बेड नं. १२, तेस्रो तल्ला, नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि।
म डायरीमा केही लेख्दै छु। नर्सले किमो चलाएको देब्रे हात चाहिँ हल्लिनु हुन्न ल भन्दै हुनुहुन्छ। नचिनेका बिरामी र बिरामी कुरुवा फरक भावका साथ मन्द मुस्कानसहित मलाई बेलाबेला हेरिरहनु हुन्छ। जबकि अरू कोही बिरामी केही लेख्ने पढ्ने गरिरहनु भएको छैन।
राजीव गान्धी अस्पताल (भारत) मा पनि म किताब पढी बस्दा डाक्टरहरूले सबै बिरामीहरू माझ उदाहरणको रूपमा प्रस्तुत गर्नु भएको थियो। मलाई आजसम्म आउँदा, म बिरामी छु भन्ने कुनै भाव मनमा छैन। यो पढ्दै गरेको पुस्तक र लेख्दै गरेको डायरी चाँडो सक्नु छ, बस यत्ति। म यहाँसम्म आउँदाका विगत ५ महिनाको झलझली याद आइरहेछ।
म मेरो घाँटीमा गिर्खा आएको जाँच गर्न मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल गएँ। त्यहाँ रगत जाँच एफएनएसी गर्ने भनियो तर गिर्खा बाहिरबाट रगत निकालियो। नजिकको एक डाक्टर साथीले गिर्खा भित्रबाट रगत निकाल्दा, रगत निकाल्ने भाग बेहोस गरिन्छ, दिनभर गाह्रो हुन्छ भन्नुभएको थियो। तर सो हस्पिटलका प्राविधिकले सामान्य रूपमा निकाल्ने हो भने।
मलाई त्यो गिर्खा बाहिरबाट भएको भने र ‘चिन्ता नगर्नुस्, तपाईंलाई केही भएको छैन’ भनियो। ७ दिनका लागि औषधी दिइयो, खाएँ। निको भएन। पछि अर्को सरकारी हस्पिटल गएँ, पहिलाको जाँच एफएनएसी नभएको भन्नुभयो र म पनि झनै प्रस्ट भएँ। सो सरकारी अस्पतालमा नाक कान घाँटीको डक्टरलाई देखाउन भनियो। डक्टरले अप्रेसन गरेर गिर्खा निकाल्न तयार हुनुहुन्छ भनेर सोध्नुभयो। मैले सकेसम्म चाँडै अप्रेसन गर्न चाहन्छु भनेँ। गिर्खा निकाल्नु मिल्दैन थ्यो भने किन हो कुरा गरे तर काम गरेनन्?
एफएनएसी रिपोर्ट आयो, खास केही देखा परेन भन्नुभयो। सुरुवातमा टिबीको शंका गरियो, होइन रहेछ। जाँच अझै अगाडि बढाउन भने। त्यसैबिच ढाड कम्मर अति दुख्न थाल्यो। नाक, कान, घाँटीको डक्टरलाई भने. उनले एमआरआई गर्न र ढाड कम्मर सम्बन्धी डाक्टरलाई देखाउन भने। त्यसै गरे। एमआरआई रिपोर्ट सामान्य आयो तर ढाड कम्मर सम्बन्धी डाक्टरले थेरापी गर्न पठाए। ती डक्टरले रिपोर्टमा केही नदेखिँदा किन मलाई फिजियोथेरापीका लागि पठाउनुभयो? सोचिरहेछु।
यहाँ पनि म माथि डक्टरबाट गलत सिफारिस भयो। नाक-कान-घाँटीको डक्टरले क्यान्सर डाक्टरलाई भेट्न सिफारिस गर्नु पर्नेमा ढाड-कम्मर सम्बन्धी डाक्टरलाई भेटाए। एमआरआई रिपोर्ट सामान्य आउँदा पनि ढाड कम्मर सम्बन्धी डाक्टरले थेरापी गर्न पठाए। एफएनएसीबाट केही पत्ता नलागेपछि बायप्सी गरियो। ९ दिनमा रिपोर्ट आयो तर केही पत्ता नलागेकाले फेरि थप जाँच गर्नु पर्ने भयो। रिपोर्ट आउन १२ दिन लाग्ने भनियो। ६ दिनमा पूरै रिपोर्ट आउँछ भनिएको २० दिन लाग्ने भयो। हामी प्रविधिमा कमजोर र ढिला छौँ। त्यसमाथि सरकारी भएकोले बोली बच्चन रुखो र समयमा सेवा नपाइन सक्ने त पहिला नै मानसिकता बनाएर गएको थिएँ।
यसैबिच स्वास्थ्य संस्थामा कार्यरत नजिकबाट चिनेका एक डक्टरलाई भेट्न गएँ। कति वर्षको हुनुभयो भन्नु भयो। मैले ३७ वर्ष भनेँ। ‘अहो! यति कलिलै उमेरमा...’ भन्ने वाक्य बोल्नु भयो। अनि फेरि सोध्नुभयो, ‘बच्चाबच्ची कत्रा छन्?’
