अहिले संचार माध्यमहरुमा ब्लिच (सोडियम हाईपोक्लोराईट) र फिनाइल सहितको स्प्रे प्रयोगमा आएको समाचारहरु संप्रेसित भएका छन्। यातायातको साधन एवं मानिसहरुमा समेत यसको प्रयोग गरिएको समाचारहरु विभिन्न राष्ट्रिय दैनिकमा फोटो सहित छापिएका छन्।
यातायातका साधनको बाहिरी भागलाई किटाणुशोधन (डिसइन्फेक्ट) गर्नुको खासै औचित्य छैन। यो पूर्णतया श्रोत र साधनको दुरुपयोग मात्र हो। हो, भित्रि भागलाई किटाणुशोधन गर्न भने यसको प्रयोग गर्न सकिन्छ। डिसइन्फेक्टेन्ट टनेलको अवधारणाको कुनै अर्थमा पनि औचित्य छैन। यो फगत समय र पैसाको दुरुपयोग हो भन्दा अत्युक्ति नहोला।
सामाजिक दुरी कायम राखेमा, भीडभाड नगरेमा, हात नमिलाएमा र सर्जिकल मास्क प्रयोग गरेमा, हाछ्यु गर्दा वा खोक्दा, रुमाल, टिस्स्यु पेपरले अथवा कुइनोले नाकमुख छोपेमा, नियमित रुपमा साबुन पानीले हात मिचिमिची कम्तिमा २० सेकेन्ड धुनाले अथवा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग आदि गर्नाले हामी कोरोनाभाइरसको संक्रमणबाट पूर्णरुपले बच्न सक्छौँ। ज्वरो, रुघा, खोकी र सास फेर्न अप्ठ्यारो भएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ।
कोरोना भाइरस भुई तथा विभिन्न सतहहरुमा केही घन्टादेखि केही दिनसम्म सक्रिय नै रहन्छ। त्यसैले ती स्थानहरु नियमित सफा राख्नु अत्यावश्यक हुन्छ। यदि हामीले ती स्थानहरु सफा राखेनौँ भने हाम्रो हातको माध्यमबाट मुख, नाक वा आँखाबाट हामीलाई भाइरसको संक्रमण हुनसक्छ।
त्यसको लागि घरायसी सफाईका सामाग्रीहरु जस्तै- ब्लिच तथा डिसइन्फ़ेक्टेन्ट प्रयोग गर्न सकिन्छ। धेरै छुने सतहहरु जस्तै- ढोकाको ह्यान्डल र नब, टेबलको माथिल्लो भाग, कुर्सीको माथिल्लो भाग, बिजुलीको स्विच, फोन, ट्याब्लेट, ल्यापटप, टच स्क्रिन, किबोर्ड, रिमोट कन्ट्रोल, चर्पी तथा सिंक आदि नियमित सफा गर्नुपर्छ।
कुनै पनि डिसइन्फेक्टेन्टले तत्काल काम गर्दैन। त्यसको लागि सम्पर्क समय महत्वपूर्ण हुन्छ। यदि सरोकारवाला सरकारी निकायले अनुमति दिएको छ भने, बजारमा पाइने डिसइन्फेक्टेन्टहरु कुनै राम्रो, कुनै नराम्रो भन्ने हुँदैन। प्रयोग गर्नु अघि लेवल राम्रोसँग पढ्नु पर्दछ।
भुई तथा सतह सफा गर्ने चार चरण हुन्छन्। जसमा पूर्व-सफाई, किटाणुशोधन, सुख्खा कपडाले पुछ्ने, तथा पानीले धुने हो। तर धेरै धुलो जम्मा हुने सतहमा सबभन्दा पहिले साबुन पानीले धुनुपर्छ। त्यसपछि डिसइन्फ़ेक्टेन्ट प्रयोग गर्नुपर्छ र अन्तमा सुख्खा कपडाले पुछ्नुपर्छ।
