‘छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु’
डा. विश्वनाथको रचनामा शिशिर योगीको स्वर भरेको यो गीतले नेपालको कम्तीमा वि.स.२००७ देखियताको राजनीतिक खोजलाई चरितार्थ गर्दछ।
हामी नेपालीहरू वि.स. २००७ यता कुनै न कुनै रूपमा, कुनै न कुनै व्यवस्थामा, केबल एउटा मानिस खोजिरहेका छौं, एउटा त्यस्तो मानिस जसले नेपालको स्वरूप बदल्न सकोस्, सारा नेपालीको ‘भाग्य’ बदल्न सकोस्।
तर, जो आए, केही अपवाद बाहेक, सबैले आ-आफ्नो भाग्य बदलिएर गए। अनि, हाम्रो भाग्यमा अझै खोज नै लेखिएको छ।
‘खोज बाजेले’बाटो, चौकी र कुना-कुनामा खोज लेख्नुको अर्थ सायद डा. विश्वनाथले पहिल्यै बुझिसकेका थिए, शिशिर योगीले बुझेर गाएका होलान्, र म आज बुझ्दैछु।
हामीले पुस्तापर्यन्त खोजी गरिरहेको आखिर त्यो एउटा मान्छे, त्यो राजनेता कहिले भेटिएला त? हाम्रो चियागफ र आलोचनामा नेताहरूले गाली खाने क्रम कहिले भंग होला त? के हाम्रो भाग्यमा अन्ततसम्म खोजी नै लेखिएको छ त? के शिशिर योगीको गीत सधैं सान्दर्भिक रहिरहला त? जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान राजनीतिमा सान्दर्भिक हुन कहिले छोड्ला? आउनुहोस्, उत्तर खोज्ने प्रयास गरौं।
मानिस स्वभावैले स्वार्थी हुन्छ, र यो स्वार्थ सधैं हानिकारक हुन्छ भन्ने छैन। हामी सबै स्वार्थी छौं। हामी आफ्नो बारेमा सोच्छौं, आफ्नाको बारेमा सोच्छौं, पढ्छौं, काम गर्छौं, आफू र आफ्नालाई जोगाउन युद्ध लड्छौं, र यसको हिसाब अनन्त लम्बिन्छ।
यही स्वार्थले मानिसलाई केही गर्न हौसाउँछ, यही स्वार्थले मानिसलाई आविष्कार गर्न लालायित बनाउँछ। सम्पत्ति जोड्न प्रेरित गर्छ, जिन्दगीमा केही गर्न धकेल्छ।
कवि भानुभक्त आचार्यलाई आफ्नो नाम राख्ने स्वार्थले नडोहोर्याएको भए उनी शायदै आदिकवि हुने थिए होलान्। एडम स्मिथले उनको सर्वाधिक रुचाइएको पुस्तक वेल्थ अफ नेसन्स्मा यो स्वार्थलाई स्वहित भनेको छन्, डार्विनले प्राकृतिक छनोटको सिद्धान्तबाट मानिसको स्वार्थको वकालत गरेका छन्। अहिलेको विकसित संसारमा नवप्रवर्तन र उद्यममा मुख्य मानिने ‘प्यासन’ पनि स्वार्थकै परिस्कृत रूप हो।
अतः हाम्रा राजनीतिकर्मी वा नेताहरूमा पनि यो स्वार्थ हुनु स्वभाविक नै हो, उनीहरू पनि यही समाजका उपज हुन्, उनीहरू पनि स्वार्थी नै हुन्छन्। यो तथ्य हाम्रो आम आस्था विरोधी होला, तर एउटा कटु सत्य हो। स्वामी विवेकानन्दको भनाइले यसलाई पुष्टि गर्दछ,‘भोको पेटले धर्म हुँदैन।’