सानो बाबु १ वर्ष पूरा भयो भन्न भ्याइ नसक्दै क्यान्सर पनि हुन सक्ने भन्दै उहाँले तुरुन्त भारतको केही अस्पताल मध्ये एउटामा गइहाल्नु भन्नुभयो। सल्लाह आउँछ, स्वास्थ्य सबैभन्दा ठुलो धन हो, जहाँ गएर भए पनि जति खर्च गरेर भए पनि उपचार गर्नै पर्छ भन्ने। तर आपत् आइलाग्ला भनेर कुनै बैंक ब्यालेन्स थिएन। परिवारलाई भावनात्मक चिन्तासँगै पैसा कसरी जुटाउने, उपचार गर्न कुन अस्पताल जाने र कसरी जाने भन्ने यावत कुराले सताउने रहेछ।
म आफैँ पनि जे गरे पनि देशमै गर्नुपर्छ, विदेश जानु हुन्न अनि उपचार पनि देशमै गर्नुपर्छ भनेर बोल्ने, लेख्ने व्यक्ति हुँ। पैसा टन्न हुनेहरू उपचारका लागि विदेश जाने हुन भन्ने लाग्दथ्यो तर पैसा भएका हरू मात्र उपचारका लागि भारत वा अन्य देश गएका होइन रहेछ भन्ने गहिरोसँग महसुस गरेँ।
म रहन्नँ कि अब भन्ने भएपछि मान्छे भावनामा आउँछ। कहाली लाग्दो समयमा नेपालका अस्पतालहरूले गर्ने बेवास्ता, लापरबाही र डक्टरहरूको कमाउने मात्रको ध्यानमा लागेको थाहा पाएपछि हजारमा लोभ गर्ने मान्छे जोसँग पनि हात फैलाएर, उपचारका लागि घरबारी बेचेर भए पनि करोड परे पनि खर्च गर्न तयार हुने रहेछ।
म आज पनि काठमाडौँमा डेरा गरी बस्दै आफ्नो पेसाबाट आएको सीमित आम्दानीले परिवार पाल्दै आएको एक आम मान्छे हुँ। आम मान्छे पैसा धेरै भएर भारत वा अन्य देश उपचार गर्न गएका होइनन्। पुर्खाले जोडेको सम्पत्ति बेचबिखन गरेर र आफूले पसिना बगाएर, कम खाएर कमाएको सम्पत्ति सक्काउने कसैलाई रहर भएर विदेश गएका हुँदैनन्।
मलाई क्यान्सरसँग सम्बन्धित त्यति ज्ञान थिएन किनकि क्यान्सर लागेकाहरूसँग नजिकबाट साक्षात्कार भएको पनि थिएन। क्यान्सर लागेको रहेछ भने पक्का मरिन्छ भन्ने नै थियो समाचारहरूमा पनि बढी उपचार गर्दा गर्दै किमोको असरले जीउ गल्दै गएको र डक्टरले मर्ने मिति तोकेर घर पठाएको जस्ता कुराहरू पढेको सुनेको थिएँ। मेरो ज्ञानमा करोडौँ खर्च गरेर विदेशी ठुला देशमा गएर उपचार गरे मात्र बचिन्छ भन्ने थियो। सानो घाउ चोट, सामान्य रुघा-ज्वरो आउँदा नै आत्तिएर अस्पताल पुग्ने म साँच्चै धेरै नै आत्तिएँ। उपचार गर्न अस्पताल पुगेकाहरू चौथा स्टेज भएको र अब केही दिन मात्र रहने। उपचार सुरु गर्ने कि नगर्ने? उपचार सुरु गरेपछि किमो र औषधिका कारण ज्यान गल्दै जाने र सक्रिय हुन नसक्ने कुरा सुनेको थिएँ। किन किन मरिन्छ भन्ने मात्र लागिरह्यो।
