कोरोनापछि...१
फर्केर हेर्दा, एक दशकभन्दा बढी समय गुणस्तरीय शिक्षाको सम्भावना र युवा सशक्तीकरणमा जुटिरहेँ म।
हिमाल, पहाड, तराई-मधेसका कैयौं जिल्लामा आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेँ।
कोभिड महामारीको दोस्रो चरणमा भने मैले जन्मथलो तिलाठीमै केही समय बिताउने निर्णय गरेँ। प्रविधि विकासले भर्चुअल कार्यक्षेत्र यहीँबाट बनाउन पाएँ। लगभग दस वर्षअगाडि हामीले तिलाठीकै विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गरेका थियौं। विभिन्न कारणले त्यो प्रयोगशाला सफल रूपमा सञ्चालन गर्न सकिएको थिएन। अहिले आएर भर्चुअल कार्यक्षेत्र लागू गर्न सक्दा खुसी लागेको थियो।
महामारीका बेला गाउँसमाजको प्रत्यक्ष अवस्था बुझ्ने मौका पाउने उद्देश्यले गाउँ बस्ने निर्णय गरेको थिएँ। केही समयै विपन्न परिवारहरूमा ३-४ महिनादेखि वृद्ध भत्ता, एकल महिला भत्ता, अशक्त भत्ता नआउँदा वयस्क दुर्व्यवहार, खानपानसँगै अनेकौं समस्या भइरहेका सुन्न थालेको थिएँ।
नगद स्थानान्तरण कार्यक्रम खासै सकारात्मक लाग्दैन थियो मलाई। यो दुई-चार हजार रूपैयाँले के नै हुन्छ र भन्ने लाग्थ्यो। दुई-चार हजारभन्दा बढी पैसा म:म, चाउमिन, पिज्जा, बर्गर, कफी, जुससँगै विभिन्न महाद्विपीय खाना र पेयको परिकारमा एकैचोटि खर्चिन सक्नेले त्यो भत्ताले गाउँपरिवेशको आधारभूत समस्या समाधान भएको नदेख्ने रहेछ। देशविदेशको अनुभव वा सहरिया भोगाइको चस्माले गाउँ हेर्दा सीमित मात्र देखिने रहेछ। त्यहाँको परिवेश बुझ्न हामी माटोमै जोतिनुपर्दो रहेछ।
गाउँलाई अझै नजिकबाट बुझ्दै, आफ्नो दक्षता र सञ्जाल प्रयोग गरी केही गरौं भन्ने अठोट गरेँ। पहिले पनि गाउँमा कम्प्युटर प्रयोगशाला स्थापना, दाइजो प्रथाविरूद्ध चेतना, शिक्षक र युवा प्रशिक्षण, श्रमदान, सांस्कृतिक कार्यक्रम जस्ता काम गरिएको थियो। तर यसपालि माहोल फरक थियो।
पहिलो लकडाउनमा म काठमाडौं घरमै थिएँ। गर्भमा भएको पहिलो सन्तानको हेरचाह र उसको जन्मलाई व्याकुलतासाथ कुरेर महामारीबाट आफू र परिवारलाई जोगाउनु मेरो प्राथमिकता थियो। लकडाउन अन्त्यपछि जब म समाजसँग प्रत्यक्ष जुध्न थालेँ, अनेकौं प्रश्नले मलाई घेर्दै गए।
