अहिले विश्वको एक तिहाईभन्दा बढी जनसंख्या लकडाउनको पालना गर्दै घरभित्र बन्द भएर बसेका छन्। नेपालमा लकडाउन घोषणा गरिएको आज १८ दिन पुगेको छ र यो अझैं कम्तिमा एक साताको लागि थप गरिएको छ।
अत्यावश्यक काम बाहेक अन्य अवस्थामा हिड्डुल गर्न रोक लगाइएको छ। सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा समेत पूर्ण बन्देज छ।
नेपालमा हामीले चक्काजामको अनुभव त वितग दुई दशक यता धेरै पटक गरिसकेका छौं। कहिलेकाही फाट्टफुट्ट विषम् परिस्थितिमा कुनै जिल्ला र क्षेत्रमा कर्फ्यू आदेश घोषणा भएको पनि देखेका थियौँ।
सायद कोरोना भाइरसको महामारी अगाडि हामी मध्ये अधिकांशलाई लकडाउन भनेको के हो भन्ने पनि थाहा थिएन। कोरोना भाइरसको महामारीको सुरुवातापछिको यस विषम् परिस्थिति र लकडाउनका क्रममा हामीले बाचिरहेको जीवन पद्दती, हाम्रो पुस्ताका लागि बिलकुल फरक र नयाँ छ।
सायद कोरोना भाइरसको महामारीमा बाँच्न सफल हुने सबैका लागि यो जीवन अनुभव जीवनकाल भरी भुल्न नसकिने एक विशेष अनुभव रहने छ होला। हाम्रा लागि लकडाउन कोरोना भाइरस नियन्त्रणमा नआइञ्जेल केही समयको लागि अस्थायी हो।
कोरोना भाइरस नियन्त्रणमा आएपछि फेरी जनजीवन सामान्य अवस्थामा नै आइपुग्ने छ। फेरी हामी हिड्डुल आवतजावत गर्न र आफूलाई मन लागेको काम गर्न स्वतन्त्र हुनेछौँ।
तर हामीले अनुभव गरेको लकडाउन केही वन्यजन्तुको लागि भने जीवन भरीको नियतीका रुपमा रहेको छ। चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रमा राखिएका वन्यजन्तुहरु मानौ गम्भीर कसुरमा आजन्म कैद सजाय पाए जसरी जीवनकाल भरीका लागि पर्खाल, जाली र पिँजडामा थुनिएर राखिएका छन्।
जंगलमा विचरण गर्ने र स्वतन्त्र भएर हिडडुल गर्ने कुरा सायद उनीहरुले यो जीवनकाल भरी अनुभव गर्न पाउने छैनन्। अहिलेको लकडाउनको अवस्थामा सायद ती वन्यजन्तुको निरासा र अनुभव हामी सबैले केही हदसम्म आत्मसाथ गर्न सक्छौँ होला।
नेपालमा हालसम्म चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्र संचालन सम्बन्धी कुनै मापदण्ड बनिसकेको छैन। तथापि विना कानुनी आधार राष्ट्रिय प्रकृति संरक्षण कोषबाट ललितपुरको जावलाखेलमा सदर चिडियाखाना र नेपालका अन्य विभिन्न सहर र विशेषत तराईका जिल्लाहरुमा सामुदायिक वनहरुद्वारा चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रहरु सञ्चालनमा रहेका छन्।
वन, वन्यजन्तु र मानिस बीचको अन्योन्याश्रित सम्बन्धलाई विस्तार गर्ने, वन्यजन्तुको रक्षा गर्ने, घाइते, बिरामी जनावरहरुको उद्धार र उपचार गर्ने भनिएता पनि व्यवहारमा मानिसहरुलाई मनोरञ्जन प्रदान गर्न र वन्यजन्तुको प्रदर्शन गरेर आम्दानी गर्नमात्र चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्र केन्द्रित भएका छन्।
विभिन्न सामुदायिक वनहरु जस्तै पचभैया सामुदायिक वनमा सञ्चालित पोखरा जुलोजिकल पार्क¸ जामुनखाडी सामुदायिक वन¸ वेतना सामुदायिक वन¸ तालतलैया सामुदायिक वन¸ हरियाली सामुदायिक वन¸ ज्ञानेश्वर सामुदायिक वन¸ नवजागृति सामुदायिक वन¸ पञ्चकन्या सामुदायिक वन, त्यस्तै शहिद स्मृति पार्क र मणिमुकुन्द सेन उद्यानबाट संचालित चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रमा उद्धार गरी ल्याइएका घाइते¸ टुहुरा वन्यजन्तुभन्दा प्रदर्शन गर्नका खातिर सकुशल अवस्थामै वन जंगलबाट अवैध रुपमा समातेर ल्याइएका वन्यजन्तुको संख्या धेरै छ।
उपचार र हेरविचारका लागि उद्धार गरेर ल्याइएका घाइते¸ टुहुरा वन्यजन्तुलाई पनि निको भइसकेपछि पुनःप्राकृतिक वासस्थानमा लगेर छाड्नु पर्नेमा त्यसो गरिएको खासै उदाहरण छैनन्। भलै कुनैकुनै वन्यजन्तु आफैँ खोरको जाली च्यातेर र पर्खाल नाघी भागेर वन जंगलमा फर्किएका उदाहरण भने छन्।