श्रीमतीलाई घाँटी परीक्षण गर्न जाने भनेको थिएँ। बा-आमालाई फोन गर्न खास आँट आएन। भाइलाई चाहिँ जे पनि हुन सक्छ भनेको थिएँ। बा-आमाले एक पटक बोल्ने कुरा गर्नु भएको थियो। मन भक्कानिएर आयो। छोटो बोलेँ र बाथरुम छिरे। त्यसै रुन आयो। चैत्र १३ गतेको रात ११:४४ बजे टिबी र क्यान्सरका लक्षणहरू बारे गुगल गर्दै थिएँ। मन त्यसै भारी भएर आयो। डायरी झिकेँ। कानभरि दिउँसो ती डक्टरले भन्नुभएको कुरा गुन्जिरह्यो।
मृत्यु शाश्वत हो तर अब तिमी मृत्युको नजिक छौ भनेर कसैले भनिदियो आज। मरण सामान्य हो तर ३७ वर्षकै उमेरमा अल्पायुमै म नरहन सक्छु भन्ने मात्र लागिरह्यो। बा, आमा श्रीमती साना छोराछोरी, दिदीभाइ, बहिनी परिवारजन, इष्टमित्र, नजिकका शुभचिन्तक सबै एकै पटक दिमागभरि भए।
आज यति जनाको मृत्यु भयो भनेर रेडियो र अखबारले भन्ने खबरभन्दा स्वयंको मृत्यु नजिक छ भनिनु नितान्त फरक कुरा रहेछ। मृत्युको दिन गन्नु, आफूलाई तयार राख्नु कत्ति भयानक कुरा हो! मृत्युबोध अनि महाप्रस्थान साँच्चै भयंकर कुरा रहेछ प्रधानमन्त्री ज्यू, हजुर पनि मृत्युको मुखमा पुगेर दोस्रो जीवन बाँचिरहनु भएको छ। सायद मृत्यु नजिक आइरहेछ भन्ने लाग्नु कति भयंकर कुरा हो बुझ्नुहुन्छ सायद।
मैले शरीरका सबै अंग ठिक २ वर्ष पहिला जन्मदिनकै दिन पारेर दान गर्ने निर्णय गरेको थिएँ। अंग दान गरिनुपर्छ भन्ने अभियानमा पहिलाबाट नै थिएँ। बालाई अंग दान गरेको कारणले दान गरिएको अंग झिक्न मृत शरीर चिर्नु पर्ने हुन्छ र मन्जुर हुन चिठी लेखेँ। बालाई नआत्तिई दाहसंस्कार गर्नु र मरे पछिका मेरा इच्छा यो छन् भनेर लेख्न आयो। आमा मलाई केही भयो भने २ नातिनी १ नाति छ, बुहारी छिन् र अरू सन्तान सम्झनुस्, मलाई केही भयो भने नरुनुस् है आमा, यत्ति लेखेँ। भाइलाई परिवार सबै सधैँभरि मिलेर बस्नु भनेँ। श्रीमतीलाई म नरहँदा हजारौँ अप्ठ्यारा आउँछन् भन्ने लागिरह्यो। तैपनि हार नखानु, रातो लगाउनु, बच्चाको शिक्षामा कुनै सम्झौता नगर्नु, लिनु दिनु यति छ भनेर हिसाब लेखेँ। मेरो हर दुःखमा हामी छौँ भन्ने ससुराली परिवारलाई बालबच्चालाई ध्यान दिनु है भन्न आयो। बा, आमा, श्रीमती, भाइ, बुहारीलाई मिलेर बस्नु- यत्ति लेखेँ। छोरीहरूलाई २ दिदी बहिनी झगडा नगर्नु। मम्मीसँग पैसा छैन, लेख्न, पढ्न चाहिने भन्दा बाहेक केही कुरा नमाग्नू, ज्ञानी अनि असल बन्नु राम्रो पढ्नु, अब आउने वर्षदेखि नुवाकोट फर्केर सरकारी स्कुल पढ्न जाने हो नाइँ नभन्नु, यत्ति लेख्न आयो।
आँखाभरि मृत्युका तस्बिर र मनभरि आफू नरहेपछि आफूसँग प्रत्यक्ष जोडिएकाहरूको भविष्य के होला भन्ने चिन्ताले बहुतै सताउने रहेछ।
