आजकल काठमाडौंमा धेरै उदार परिवार देख्छु म। उनीहरू आफ्ना छोरा-छोरी दुवैलाई एकसेएक स्कुल हाल्छन्। सबै कुरामा नभए पनि धेरै कुरामा पहिलाभन्दा स्वतन्त्रता चाहिँ छ।
हामीले चाहिँ धेरै कुरामा स्वतन्त्रता खोज्न परेको थियो घरमै आमा बुवासँगै। छोरालाई घर ढिलो आए नि हुने हामीलाई चाहिँ किन? भन्न परेको थियो।
यति हुँदाहुँदै पनि छोरी भएर पनि छोराजस्तै हुर्किएकी म! कपाल छोटो अनि 'टम ब्वोइ' खालकी भएर हो कि सानोमा मलाई आमाले बारम्बार छोरी भए पनि छोरा भएर जन्मिन पर्ने भन्नुहुन्थ्यो। घरको काम मलाई खासै आउँदैनथ्यो।
घरको काम अलि-अलि गर्नु परे पनि म जहिले पनि बाहिरकै काम गर्न अघि सर्थें। मेरो पनि विवाह होला छोरा-छोरी होलान् भनेर कमैले सोचेका थिए।
२२-२३ वर्ष हुँदै म एक्लै भारत, थाइल्याण्ड, सिंगापुर घुम्ने, नेपालमै पनि कता-कता घुम्न जाने भैसकेकी थिएँ। जिन्दगी पूरा बिन्दास! काम गर्ने, कमाउने घुम्ने! त्यतिखेर अहिलेजस्तो 'सोलो ट्राभलिङ' केही हुँदैनथ्यो, सामाजिक सञ्जाल थिएन, फेसबुक थिएन ! र पनि चलेकै थियो।
जता गए पनि मेरा साथीहरू टन्नै हुन्थे। अचानक त्यसै-त्यसै कहिलेकाहीँ साथीहरू कुरा गरेको म बुझ्दिनथें, मैले दोहोर्याए सोध्नुपर्थ्यो। कसैले मलाई परबाट बोलाए भने म आवाज सुन्थें तर मलाई नै इंगित गरेको भन्ने यकिन गर्न मलाई गाह्रो हुन्थ्यो।
मेरै आमाले पनि मलाई घरको काम गर्न अल्छी गरेर पो नसुनेकोजस्तो गरेकी होली भनेर गाली पो गर्नुहुन्थ्यो। केही साथीहरूले जिस्केर 'तँ कान राम्रो सुन्दिनस्, एकचोटि कान डाक्टरकोमा देखाउन जा' पनि भने।
म एकदिन अडियोलोजिष्टकामा जँचाउन गएँ। मलाई मेरो बुवालाई जस्तै 'माइल्ड बाइलेटरल सेन्सोरिन्युरल हियरिङ लस' रहेछ भन्ने कुरा पत्ता लाग्यो। डाक्टरको सल्लाह अनुसार मैले 'हियरिङ एड' लगाउनपर्ने रहेछ। त्यतिबेला मेरा आँखाबाट बर्रर आँसु झरे। आफ्नै सुरमा चलिरहेको मेरो फुक्काफाल जीवनशैली एकैछिनमा कता हरायो हरायो। बाटोभरि म रूँदै अब के गर्ने होला भन्ने कुरा सोच्दै घर आएँ। तर अरू उपाय थिएन मैले 'हियरिङ एड' लगाउनैपर्ने भयो, मैले लगाएँ। तर म सधैं कपालले ढाक्थें। म सुन्दिनँ भन्न मलाई संकोच लाग्थ्यो।
कुनै कुरामा ह्रास आउनु भनेको त्यो कुरा फर्किन नसक्ने गरी गुमाउनु हो। जन्मिँदै बहिरा भएर बाँच्नेहरूलाई कान सुन्दा कस्तो हुन्छ भन्ने अनुभव नै हुँदैन, बहिरोपन उनीहरूको लागि बानी परिसकेको हुन्छ। तर तपाईंले जन्मँदा कान सुन्ने भएर जन्मिनु भो र पछिको उमेर बढ्दै जाँदा श्रवण शक्ति गुमाउनु भयो भने नयाँ नर्मल अवस्थालाई स्वीकार्न र त्यससँग अभ्यस्त भएर बाँच्न गाह्रो पर्छ।