स्वार्थ त्यतिबेला मात्रै हानिकारक हुन्छ जब कुनै मानिस आफ्नो स्वार्थका लागि अरूको स्वार्थमाथि धावा बोल्छ। अर्को लवजमा भन्नुपर्दा, जब मानिसले आफ्नो अधिकार (स्वार्थ)का लागि अर्काको अधिकारमा धावा बोल्छ, बल्ल स्वार्थ हानिकारक बन्छ। हाम्रो समाजले यस्तो चरित्रलाई स्वार्थी भएको संज्ञा दिन्छ। तर, यो हामीभित्र रहेको स्वार्थमाथि गरिएको हमलाको प्रतिकार मात्र हो। यो प्रतिकारका लागि हामीलाई पनि हाम्रै स्वार्थले प्रेरित गरेको हुन्छ। अर्थात्, हामी हाम्रो स्वार्थ जोगाउन प्रतिकारमा ओर्लन्छौं।
यही समाजका व्यक्तिहरू जब राजनीतिकर्मी वा नेताहरू भएर उभिन्छन्, अनि हामी एकाएक उनीहरूबाट परमार्थको अपेक्षा गर्न थाल्छौं।
उनीहरूले आफ्नो व्यक्तिगत स्वभावलाई चटक्कै तिलाञ्जली दिएर, देश र जनताको स्वार्थमा लागेको देख्न चाहन्छौं। तर, मतदाताको रूपमा हामी उनीहरूको स्वार्थप्रति विल्कुलै अनभिज्ञ हुन्छौं, र यसको कारण पनि छ।
एन्थनी डाउन्स्ले आफ्नो पुस्तक एन इकोनोमिक थिअरी अफ डिमोक्रेसीमा लेखेका छन्, ‘आम निर्वाचनको परिणाम मतदाताहरूका लागि एकदमै महत्वपूर्ण हुँदाहुँदै पनि, एक व्यक्ति मात्रको मतले निर्वाचनको परिणामलाई बिरलै दिशानिर्देश गर्छ। अतः पूर्ण जानकार भएर मतदान गर्नुको प्रत्यक्ष प्रभाव पनि शून्य बराबर हुन्छ।
तसर्थ, निर्वाचन वा उम्मेदवारका सबै विषयको खोज गर्नु, कुनै पनि मतदाताका लागि लाभप्रद हुँदैन। र केही अपवाद बाहेक, नीतिनिर्माताले गर्ने अधिकांश विषयमा मतदाताहरूले जानकारी पनि राख्दैनन्, र खोजी पनि गर्दैनन्।’
अब लागौं नेतातिर।
नेता वा जनताप्रति जवाफदेही हुनुपर्ने जोकोहीबाट पनि हामीले ‘सार्वजनिक हित’को अपेक्षा गरेका हुन्छौं। तर यदि नेताहरूले राम्रै निर्णय लिए भने पनि अधिकांश जनतालाई, अपवाद बाहेक, उनीहरूको निर्णयको विषयमा जानकारी हुँदैन, र यी निर्णयले उनीहरूलाई प्रत्यक्ष लाभ पनि दिँदैन।
तर यदि यही निर्णय आफू निकटका व्यक्ति वा समूहका लागि हितकर हुने गरी लिइएमा, यसले उनीहरूको राजनीतिक पकड र लाभ बढ्छ, र आगामी निर्वाचनका लागि आर्थिक स्रोतको पनि जोहो हुन्छ।
यसर्थ, राजनीतिकर्मीले आफ्नो (हानिकारक) स्वार्थलाई सधैं अघि बढाइरहेका हुन्छन्, सकेसम्म सार्वजनिक छविमा आँच नआउने गरी, तर जब उनीहरूबीचको हानिकारक स्वार्थ एक आपसमा बाझिन्छ, अनि पोल खुल्छ।
यस अर्थमा, हानिकारक स्वार्थ नबाझिएका उनीहरूका कर्म कति छन् भनेर हेक्का लगाउनु मुश्किल पर्छ।
हामीमध्ये कतिलाई हाम्रा नेताको वास्तविक सम्पत्ति थाहा छ?