रातभरको अनिदो, भोलिपल्ट १४ गते मेरो जन्मदिन हो, श्रीमतीको अंगदान गर्न बाँकी थियो मेरो जन्मदिनको दिन सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर गई उनको सम्पूर्ण अंगदान गर्न जाने योजना थियो। हामीले केही अघि नै अस्पतालमा आउने भनी समय पनि लिएका थियौँ।
राजीव गान्धी अस्पतालमा नेपाली बिरामी आकर्षण गर्न नेपाली कर्मचारी नै राखिएको रहेछ। उनैले भनिन्- जहिल्यै जसो १७०० बिरामी नियमित उपचार प्रक्रियामा सोमबजार बसिरहेका छन्। राजीव गान्धी अस्पताल आसपास सबैले नेपाली बिरामीले जसै मैले पनि पाइलैपिच्छे दलाल भेटेँ। अहिले भर्खर नरम स्वरमा परिचय गर्दै गरेको व्यक्ति कति छिट्टै दलाल हुन सक्ने रहेछ। कोठा भाडामा लिन दलाल, हस्पिटलमा डाक्टरसँग चाँडै भेटाइदिने दलाल, विमानस्थल र बस स्टेसनबाट सुरु भएर त्यहाँ रहँदा र उपचार गरेर फर्कँदासम्म दलाल भेटिने। जुन काम गर्ने बढी नेपाली नै छन्। बिरामी भएर उपचार गर्न जाँदा दलाललाई बुझाउनुपर्ने अवस्था आउँदा साह्रै दिक्क लाग्ने रहेछ। गरिब देशको नागरिक हुँदा पुरापुर रकम तिरेर लिइने सुविधामा पनि भारतमा रहुन्जेल आउनु नपरेको भए हुन्थ्यो भन्ने महसुस चाहिँ गरिरहेँ।
अस्पतालभित्र चाहिँ धेरै राम्रा पक्ष पाएँ। एक जना बिरामीको बारेमा ५ जना डक्टरको टिमलाई थाहा छ। नेपालमा १ जना बिरामी, १ डक्टर, १ नर्स। नर्स पनि अलराउन्डर वाला। नेपालमा टिमले निर्णय गर्ने भन्ने चाहिँ कमै भेटिन्छ। पेट स्क्यान गर्न भारतमा भारु १० हजार (नेपाली १६ हजार रुपैयाँ)। नेपालमा पेट स्क्यानको किन ७० हजार लाग्ने?
सरकारीमा समय नै नपाइने। डाक्टरहरू पनि निजीमा पठाउन रुचाउने, कमिसन पाइने कुरो जो छ। भारतमा पेट स्क्यान गरेको २ घण्टामा रिपोर्ट पाइने, मेसिन त्यही हो। नेपालमा पेट स्क्यानको रिपोर्ट ७ दिन लाग्छ। यदि चाडै चाहिन्छ भने १० हजार बढी तिर्नुस् भनिदिने। बिरामी आत्तिएको हुन्छ। पेट स्क्यान वालालाई थाहा छ, बिरामीले तिर्छ भन्ने। यसलाई लुट नभनेर के भन्ने? जबकि त्यो रिपोर्ट केही घण्टामै तयार भइसकेकै हुन्छ।
राजीव गान्धी अस्पतालका व्यवस्थापक तहको एक व्यक्तिसँग साक्षात्कार गर्ने अवसर जुट्यो। उहाँको अनुसार नेपाली नयाँ बिरामी दैनिक लगभग ४६ जना जाने रहेछन् र एक वर्षको ७ अर्ब नेपाली रुपैयाँ राजीव गान्धी अस्पतालमा बुझाउने रहेछन्। विशेष गरी प्राणघातक रोगको उपचारका लागि जाने गरेको पाइन्छ। सोमबजारका सडक गल्लीमा भेटिने नेपालीसँग कुरा हुँदै गर्दा त एकैछिन भए पनि म नेपालमै छु झैँ लाग्छ, सबै बेसै चलिरहेछ झैँ लाग्छ। जब एक्लो कोठामा एक्लो म खटियामा पल्टन्छु, बाँच्छु कि मर्छु भन्ने मात्र कुरा खेलिरहन्छ।