एक्कासि आइपरेको चुनौतीले जीवनमा कठिनाइ ल्याउँछ र त्यसलाई स्वीकार्न समय लाग्छ। 'हियरिङ लस' भएपछिको मेरो कथा यही नै हो।
मेरो श्रवणशक्ति कमजोर रहेको कुरा धेरैजसो मेरा नजिकका साथीहरूलाई थाहा थियो र उनीहरू मेरो सामुन्ने आएर मैले देख्ने गरी कुरा गर्थें।
बिहेको दिन थियो, मलाई चाहिँ तनाव के थियो भने उहाँको घरमा कसैले भनेको मैले सुनिनँ भने के गर्ने ! यही कारणले म हेपिनुपर्ने पो हो कि ? अनेक कुरा मनमा खेलेका थिए।
धन्न श्रीमानले साथै बसेर मलाई सघाउनु भो र पनि सधैंसँगै हुने कुरा आएन र म हरेकचोटि दोहोर्याएर सोध्नपर्यो भने म अलि कम सुन्छु भनेर भन्थें। एक जना भाउजुले मलाई परबाट बोलाउनु भयो मैले सुनिनँ र एक जना काकीले 'बुहारी अलिक कान कम सुन्छिन्' भनिन् र त्यो चाहिँ मैले सुनें फेरि। मनमा कता-कता चसक्क बिझ्यो। केही भन्ने कुरा आएन, भनिनँ पनि।
मेरो बुवाको पनि मेरै उमेरमा श्रवणशक्तिको ह्रास भएको रहेछ अनि हामी दिदीबहिनीको पनि त्यस्तै ! कति जनाले बिचरा भन्छन् होला तर मलाई त्यस्तो बिचरा लाग्दैन आफूलाई। तर म कान सुन्न गाह्रो भएकी महिला हुँँ भन्ने कुरा स्वीकार्न सुरूमा मलाई धेरै समय लाग्यो। म यो कुरो हुँदै होइन र नभैदिए हुन्थ्यो भनिरहेकी थिएँ।
अरूलाई यो कुरा थाहा दिन पनि लज्जित भइरहेकी थिएँ। यस्तो लाग्थ्यो मलाई एचआइभी वा त्यस्तै कुनै खतरानाक कुराको संक्रमण छ जुन कसैलाई भन्नुहुँदैन। 'हियरिङ एड' लगाएर हिँड्दा पनि आफूलाई स्वीकार्न पनि मलाई धेरै गाह्रो परेको थियो।
समय बित्दै छ। समयअनुसार म आफूलाई बदल्ने कोसिस गर्दैछु र मलाई जस्तो अप्ठ्यारो लाग्दैन। मलाई थाहा छ म पनि मेरो बुबा र बहिनीको जस्तै अवस्थामा पुग्नेछु। नलगाई नहुने अवस्था आउने छ। अहिले म मोडेरेटदेखि सेभेरे स्टेजमा छु। तपाईंको आँखाले प्रस्ट देखिएन भने चस्मा लगाएपछि प्रस्ट देख्नु हुन्छ तर हियरिङ एड लगायो भने सानो आवाज ठूलो सुनिन्छ तर त्यसको मतलब प्रस्ट सुनिन्छ भन्ने छैन।
मलाई टिभी हेर्दा सवटाइटल हेर्नुपर्छ, होइन भने म कति शब्द बुझ्दिनँ। कति कुरा सुनिएको छैन र सुनिएन भने हाम्रो दिमागले पनि यसमा ठूलो रोल प्ले गर्छ अर्थात् दिमागले त्यो शब्द बुझ्न छोड्छ अनि सुन्न पनि।
यो कुरा कोभिडको महामारी नहुन्जेल त्यति याद गरिएन। जब अहिले सबै जना मास्क लगाएर कुरा गर्छन त्यसपछि थाहा भो मास्कभित्रको आवाज बुझ्न मजस्तो मान्छेलाई कति गाह्रो हुँदो रहेछ ! कतिचोटि त फ्रस्टेसनको पोइन्टसम्म पुगियो।