२०७३ को प्रसंग हो, कन्नकाली सामुदायिक वन¸ चितवनबाट उद्धारको नाममा नारायणी नदीमा बाढी आउँदा किसानको खेतमा आईपुगेको गोहीलाई समातेर सानो पानी नै नभएको धुलो खोरमा ल्याएर राखिएको थियो।
विश्वव्यापी प्रचलित पशु कल्याणको अवधारणाअनुसार मानिसको नियन्त्रणमा भएका प्रत्येक पशुपंक्षीलाई जस्तोसुकै परिस्थितिमा पनि पाँच किसिमका स्वतन्त्रता जस्तै भोक, तिर्खा र कुपोषणवाट स्वतन्त्रता, डर तथा पीडाबाट स्वतन्त्रता, शारीरिक तथा उष्णीय वा तापीय असहजताबाट स्वतन्त्रता, पीडा, चोटपटक र रोगबाट स्वतन्त्रता र आफ्नो प्राकृतिक स्वभाव अभिव्यक्त गर्ने स्वतन्त्रता उपलब्ध गराउनु पर्दछ।
चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रमा वन्यजन्तु राख्दा संभव भएसम्म उनीहरुको प्राकृतिक बासस्थानमा रहेको हावापानी जस्तै मिल्दोजुल्दो प्रकाश पर्ने, लुक्न मिल्ने, घाम र पानीबाट ओत लाग्न मिल्ने¸ हिड्डुल र खेल्नका लागि पर्याप्त क्षेत्रफल भएको वातावरणमा राख्नु पर्नेमा चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रहरुमा नियमित सरसफाई समेत नहुने निकै साँघुरो र अध्यारो खोरमा वन्यजन्तुलाई कैद गरेर राखिएको छ।
नेपालकै सबैभन्दा पुरानो र राज्यको स्वामित्वमा भएको संस्थाद्वारा संचालित सदर चिडियाखानाको कुल क्षेत्रफल केवल ६ हेक्टर रहेको छ। यही साँघुरो र मानव वस्ती बीच अवस्थित कोलाहालपूर्ण वातावरणमा ९४२ भन्दा धेरै संख्यामा स्तनधारी वन्यजन्तु र १४३ भन्दा धेरै प्रजातिका माछा, उभयचर, सरीसृप, चरा र स्तनधारी समूहका वन्यजन्तु रहेका छन्।
एकाध चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रलाई छोडेर अन्य चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रको कुरा गर्ने हो भने त्यहाँ वन्यजन्तुले के आहारा खान्छन् भन्ने सामान्य ज्ञान भएका कर्मचारी समेत छैनन्। केवल हचुवाको भरमा शाकाहारी वन्यजन्तुलाई घाँस, केरा, भात र पाउरोटी दिने गरिएको छ भने मांसहारी वन्यजन्तुलाई कुखुरा र राँगाको मासु दिने गरिएको छ।
उद्धार गरिएका वन्यजन्तुलाई कस्तो आहारा दिने गरिएको छ बुझ्न एकाध उदाहरणा काफी छन्। २०७४ सालमा सालक संरक्षण दिवसका अवसरमा एउटा कार्यक्रम संचालन भएको थियो।
उक्त कार्यक्रममा चिडियाखानाका निर्देशकले मन्तव्यको क्रममा व्यक्त गरेका थिएकी- 'वन्यजन्तु तस्करहरुको साथबाट समातिएका सालक जिल्ला वन कार्यालयले हामीलाई नै बुझाउने गरेको छ, हामीले ती सालकलाई अण्डा र पाउरोटी खान्छ कि भनेर खान दिने गरेका छौँ। तर खै किन हो ल्याएको पन्ध्र बीस दिनमा नै अधिकांश सालकहरु मर्ने गरेका छन्।'
सालकको मुख्य आहारा भनेको धमिरा, कमिला र साना कीराहरु हो। यो जनावरले दिनमै हजार पन्ध्र सयभन्दा धैरै कीरा खोजेर खान्छ। यदि ती उद्धार गरिएका सालकहरुलाई फेरी वनमै लगेर छोडिदिएको भए सायद उनीहरु वनमा आफैँ खानेकुरा खोजेर बाँच्न पाउथे होलान्।
रातको समयमा सक्रिए हुने वन्यजन्तुलाई दिउँसोको समयमा होहल्ला कम हुने र लुक्ने मिल्ने खालको ठाउँ चाहिन्छ। चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रमा घुम्न आउने मानिसहरुले नजिकैबाट हेर्दा, वन्यजन्तुलाई छुदाँ, चलाउँदा, यस्ता वन्यजन्तुको मानसिक र शारीरिक स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ।