शिरदेखि पाउसम्म गलेको र आँसुले रुझेकाहरूको वेदनाको कथा कत्ति दर्दनाक छ सोमबजारमा! मेरो १७ दिनको सोमबजारको बसाइको क्रममा पूरै रोहिणी र सोमबजार घुम्दा भारतको राजीव गान्धी नजिक सोमबजार पूरै नेपालीहरू भाडामा बसेर भरिएको भेटेँ।
अहिले नेपालमा सरकारी आँकडा अनुसार १००० मा १ जना लाई क्यान्सर छ भन्ने देखिन्छ। तर यो आँकडा नेपालमै उपचार गराइरहेका मात्रको हो भन्ने लाग्छ। क्यान्सर भएर भारत सिधै जानेको आँकडा पनि हेर्ने हो भने २५० मा १ जना मा क्यान्सर भएको देखिन्छ। यो अझै डँडेलो जसरी फैलिरहेको छ। यता नेपालका सरकारी डक्टरका आफ्नै दुख छन्।
प्राणघातक रोग लागेका बिरामीलाई झर्को लाग्ने, रिस उठ्ने, आत्तिने भइरहेको हुन्छ। उपचार क्रममा कतिलाई त एन्जाइटी, डिप्रेसन सम्म हुन्छ। डक्टरको काउन्सिल, परिवार र बिरामीलाई भेट्ने सबैको सकारात्मक उत्प्रेरणा आवश्यक हुन्छ। परिवारका अन्य सदस्यले बिरामीको अगाडि रोइदिने, कठैबरा भन्ने, दुःख पायौ भन्ने नगरिदिनु होला।
सल्लाह नमागेको पक्षबाट फटाफट सल्लाह आउने तर पैसा तिरेर सल्लाह लिन गएको डाक्टर कम समय दिने र कम बोल्ने, बिरामीलाई प्रभावकारी सञ्चार नगर्ने जस्तो कामले बिरामीको मनोबल घट्ने र बिमार बढ्ने भएको छ। जो कोही बिरामीलाई औषधिसँगै डक्टरको सकारात्मक उत्प्रेरणा आवश्यक छ। डक्टर साब मेरा बा, आमा, श्रीमतीभन्दा हजुर माथि हुनुहुन्छ भनेर अस्पताल आएको हुँ, मलाई हजुरले तपाईंको रोग, उपचार प्रक्रिया, सावधानी अपनाउनु पर्ने अवस्था बताइदिनु पर्यो। बिरामीका प्रश्न, जिज्ञासा सोध्ने र सुनिदिनु पर्यो।
अर्को टिठ लाग्दो अवस्था, हाँसेर सेवा दिने भन्ने त कुनै अस्पतालमा पनि छैन। निजी होस वा सरकारी, डक्टर नर्स वा कोही कर्मचारी, मुस्कान पाउन छुट्टै दस्तुर तिर्नुपर्छ भनिदिए पनि तिर्ने थिए होला बिरामीले झैँ लाग्छ। आफ्नै देशको एक हस्पिटलमा त मलाई सामान्य जानकारी लिन खोज्दा झपारेर घचेट्दै बाहिर निकाले। मैले एउटा रोग पहिचान हुनुपूर्व ६ जना डक्टरलाई भेटेँ। भारतमा रोग पत्ता लागेपछि म उपचार प्रक्रिया नेपालमै गर्छु भनी फर्किएँ। निदानका उपाय सोध्न फरक अस्पताल गएर थप ७ जना डक्टरलाई भेटेँ। जबकि दशौँ जना डक्टरलाई भेटेपछिको विश्वास, जुन एक जना डक्टर वा एउटा टिमले पनि दिन सक्नु पर्ने हो।