जब तपाईंको सुन्ने क्षमता कम हुँदै जान्छ‚ तब सामान्य कुराकानी र संवाद चुनौतीपूर्ण हुँदै जान्छ। केही अक्षर तथा शब्दहरू मौन बसिदिन्छन् अनि केही बोलेकोजस्तो‚ बुझेकोजस्तो लाग्दछ। श्रवण शक्ति कम भएका व्यक्तिहरू त्यही अधुरा वाक्यहरू र अर्थलाई आफ्नो समझ र सर्न्दभ अनुरूप बुझ्न खोज्छन्। यो उपायले सधैं काम गर्छ भन्ने छैन। फलस्वरूप उनीहरू झन् एक्लो र कमजोर महसुस गर्न सक्छन्। जारी महाव्याधिले परिस्थितिलाई झन् जटिल बनाएको छ। मास्कको प्रयोगका कारण ओठको चाल पढेर विषयलाई बुझ्ने हाम्रो प्रयास झनै जटिल भएको छ।
श्रवण शक्ति सामान्य भएको मानिसको संसारमा हामी अट्न अति नै संघर्ष गर्नुपर्ने हुन्छ। यद्यपि‚ कालो बादल चाँदीको घेरा छ‚ हामी एक अर्कासँग भेट्दा भने अपनत्वको अनुभव गर्दछौं।
श्रवण शक्तिमा ह्रास आउने प्रक्रिया छिटो हुन्न। धेरै मानिसहरूले यस समस्यासँग जुध्न विविध उपाय अपनाउँछन्। केहीले कुरा कम सुने पनि आफ्नै तरिकाले विषयलाई बुझ्ने प्रयास गर्दछन्‚ तर एक दिन यस्तो अवस्था आइदिन्छ कि अन्दाज लगाउन समेत मुस्किल हुन्छ। श्रवण शक्ति कमजोर भएकालाई आफ्नो साथीभाइ वा जीवनसाथीका लागि यो कतिको मुस्किलको कुरा हो भन्ने कुराको हेक्का नहुन पनि सक्छ। निरन्तर रूपमा आफ्ना आफन्त वा साथीभाइलाई आफ्नो श्रवण सहयोगी बनिदिन वा उनीहरूलाई आफ्नो लागि कुरा बुझिदिन भन्न अनि सामान्य कुराकानीमा पनि बुझ्न कठिन भई गलत कुरा बुझ्नु हँसी मजाकको विषय अवश्य होइन।
मानी लिऔं कि तपाईंको एक मित्रको दृष्टि कमजोर छ‚ उनी हिँड्दा जहीँतहीँ ठोकिन्छन् र सूचनालाई राम्रोसँग पढ्न सक्दैनन् भने तपाईं उनलाई डाक्टरकहाँ लिएर जानुहुन्छ। विविध कारणले दृष्टि कमजोरीको जस्तै सामाजिक दबाबको परिस्थिति श्रवण शक्ति कमजोर हुदाँको अवस्थामा पाइँदैन।
हामी हाम्रो श्रवण शक्ति विविध सामाजिक संवाद‚ अन्तरसंवाद र सम्बन्धहरूमा प्रयोग गर्दछौं। श्रवण शक्ति ह्रास हुँदा हाम्रो पारिवारिक र सामाजिक सम्बन्धहरूमा संवाद कठिन र जटिल हुँदै जान्छ।
समयमै यस समस्याको निदान खोजिएन भने व्यक्तिको आत्मविश्वास‚ स्वतन्त्रता‚ निर्भीकता‚ खुलापन लगायतका निजी जीवनका विविध पाटाहरू पनि कमजोर हुँदै जान सक्छन्।
यसले व्यक्तिको सामाजिक‚ व्यवसायिक र शैक्षिक क्षमतामा पनि बाधा पार्न सक्छ। विगत तीन दशकमा भएका विभिन्न अध्ययन अनुसन्धानले श्रवण शक्ति सबल हुँदा जीवन सहज र गुणस्तरीय हुने देखाएको छ। म श्रवण शक्तिको ह्रासबारे भएका अध्ययन तथा नवीन अन्वेषणलाई पछ्याइरहेको छु। र म आशावादी छु कि केही वर्षमा केही नयाँ आविष्कार हुनेछ। भविष्यमा श्रव्य अंगहरूको प्रत्यारोपण पनि मेरो एक विकल्प हुन सक्दछ।