादास्पद ‘ब्रिक्स’, पाकिस्तान र चिनको सामरिक सम्वाद, चिन र अमेरिका विचको तनाव र ताईवान मामला आदीको पृष्ठभूमिमा नेपाल चिनको घेरावन्दिका लागि सामरिक महत्वको भूगोल हो।
यसको प्रयोगमाथि बर्षौदेखी आँखालगाएर बसेका साझेदारहरु अव संगठित रुपमै यो दवाव र प्रभाव बनाई राख्नेछन। यो सरकार नै त्यस्तो तरल सिद्धान्तको जगमा छ जहां यूनिफिकेशन चर्च देखी बाबाहरु सम्मले सजिलै किन्न सक्छन। जो देशलाई उदांगो पौवा झै पारेर सबैकालागि आफ्ना स्वार्थको चौतारो बनाईसकेका छन।
एकातिर उत्तर साम्राज्यवाद आफ्नो मायावी रुपका साथ आक्रामक हुनु र अर्को तर्फ नेपाललाई सबैखालका विचौलिया र एजेण्टहरुको स्वर्ग बन्न दिईराख्नु अपसोचको कुरा हो।
माथिल्लो मस्र्याग्दी परियोजना भारतको जिएमआरले चिनिया पक्षलाई बेचेको दृष्टान्तले नेपालको श्रोतमाथिको बैदेशिक स्वामित्व दर्शाउछ। बैदेशिक लगानी ल्याउने व्यानरमा यो यहाका नवधनाढ्य नेताहरुनै नितिहरुको साझेदार बन्ने र देशका श्रोत साधनमाथि एकाधिकार जमाउने खेल चलिरहेकोछ। आफ्ना युवाहरुलाई विदेशमा सस्तो भाउका दास बनाउने र दासताको बैधानिकता दिन सरकार पहल गरिरहेकोछ। भिन्न भिन्न देशलाई नया गन्तव्य बनाएर नेपाली युवाहरुको ‘हिरा’ जस्तो श्रम शक्तिलाई कोइलाको भाउमा पैठारी गर्न सरकार लागिपरेको छ।
साइकलमा मोटरसाकलको ह्याण्डल
जोडेर छिटो कुदने सपना देख्न रमाईलो भएपनि वस्तुतः यसरी कुद्ने होइन। किनकि कुदने मेसिन हो र यसको भाँती पुर्याईएका अन्य सहयोगी हिस्साले हो। यहाँ त के सोचियो भने बस्नेमान्छेको मात्र कमी थियो, हामी पालो पालो बसेपछि कुदिहाल्छ।
कुनै पनि बस्तु वा प्रणाली त्यसको ‘डिजाईन लिमिटेशन’ भित्र चल्दछ। उडने गुडने फरक तरिकाले बनाईन्छन र तिनीहरु विपरित शक्ति फरक छ। उड्नेको विपरित शक्ति गुरुत्वाकर्षण र भार हुन्छ, सहायक शक्ति हावा हुन्छ। तर गुडनेको सतहको सन्तुलन र चाल। समयले यो असुन्तुलित विज्ञान र सिद्धान्तमा गरिएको सम्झौता माथि जरुर प्रश्न उठाउँछ।
सायद यिनै ऐतिहासिक प्रश्नको उत्तरमा बल्झिने देखेर होला डा बावुराम भट्टराईले हात खडा गरेर समर्पण गरेको। सम्बद्धि र सुखको रटान दिएर आउदैन त्यो प्रचण्डलाई थाहा छ। तर अव उहांमा एक कदम अगाडी जाने हौसला बांकि रहेन र एउटा स्वर्णिम ईतिहासको आधा खेलसम्म मैदानमा टिकेर सन्यास लिएको भन्नुपर्छ।
अवसाद र विकल्पहरु निराशाले मात्र कुनै रुपान्तरण ल्याउदैन। इतिहास र वर्तमानका दुखान्त बयानले हामीलाई केहि दिने छैनन्। विश्वभरि छरिएका युवाहरु, ज्ञान विज्ञान र प्रविधिको विकास सँगै व्यक्तिगत र सामुहिक रुपमा विशाल सपना देख्न सक्ने हरेक नागरिक स्वयंमा एक नायक हो। हामी जे अवस्था बदल्न चहान्छौ त्यो रोक्ने कुनै शक्ति छैन किनकि जनता शक्तिको श्रोत हुन्।
अब हामी पर्खने वा उनै शव्दले बनेका थोत्रा बयानलाई विहान दिउँसो र साँझ पढेर अवसाद र पश्चाताप तिर होइन एउटा आवश्यक र ठोस क्रान्तिको तयारीमा जुटनु पर्नेछ। कुनै अभियानले यदि हामीलाई नया यूग दिदैन भने त्यो रुपान्तरण होइन।
‘यस्तो होइन त्यस्तो हुनुपर्छ‘ भन्ने चेतना भएका हामी सबैको नविन नेपाल बनाउने ध्येय जिवित होउन्जेल आमुल रुपान्तरणको यात्रा हरेक दिन झन मजवुत हुदै जान्छ। भएकै ठिक छ भन्ने विचार संसारमा कतैपनि टिकेको छैन।
सधैझैं नेपाली युवा र श्रमजिवी जनतालाई ‘थांग्नोमा सुताउने’ वा आवश्यक क्रान्तिलाई टार्न खोजीएको छ। सिमित नेताहरु अरवपति बन्ने अनि राज्यका श्रोत सम्पतिमाथी दोहन गर्ने योजना छ।
सैद्धान्तिक मानक नभएको राजनैतिक रडारको भरोसामा एमाले र माके यात्रा ‘राजाको भोटो’ भएको प्रष्टिएकोछ। अव यो ‘भोटो’ छ कि छैन वा देखियो देखिएन भन्ने बहस यतै समाप्त गर्दै सत्तरी वर्ष देखीको आन्दोलनलाई विशिष्ट अवस्थामा निरन्तरता दिनु आजको आवश्यकता हो।