म राजीव गान्धीमा रोग पहिचान भएपछि मेरो आर्थिक अवस्था कमजोर भएको कारण उताबाट नेपाल आउने कुरा डा.दिनेश भुरानीलाई भनेँ। उहाँले आफैँले पढाएको विद्यार्थी भन्दै नेपालको सरकारी अस्पतालका डक्टरको नाम सिफारिस गर्नुभयो। म खर्च पनि कम लाग्ने भएकाले निकै खुसी हुँदै फर्किएँ। मलाई भारतदेखि वरिष्ठ डक्टरले सिफारिस गर्दा पनि नेपालका ती डाक्टरले ‘म तपाईंलाई १ लाख तुरुन्त रुपैयाँ मिलाइदिन्छु ओम हस्पिटल जाऊ’ भन्नुभयो। विपन्न नागरिकलाई क्यान्सर उपचारका लागि सरकारले १ लाख रुपैयाँ दिने रहेछ। पछि बुझेँ, त्यो रकम यदि बिरामी विपन्न रहेछ भने जुन अस्पतालमा उपचार गरे पनि पाउने रहेछ। म छाँगाबाट खसे झैँ भएँ।
म जसको नाम लिएर भारतदेखि नेपाल फर्किएको थिएँ, उहाँले मेरो जिज्ञासाको कुनै उत्तर दिनुभएन। पटक पटक निजीमा जाऊ मात्र भनिरहनु भयो। मन आत्तियो, साह्रै तनाव लाग्यो, म कसको विश्वास गरौँ अब? सरकारी अस्पतालमा उपचार गर्न आएको बिरामीलाई सरकारी जागिरे डक्टरले निजीमा जाऊ भन्न मिल्छ प्रधानमन्त्री ज्यू?
डक्टर पढ्नुअघि नै केही आधारभूत कुराहरूलाई व्यक्तिगत रूपमा स्विकार्छु भन्ने प्रण गर्नु पर्ने देख्दछु। अरू सबै पेसा हुन सक्छ तर डाक्टरी पेसाभन्दा माथि धर्म, सेवा मान्नुस्। डक्टरलाई भगवान् भनिन्छ किनकि डक्टरको काम जीवन बचाउने हो। बजारमा मासु बेच्ने वाला, तरकारीवालाले बरु जानेको सल्लाह दिन्छन् तर डक्टरसँग बिरामीको प्रश्न र जिज्ञासा समाधानको समय छैन। बिरामीप्रति ध्यान छैन। खास त ल्याबले रिपोर्ट दिन्छ, डक्टरको काम नै बिरामीलाई सल्लाह दिनु हो नि, होइन र?
डक्टर साप, लोभ मोहलाई सीमित गरौँ। नैतिकता राखेर काम गर्नुस्।
निजी अस्पताललाई विशेष सुझाव, सरकारी अस्पतालमा त हाँसेर सेवा दिने भन्ने एकादेशको कथा नै हो। तपाईंकहाँ पनि कहिले ग्राहक आउला र रिस थोपरौँला भनी बसेका छन् कर्मचारी। तालिम दिनुस् र दीर्घकालीन लाभ हेरेर बिरामीको विश्वास जित्नुस्। नेपाल बाहिरिने अरबौँ रुपैयाँ तपाईंहरूकै पोल्टामा हुनेछ। निजी अस्पताल वरपर झोले खडा गरिएका छन् र तिनको सम्पर्क माथिल्लो व्यवस्थापन र डक्टरहरूसम्म छ। नेपालका निजी अस्पताल व्यवस्थापनका व्यक्ति र त्यस्तै झोलेहरू मिलेर भारत पुर्याइन्छन् बिरामी।
बिरामी भारत पुग्दा तिनलाई कमिसन आउँछ। त्यसै गरी प्रधानमन्त्री ज्यू, बिरामी परेको बेला तत्कालै उपचार पाउँ भन्ने बेलामा हरेक मेसिन खरिदमा भ्रष्टाचार छ, पहिला खरिद गर्ने बेला भ्रष्टाचार भयो थाहा भएन वा मिलेमतोमा गरे तर खरिदमा भ्रष्टाचार गरेको पत्ता लागेपछि त कारबाही गरिनु पर्छ नि।