मानसिक तनाबले आत्महत्या गरेको, खान नपाएर मृत्यु भएको, पारिवारिक/सामाजिक शोषण अनि अन्यौलताको घडीमा प्रदेश १ र मधेस प्रदेशका विभिन्न पालिकाको प्रत्यक्ष अनुभव गर्दै पुर्ख्यौली गाउँ तिलाठीमा गएर एकछिन अडिएँ।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/rahat%20%281%29.jpg)
सबै निरीह छन्, म पनि निरीह थिएँ। त्यसैले मेरो काम र कर्तव्यमा कसैले प्रश्न गर्ने थिएन। तर आफूलाई निरीह ठान्नँ चाहिनँ। अग्रपंक्ति उभिएर तुफानसँग लड्ने साहसीहरूको पाइला पछ्याउने अठोट लिएँ। अनि प्रश्नहरूका घेरा चिर्दै म तिलाठीमा अडिएँ।
म अडेको के थिएँ, सहयोगी हातहरू अगाडि बढ्न थाले। समाजदेखि संसारसम्मका सक्नेले सहयोग, नसक्नेले आशिष दिए। सुरूमा राहतस्वरूप खाद्यान्न बाँड्ने प्रस्ताव आउँदा म दोधार भएँ।
एक वर्षअगाडि, पहिलो लकडाउनको केही दिनपछि अघिल्लो कार्यस्थलको भर्चुअल बैठकमा ठ्याक्कै यस्तै अन्यौलता भएको थियो। म एक विकासी एजेन्सीमा काम गर्थेँ र त्यो बैठकको एजेन्डा नै समुदायमा महामारीका बेला हाम्रो योगदान के हुने भन्ने थियो।
एक जना सहभागीले हामीले खाद्यान्न वितरण गर्नुपर्ने हुनसक्छ भने। अर्काले नेपाल देश गरिब हो, नेपाली गरिब छैनन्, त्यसैले कसैलाई खाद्यान्न अभाव पर्दैन भनेर ठोकुवा नै गरे।
कैयौंपटक सुनेको कुरा हो मैले। पहिला पहिला मलाई पनि यही नै सत्य लाग्थ्यो। पछि थाहा भयो, म कुवामा सीमित भ्यागुता रहेछु।
केही वर्षअगाडिको कुरा हो। हामी एक सय जनाभन्दा बढी सहकर्मी श्रमदान गर्न दाङको तुलसीपुर गएका थियौं। श्रमदानको सिद्धान्तअनुसार एक-दुई जना गरेर छुट्टाछुट्टै समुदायकै घरमा बस्ने र उहाँहरूले खाने नियमित खानेकुरा नै खानुपर्ने हुन्थ्यो। समुदायमा विभिन्न आर्थिक र सामाजिक अवस्था भएकाको प्रतिनिधित्व हुन्छ। यसरी समुदायमा छुट्टाछुट्टै बस्दा समग्र समुदायको वस्तुगत स्थिति थाहा हुन्छ। यसले हामी अतिथि होइन, समुदायको हिस्सा बन्न चाहेको र हाम्रो भावना साझा रहेको सन्देश पनि दिन्छ।
म र सहकर्मीहरू त्यही पालिकाको सरकारी विद्यालयमा पढ्ने एक विद्यार्थीसँगै एक घन्टा जति हिँडेपछि उनको घर पुग्यौं। घर पुग्दा अँध्यारो भइसकेको थियो। हामी सबै जना माटोको भान्सा घरमा पस्यौं। भान्सामा उनका बुवा, आमा, दिदी र बहिनीसँग परिचय गराए। हामी तीन जना चुलो छेउमा बसेर आगो ताप्न थाल्यौं।