आफ्नो हानिकारक स्वार्थलाई अघि बढाउने क्रममा आफू अनुकूल हुने गरी सबै संस्था वा निकायको राजनीतिकरण गर्नु हानिकारक स्वार्थको अर्को विस्तारित रूप हो।
आफैं बोक्सी, आफैं धामी हुँदा हानिकारक स्वार्थ बाझिएमा पनि दबाउन सजिलो हुन्छ। यसका केही उदाहरण नेपालमा पछिल्लो समयमा दबाइएका भ्रष्टाचारका घटना हुन्।
यसरी जब सबै कुरा आफू अनुकूल हुँदै जान्छ, तब हानिकारक स्वार्थ सबैतिर फैलिन्छ, चाहे महाभूकम्पको बेलामा त्रिपाल किन्दा होस् वा कोभिड-१९ को समयमा अत्यावश्यक स्वास्थ्य सामग्री किन्दा।
अब उपाय के त?
हामी चुक्नुको सबभन्दा ठूलो कारक नेताहरूबाट सार्वजनिक स्वार्थ र परमार्थ मात्रको अपेक्षा गर्नु हो। हामी नेताहरू नैतिक रूपमा ठीक हुँदैनन् भन्ने निष्कर्षमा त पुगेका छौं, तर उनीहरूबाट सार्वजनिक स्वार्थको मात्रै अपेक्षा गर्न छोडेका छैनौं। वा भनौं, हामीले यस तथ्यलाई मनोवैज्ञानिक रूपमा स्वीकार्न सकेका छैनौं। समाधानको उपाय खोज्नुको प्रथम खुड्किलो समस्याको जरालाई बुझ्नु हो, आत्मसात् गर्नु हो।
नेताहरूमा पनि स्वार्थ हुन्छ र उनीहरू आफ्नो स्वार्थका लागि अरूको स्वार्थमाथि सजिलै हमला गर्न सक्ने पद वा हैसियतमा हुन्छन् भनेर बुझ्नु समाधानप्रतिको दोस्रो खुड्किलो हो।
यी शक्तिशाली पदहरूमा उनीहरूलाई प्राप्त अधिकार आमनागरिकको भन्दा बढी हुन्छ र सत्ताको सबै शक्तिलाई आफूतिरै केन्द्रित पार्ने व्यक्ति यस्तो ओहोदामा पुगेमा अवस्था झनै डरलाग्दो हुन्छ।
त्यसैले, यो हानिकारक स्वार्थप्रतिको हाम्रो पहिलो द्वन्द्व यी शक्तिलाई केन्द्रिकृत हुन नदिनेमा खनिनु पर्दछ।
यसको लागि विधिको शासनको उत्कृष्ट परिकल्पना सार्थक हुन्छ। तर यो सार्थकता एकैचोटि आउँदैन।
यसका लागि चरणबद्ध रूपमा आम नागरिकभन्दा धेरै शक्ति हुने ठाउँहरूको शक्तिको नियन्त्रण गर्नुपर्दछ।
सरल हिसाबमा भन्नुपर्दा, यस्तो नियन्त्रण भनेको ओहोदामा बसेकाहरूले आफ्नो प्रत्येक कामको जवाफदेहिताका कानुनसम्मत हुने कुराको निर्धारण हो। जस्तो कि, यदि कुनै सार्वजनिक खरिद हुँदैछ भने, आपूर्तिकर्ताको छनोटका लागि स्पष्ट सर्तहरूको निर्धारण गर्नु हो।
मैले स्पष्ट सर्त भनिरहँदा, स्पष्ट हुनुको अर्थ निर्णय गर्ने अधिकारी वा निकायले स्वविवेकले निर्णय लिनुभन्दा पनि कार्यसञ्चालन विधिको अनुसरण गर्नु हो। त्यसैगरी, कार्यसञ्चालन विधिका सर्तहरू फरक-फरक ढंगले व्याख्या हुन नसक्ने गरी कायम गर्नु हो, अर्थात् सबैका लागि समान धरातल (लेभल प्लेइङ फिल्ड) हुनेगरी सर्तहरूको निर्धारण हुनु हो।
