बेफुर्सदी जीवनशैली, असंयमित दौड र हडबडको कोलाहलले चराचुरुंगीको चिरबिर कप्लक्कै निलेको रहेछ। पानीमा चुलबुल माछा, राजहाँसहरूको मनै लोभ्याउने सयर, त्यो शान्त नीलो आकाश अनि स्वच्छ-सफा हावाको सर्सराहट हामीले भुलिसकेका रहेछौं।
आज वर्षौंपछि जीवन्त भएझैं लाग्दैछ मलाई मेरो जीवन।
कुनै पनि कुरा एकछिन मात्र ढिला हुँदा रिसाउने, आत्तिने र चिड्चिडाउने मानिस दुई सातादेखि आफ्नै घरमा बन्द छ। त्यसैले त, पृथ्वी शान्त छ, सौम्य छ र ढुक्कले श्वास फेरिरहेछ।
मानिस अरू प्राणीभन्दा विवेक र बुद्धिले भरिएको हामी विश्वास गर्छौं। उसले आफ्नो बुद्धिको पराकाष्ठामै पुगेर विकास गर्यो, सफलता पायो। तर, यो होडमा विवेक प्रयोग गर्नबाट चुक्यो। बुद्धि र विवेकको सन्तुलित प्रयोग हुनुपर्नेमा ऊ बुद्धिको प्रतिस्पर्धामा दौडिरह्यो, विवेकशून्य बनेर।
पृथ्वी, जल, वायु, आकाश सबैलाई आफ्नो आधिन राख्न हौसिएको मानिसले यो धर्ती अरू प्राणी र वनस्पतिको पनि हो भन्ने होशै राखेन। संवेदनशीलता, दया, मायाको परवाहै गरेन।
गत वर्ष एम्याजन र लगत्तै अस्ट्रेलियाको भयावह डढेलोले पृथ्वीका अर्बौं जीवजन्तु मरे। वातावरणमा कालो बादल छायो। हेक्टरका हेक्टर रूख नाश भए। के त्यो मानिसको लापरबाही र असंवेदनशीलताको परिणाम थिएन? भोलिका दिनमा यसले अझ कति असर गर्ला भन्ने हाम्रो कल्पनाबाहिर छ।
मानिसले आफ्नो पेटको निम्ति हत्या गरेका प्राणीको त लेखाजोखै छैन। कीराफट्यांग्रादेखि जल, थल, नभका सबै प्राणी खाएर पनि अघाएको छैन। मान्छेको कहिल्यै नअघाउने भोकले सृष्टिका सबै नियम तोडिएका छन्। सागरदेखि महासागरसम्म फोहोरले भरिएका छन्। हिमालयमा पनि मान्छेले फालेका रहलपहलको नयाँ टाकुरा बन्दैछ। वनजंगल मासिएर सहर बनेका छन्।
आखिर कति दिन थेगोस् सृष्टिले मान्छेको अहम्!
आजको परिस्थिति मानव जातिलाई सृष्टिको एउटा खबरदारी हो। स्वतन्त्र जनावर र चराचुरुंगीलाई पिंजडाभित्र थुनेर रमाउने मानिस आज आफैं थुनिएको छ। उसको लवाइ, खवाइ, दिनचर्या सबै फेरिएको छ। लवाइ हेर्दा लाग्छ, ऊ अन्तरिक्ष जान ठिक्क परेको छ। जतिखेर जे मन लाग्यो त्यही खाने मान्छे प्राकृतिक खानामा बाँधिएको छ। अड्कलेर खान बाध्य छ। नातागोता, भाइबन्धु, साथीसंगी सबैबाट टाढिएको छ।
मानव आज कहालीलाग्दो गरी एक्लो बनेको छ, नितान्त एक्लो।
एक्काइसौं शताब्दीको चरम विकास, चन्द्रमा टेक्ने सामर्थ्य, आणविक हतियार, लडाकू विमान, इन्टरनेटको जालो, गगनचुम्बी महल र फराकिला सडक उसका लागि निरर्थक बनेका छन्। आफूलाई सर्वश्रेष्ठ साबित गर्ने उसको सारा मिहिनेत चकनाचुर भएको छ।
मानिसका पुराना गल्ती अब अन्त्य हुनुपर्छ। प्रकृतिसँग सन्तुलन बनाएर बाँच्न सिक्नुपर्छ। हरेक जीव र प्राणीको सम्मान गर्नुपर्छ। सह-अस्तित्वको अर्थ सिक्नुपर्छ। बाँचौं र बाँच्न दिऊँको भावना जगाउनुपर्छ। नाश होइन, रक्षा गर्न सिक्नुपर्छ। यही हो, हामीले लकडाउनबाट सिक्नुपर्ने पाठ।
आफैंभित्र नियालेर हेरौं। हामी कहाँ चुक्यौं र अब के गर्न सक्छौं भनी आत्मालोचना गरौं। यो एउटा नवीन संसार निर्माण गर्ने अवसर पनि हो।
(कोइराला पुल्चोक इञ्जिनियरिङ कलेजका पूर्व सह-प्राध्यापक हुन्।)