६ जना बस्ने ठूलो डाइनिङ टेबलजत्रो थियो भान्सा। कालो हुन लागेको सानो हरियो स्प्राइटको बोतलमा खाने तेल थियो। नुन र केही मसलाका ससाना थैली र केही पुराना भाँडाकुँडा। बाबुले खेतबाट बन्दा टिपेर ल्याएका थिए। चुलोमा तातिरहेको पुरानो कराईमा आमाले एक चम्चा जति तेल हालिन्। नुन र पानी मिलाउँदै तरकारी पकाइन्। हामीले त्यही तरकारी र भात खायौं।
सामान्यतया त्यो घरमा एक छाक चाहिँ भात र नुन मात्रै खान जुर्दो रहेछ। घरका बाबु पहिला कमैया रहेछन्। उनका आमाबाबु पनि कमैया। कमैया हुँदा दिनभरि काम गरेर एक छाक मात्रै खान पाउँथे। रातमा रक्सी मात्रै पिउन पाइन्थ्यो रे। तीन दिनसम्म पानी मात्रै खाएको सम्झना पनि सुनाए।
'माओवादीले कारबाही गर्न थालेपछि यो प्रथा अन्त्य भएको' भन्दै उनले आज आफूहरू कोही पनि कमैया नभएकोमा सन्तोक माने।
उनकी जेठी छोरीले १० कक्षा उत्तीर्ण गर्न सकिनन्। तर कृषि उद्यममा काम गरेर मासिक १२ हजार रूपैयाँ कमाउँछिन्। छोराले आफूलाई चाहिने पढ्ने सामग्री बिदाको दिन मजदुरी गरेर पूरा गर्छन्। सानो बारी रहेछ। सुँगुर पनि पालेका छन्। आमाले घरबारी र सुँगुर हेरचाह गर्छिन्। बुबा मजदुरी गर्छन्। मलाई उनीहरूको जीवनमा आधारभूत आवश्यकता नै पूर्ति नभएको लागिराखेको थियो। तर उनीहरूले पहिलाभन्दा धेरै राम्रो भएको भनिरहँदा मन पोलेको थियो।
बुबा चुलो छेउमा पुरानो फाटेको चटाइ ओछ्याएर भान्सामै सुते। तल सानो गोठ थियो। त्यसकै माथि दुई कोठा बनाइएको थियो। आमा दिदी र सानी बहिनीहरू पहिलो कोठाको भुइँमा सुते। पर्दा उठाएर हामी अर्को कोठामा पुग्यौं। भाइ चटाइमा सुत्ने तरखर गर्न थाले। कुनामा नयाँ खाट र कम्मल देखेँ मैले। हाम्रा लागि व्यवस्था गरिएको रहेछ।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/rahat%20%283%29.jpg)
नयाँ खाट र कम्मल देखेपछि मन भारी भयो। सहकर्मीको अवस्था पनि उस्तै थियो। हाम्रो मुखबाट केही शब्द निस्केन। एकअर्कालाई हेर्न पनि सकेनौं।
रात बित्दै गएपछि पानी परेर एकदमै चिसो हुन थाल्यो। हामी दुवै अलि ज्यांगो भएकाले कम्मलले हामीलाई न्यानो दिन सकेन। कोट लगाएर सुत्नुपर्यो भनेर उठेँ। देखेँ, भाइ केही नओढी चटाइमा सुतिराखेका थिए। पूरै परिवार त्यसरी नै मस्त सुतिराखेका छन्। गरिबी र दिनभरिको मजदुरीको तापले रातको चिसोपन महसुस नै नभएजस्तो। ओछ्यानभन्दा निद्रा प्यारो- साँच्चै रहेछ!