यस्तै कारणले होला तालतलैया विकास तथा संरक्षण समितिद्वारा सञ्चालित चिडियाखाना र सदर चिडयाखानामा राखिएको स्याल, त्यस्तै वेतना सामुदायिक वनद्वारा सञ्चालित चिडियाखाना राखिएको वन बिरालो खोरमा, एक कुनाबाट अर्को कुना हिडिरहने र अस्वभाविक हाउँभाउ देखाउने गरेका छन्।
त्यस्तै सहिद स्मृति पार्कमा राखिएको लंगुर बाँदर र सदर चिडियाखानामा राखिएको ढेडु बाँदर मानसिक तनावका कारण सधैँभरी निराश भएर बसेको देखिन्छन्।
नेपालमा सञ्चालनमा रहेका चिडियाखाना र वन्यजन्तु उद्धारकेन्द्रमा वन्यजन्तुको मृत्युदर अत्यधिक रहेको छ। सदर चिडियाखाना बाहेक अन्य चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रमा वन्यजन्तु विज्ञ र स्वास्थ्यकर्मी नै छैनन् भन्दा हुन्छ।
सदर चिडियाखानामा पनि वन्यजन्तुमा लागेका गम्भीर प्रकृतिका रोगको परीक्षण गर्ने प्रयोगशाला र उपचार सामाग्रीको अभाव रहेको छ। सबैजसो चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रमा वन्यजन्तुलाई उनीहरुको प्रकृतिअनुसार प्राकृतिक आहारा उपलब्ध गराउन नसक्दा, वन्यजन्तु हेर्न आउने मानिसको संख्या अत्यधिक भई होहल्ला र धुलो भएका कारण, हिमाली क्षेत्रमा पाइने वन्यजन्तुको लागि चिडियाखानाको वातावरण उपयुक्त नभएका कारण, चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रको क्षेत्रफल कम भएको र कम क्षेत्रफलमा नै धेरै वन्यजन्तु राखिएको कारण अधिकांश वन्यजन्तु छिट्टै बिरामी पर्ने गरेका छन्।
यसका सथै उपचार नपाउँदा वन्यजन्तु अकालमा मर्न पुगेका छन्। चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रमा वन्यजन्तुको अत्यधिक मृत्यु दर रहेको कुरा स्वयं चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्र संचालक पदाधिकारीले समेत स्वीकार गर्ने गरेका छन्।
चिडियाखानामा वन्यजन्तुको अत्यधिक मृत्युदर छ भन्ने एउट बलियो उदाहरण हो, सुनसरी जिल्लाको धरानमा अवस्थित यलम्बर सामुदायिक बनबाट सञ्चालित चिडियाखाना। यस चिडियाखानामा सात/आठ वर्ष अघिसम्म ३० भन्दा धेरै स्तनधारी जनावर राखिएकोमा हाल केही स्तनधारी जनावर मात्र जीवित रहेका छन्।
वन्यजन्तुको उपचार र हेरविचार सम्बन्धी ज्ञान भएका वन्यजन्तु विज्ञ नेपालमा निकै कम संख्यामा रहेका छन्। वन्यजन्तुको पालन पोषण निकै खर्चिलो हुन्छ। वन्यजन्तुको उपचार र उपचारमा लाग्ने प्रविधि मानिसको उपचारमा लाग्ने खर्चभन्दा सयौँ गुणा महंगो हुन्छ।
वन्यजन्तुको बारेमा अध्ययन गर्ने, उनीहरुलाई कुनै अवरोध नगरी अवलोकन गर्ने उपयुक्त स्थान भनेको खुल्ला प्राकृतिक चिडियाखाना अर्थात् सरंक्षण क्षेत्र र राष्ट्रिय निकुञ्ज नै हो। त्यसैले केही अपवाद अवस्थामा जहाँ अति संकटापन्य वन्यजन्तुको अस्तित्व रक्षाका लागि कृत्रिम वातावरण सृजना गरी उनीहरुको संख्या बढाउन आवश्यक हुन्छ।
त्यस्तो अवस्था बाहेक अन्य अवस्थामा वन्यजन्तुको संरक्षण उनीहरुकै प्राकृतिक बासस्थानमा गर्नु पर्दछ।
यो पृथ्वी हामी सबैको साँझा हो। पृथ्वीमा बाँच्न पाउने हक जति मानिसको छ, त्यति नै हक अन्य वन्यजन्तुको समेत रहेको छ। चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रमा राखिएका वन्यजन्तु जो वनमा गएर आहारा खोजेर खान सक्छन् र बाँच्न सक्छन्, उनीहरुलाई जंगलमा स्वतन्त्र छोडिनु पर्दछ।
फेरी जंगलमा गएर बाँच्नका लागि संघर्ष गर्न नसक्ने वन्यजन्तुका लागि पनि डुल्ने खेल्ने पर्याप्त क्षेत्रफल भएको, घाम र पानीबाट ओत लाग्न मिल्ने र शान्तसँग बस्न सकिने ठाउँको व्यवस्था गरिनु पर्दछ। यति मात्र गर्न सकिए पनि सायद जिन्दगी भरी अध्यारो लकडाउनमा बस्न बाध्य वन्यजन्तुले बाँकी जीवन स्वतन्त्र भएर आफ्नै किसिमले बाँच्न पाउथे किॽ