साबुन पानीले सतहमा भएको धुलो तथा रोगका किटाणुहरु कम गर्दछ भने डिसइन्फ़ेक्टेन्टले किटाणुहरु मार्दछ र जीवाणुलाई निष्क्रिय पार्दछ। सफाई कर्मचारीले अनिवार्य व्यक्तिगत सुरक्षा कवच- जस्तै एकपटक प्रयोग गर्ने पन्जा र मास्क, पूरा बाहुला भएको सर्ट, फुल प्यान्ट, सम्पूर्ण कपाल छोप्ने टोपी, चस्मा तथा बुट लगाउनुपर्छ।
यदि पुनः प्रयोग गरिने पन्जा तथा अन्य सुरक्षा कवच छ भने त्यसलाई विसंक्रमण गरेर मात्र फेरि प्रयोग गर्नु पर्दछ।
घर तथा स्वास्थ संस्थामा भुईको किटाणुशोधन गर्दा समेत ब्लिचको प्रयोगमा थुप्रै सावधानी अपनाउनु पर्छ। बजारमा पाइने ब्लिचलाई पातलो बनाएर मात्र प्रयोग गर्नुपर्छ। यसको कन्सनट्रेसन ०.०५% भन्दा बढी हुनु हुँदैन।
पातलो बनाइएको ब्लिचले १० देखि ६० मिनेटसम्ममा सतहलाई किटाणुशोधन गर्दछ। ब्लिचले पुछी सकेपछि कम्तिमा १० मिनेट पछि सुख्खा सफा कपडाले भुई पुछ्नु पर्छ। नत्र लामो समय ब्लिच सतहमा रहेमा यसले सतहलाई समेत हानी पुर्याउन सक्छ। ब्लिचबाट उत्पन्न हुने ग्यासले हाम्रो शरीरलाई विशेषगरी फोक्सोमा नोक्सानी पुर्याउने हुनाले, कोठामा राम्रो भेण्टिलेसन हुनु जरुरी हुन्छ।
मानिसमा डिसइन्फ़ेक्टेन्ट स्प्रेको प्रयोग सर्वथा अनुचित छ। यदि हामीले व्यक्तिगत सुरक्षा कवच (पिपिई) लगाएका छैनौँ भने स्प्रेमा भएको रसायनले (सोडियम हाईपोक्लोराईट र फिनेल) त हाम्रो शरीरमा अनेकन नकारात्मक र प्रतिकुल असर पार्छ। ती रसायनले हाम्रो छाला, आँखा र फोक्सोमा समेत असर गर्छ।
ती सबै असरहरु तत्काल हुने हुन नकि लामो समयपछि। सरसफाइमा नियमित लामो समय काम गर्ने व्यक्तिहरुलाई भने स्वासप्रस्वासको दीर्घकालिन रोग लाग्न सक्छ।
हालै केही पत्रपत्रिकामा विशेषज्ञको हवाला दिदै ब्लिच र डिसिन्फ़ेक्टेन्टले भाइरस मर्दैन वा निष्क्रिय हुँदैन भन्ने गलत समाचार पनि पढ्न पाइयो। ब्लिच र डिसिन्फ़ेक्टेन्ट किटाणु, ढुसी तथा जिवाणुहरु मार्न वा निष्क्रिय पार्न प्रभावकारी हुन्छ। तर सम्पर्क समय कम्तिमा १० मिनेट हुनुपर्छ।
सफाई र डिसिन्फ़ेक्टेन्टको तालिका https://www.epa.gov/…/list-n-disinfectants-use-against-sars… लिंकमा पाउन सकिन्छ।
समग्रमा, डिसइन्फेक्टेन्ट टनेल र डिसइन्फेक्टेन्ट स्प्रेको यातायातको साधनमा तथा मानिसको शरीरलाइ किटाणुशोधन गर्न प्रयोग गर्नु सर्वथा अनुचित छ।
(लेखक नेपाल पोइजन इन्फरमेशन सेन्टरका कार्यकारी निर्देशक तथा नोबेल कलेजका संस्थापक र प्राज्ञिक निर्देशक हुन्।)