लकडाउनका बेला तिलाठीसँगै धेरै गाउँको अवस्था जीर्ण भइसकेको थियो। दिनभरि मजदुरी गरेर छाक कमाउने लाखौं परिवार कामबिहीन भए। जीविकोपार्जनको विकल्प थिएन। अशक्त, वृद्ध, एकल महिलाले पाउने भत्ता चार महिनादेखि आएको थिएन।
बिहे, मुण्डन, ब्रतबन्ध, यज्ञ, पूजाजस्ता शुभकार्यमा सामान वा सेवा बेचेर आम्दानी गर्नेहरूलाई मर्का पर्यो। लकडाउनले यी सबै कार्यक्रम निषेध थिए। जीवन र मृत्यु स्थगन गरेर नहुने भए पनि सार्वजनिक रूपमा सामाजिक कार्यक्रम मनाउन स्थगन नै थियो। गरिबी रेखामुनि रहेका असंख्य परिवारलाई रासन राहतको आवश्यकता थियो।
सैद्धान्तिक रूपमा राहत बाँड्ने प्रक्रिया त्यति सकारात्मक नमाने पनि मैले सबै कुरा मूल्यांकन गरी खाद्यान्न बाँड्ने काममा सहयोग गर्ने भएँ। पहिले भूकम्प जाँदा पनि सिन्धुपाल्चोक र दक्षिण ललितपुरमा राहत बाँड्ने काममा संग्लग्न थिएँ। त्यसपछि कहीँ कतै मैले राहत बाँड्ने काममा योगदान गरेको थिइनँ।
यसपालि असाधारण समय थियो। वृद्ध, एकल महिला, लैंगिक तथा अल्पसंख्यक समुदाय, शारीरिक/मानसिक अशक्तता, आर्थिक विपन्न, भूमिहीन, श्रमिकजस्तै कैयौंको अवस्था लामो लकडाउनले जटिल बनेको थियो। मेरो सक्रियतामा प्रदेश १ र मधेस प्रदेशमा दस हजारभन्दा बढी व्यक्तिलाई लाभ हुने गरी राहत वितरण सफल भयो।
म भन्न सक्दिनँ, सय प्रतिशत लाभग्राही वास्तविक थिए। तर राहत वितरण आवश्यक थियो। समय सामान्य हुँदै गयो। दाता र समर्थकप्रति कृतज्ञ भई कमीकमजोरी स्वीकार गर्दै राहत वितरणका लागि थप सहयोग आवश्यक नपर्ने भनेर यो काम समापन गर्यौं।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/rahat%20%282%29.jpg)
राहत वितरणले मलाई महत्त्वपूर्ण पाठ सिकायो- कुनै कामको औचित्य छ कि छैन भनेर हामीले भन्न मिल्दैन। कुनै पनि परिवेश र सन्दर्भले निर्णय लिने क्षमता प्रभाव पार्न सक्छ। एउटै नजरियाले समाज हेर्न नमिल्ने रहेछ।
रासन राहत बाँड्नुको सकारात्मक र नकारात्मक दुवै पक्ष छ। असामान्य समयमा तर्कवितर्क गरेर समय बर्बाद गर्नुभन्दा तत्काल सकेको प्रतिक्रिया गरिहाल्नु उचित हुन्छ।
यो सत्य हो- संकटअघिको व्यवस्थापन संकटपछिको प्रतिक्रियाभन्दा धेरै किफायती हुन्छ। आवधिक रूपमा दोहोरिने ज्ञात प्रकोपका लागि त हामी तयार छैनौं भने महामारीका लागि कत्ति पनि तयार नरहेको भनेर सहजै अनुमान गर्न सकिन्छ।
यस्तो काम गर्दा यदि हामीले समुदायमा उच्च प्रभाव भएका व्यक्तिहरूलाई पहिचान र व्यवस्थापन गर्न सक्यौं भने राहत सामग्री खाँचोमा परेकासम्म पुग्ने सम्भावना धेरै हुन्छ। उचित व्यवस्थापन प्रणाली र स्वयंसेवक परिचालन, योजनाअनुसार सबै कुरा सुनिश्चित गर्नाले वितरण प्रभावकारी हुन्छ।
अन्त्यमा तत्काल आवश्यकता पूर्ति हुनासाथ हामीले थप वितरण आवश्यक नरहेको भनी दातालाई तत्काल सूचित गर्नु आवश्यक हुन्छ। कोषको उपलब्धताको अवस्था निरन्तर हुनसक्ने भए केही दिगो वा अन्य आवश्यक कार्यक्रम पहल गर्न सल्लाह दिनु उचित हुनेछ।
स्मरण रहोस्, राहत वितरण दिगो कदापी होइन, यो आपतकालीन समयमा तत्कालीन उद्देश्यका लागि मात्र हो।
क्रमशः
शैलेन्द्र झा(शैलेन्द्र झाका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @sailjha