यस्तो अवस्था भएमा, यदि कुनै अधिकारी वा निकायले स्वविवेकले आफू निकट रहेकाहरूको हितमा निर्णय गरेमा त्यो कार्यविधिको स्पष्ट उल्लंघन हुन आउँछ, र जवाफदेही बनाउनका लागि कानुनको सहायता लिन सकिन्छ। अर्कोतर्फ, कानुन पनि स्पष्ट हुनु पर्दछ। स्पष्टताको अर्थ ‘तोकिए बमोजिम हुनेछ’ जस्ता अस्पष्ट शब्दको कानुनी शब्दावलीबाट पूर्ण निवारण गर्नु हो र प्रत्येक दफाले व्यवस्था गर्ने प्रावधानको स्पष्ट व्याख्या हो।
उदाहरणका लागि, हालै जारी गरिएको उपभोक्ता संरक्षण ऐन, २०७५ को ३३ पृष्ठ लामो दस्तावेजमा ४१ स्थानमा ‘तोकिए बमोजिम हुने’भनेर उल्लेख गरिएको छ।
यसको अर्थ, यस ऐनलाई पूर्ण रूपमा बुझ्नका लागि पाठक र आम नागरिकहरूले अन्य ४१ वटा पक्ष वा स्थानहरूमा हेर्नुपर्ने हुन्छ (थप जानकारीको लागि हेर्नुहोस्ः उपभोक्ता संरक्षण ऐन २०७५: एक समीक्षा, समृद्धि फाउण्डेसन)। वा अर्को अर्थमा, यसले ‘तोक्ने अधिकारी’ लाई स्वविवेक प्रयोग गर्ने अख्तियारी दिन्छ, जुन सधैं जनताको हितमा हुन्छ भनेर किटान गर्न सकिन्न, तर तोक्ने अधिकारीको हानिकारक स्वार्थलाई अघि बढाउँदैन भन्नेमा शंका गर्ने ठाउँ प्रशस्त हुन्छन्। हामीले यस्तै प्रावधानलाई सरलीकरण गर्दै कानुन सबैले बुझ्ने र सबैका लागि एउटै व्याख्या हुने प्रकारको बनाउनु पर्छ।
व्यक्तिको शासनभन्दा विधिको शासन हुनुपर्दछ भन्नेमा हामीमा मतभेद नहोला। तर हामीले सधैं व्यक्तिको शासनलाई नै प्रश्रय दिइरह्यौं।
हाम्रो मनोचेतले नै हामीलाई डोहोर्याई रह्यो। हामीले नेताहरू हामीसँग भोट माग्न आउँदा कहिले कस्तो नीति ल्याउनु हुन्छ भनेर सोधेनौं, हाम्रो प्रश्न सधैं कस्तो पुल बनाउनु हुन्छ भन्नेमा गएर समाप्त भयो।
हामीले पुल र बाटो त सुधारिएको व्यवस्थाका साना उपज मात्रै हो भनेर बुझेनौं। व्यवस्था बलियो भएमा नेताहरू जतिसुकै गलत भए पनि उनीहरूले गर्नसक्ने हानी एकदमै कम हुन्छ भनेर हामीले वास्ता गरेनौं।
हामीले व्यवस्था बलियो व्यवस्थाप्रतिको अपेक्षा आफूभित्र उर्मानै सकेनौं, मात्र नेता राम्रो हुनुपर्दछ भन्ने मात्रै बुझ्यौं।
यहाँ एउटा उर्दू हरफ सान्दर्भिक हुन आउँछः
‘‘ताउम्र: यही भूल करता रहा गालिब !
धूल चेहेरे पर थी, आइना साफ करता रहा !!’’
Twitter: @bneekunz