प्रधानमन्त्री ज्यू, भ्रष्टाचारको गन्ध पाइसकेपछि छानबिन किन सुरु गर्नु भएन? खै दण्ड खै कारबाही खै कानुनको कार्यान्वयन? भारतमा जानेहरूको एउटै प्रश्न छ, तपाईंको पार्टी, तपाईंको मन्त्रीमण्डल र तपाईंले नियुक्त गरेका विभागीय प्रमुखहरूको संलग्नता छैन भने अर्बौँको भ्रष्टाचार भइरहँदा तपाईं कसको लागि बचाउन छानबिन र कारबाही गर्न चाहनुहुन्न? उत्तर दिनुस्।
एउटा कुरा, म नेपालमा चलिरहेको राजनीतिक नारा ‘संवृद्धिको नारा’ बाट प्रभावित भएर २०६९ मा जन्मिएकी मेरो पहिलो सन्तान छोरीको नाम नै संवृद्धि राख्ने मान्छे हुँ। जुन छोरी अहिले ११ वर्षकी भइसकिन्। मैले कुन मुखले भनौँ कि तिम्रो नाम मैले राजनीतिक नेतृत्वले जनतालाई देखाएको सपनाको नाम हो भनेर? तैपनि मलाई व्यक्तिगत स्तरमा ठुलो गुनासो छैन। म त भाडामै भए पनि राजधानी मा बस्न पाएको छु। उपचारकै लागि अर्को देश जान पाएँ, मरेकै भए पनि गर्दा गर्दै भन्ने ठाउँ छ।
म शिक्षित छु, मलाई म काम गर्ने संस्थाबाट कार्यालयको चिन्ता नगर्नु, ढुक्कले उपचार गर्नु, हामी छौँ भन्ने भरोसा दिने हुनुहुन्छ। मैले गुगल, च्याट जिपिटीलाई सोधेर नै धेरै समाधान पाएँ। तर विकट गाउँ जहाँ गाउँको स्वास्थ्य चौकी जान बाटो सोध्नुपर्ने अशिक्षित, निम्न वर्गीय नागरिक हस्याङफस्याङ गर्दै भारत पुगेको छ। उसले कसरी उपचार गरोस् राजीव गान्धी जस्तो महँगो अस्पतालमा? गाउँमा जहाँ शिक्षा छैन, प्रविधिको ज्ञान छैन, जोसँग केही गाह्रो पर्यो भने हामी छौँ भन्ने कोही छैन, बिरामीप्रति घृणा छ, अझै कति भयावह होला।
किन सरकारले लाखौँ क्यान्सर लगायत दीर्घ रोग लागेका नेपालीलाई विश्वास दिन सकेन र भारत लगायत मुलुकमा बर्सेनि अर्बौँ रकम बिदेसिएको छ? अर्को तिर उत्पादित स्वास्थ्य जनशक्ति किन रोक्न सकिरहेका छैनौँ? हामी किन प्रविधिमा टाढा भइरहेको छौँ? नेपालमा डाक्टर छन्, हस्पिटल छन् तर विश्वास दिन नसकेकोले नै आज अर्बौँ रकम बाहिरिएको छ। बिरामीले सास्ती पाएका छन्।
प्रधानमन्त्री ज्यूले केही दिनअघि एक कार्यक्रममा आफ्नो मिर्गौला प्रत्यारोपण गरेको वर्षौँपछि कमसल खाना र गलत दबाइका कारण मेरो मिर्गौलामा समस्या आएको भन्नु भएपछि म यो पत्र लेख्ने निर्णयमा पुगेको हुँ। अहिले धेरै सोच्न आइरहेछ। देशको प्रधानमन्त्री, त्यसो पनि धेरै पटक मन्त्री भएर धेरै पटक प्रधानमन्त्री हुनुभएको छ हजुर। हजुरले दुखेसो पोख्नु पर्ने अवस्था छ भने, आम नेपालीको दुरवस्था कति कहालीलाग्दो होला?
प्रधानमन्त्री ज्यू र स्वास्थ्य मन्त्री ज्यू, अब जनता मेरै भाग्य खोटो रहेछ, मेरो बाँच्नु यत्ति रहेछ, परिस्थिति मेरो पक्षमा रहेन भनेर आफ्नै कर्मलाई धिक्कार्ने पक्षमा छैनन्। सबका सब गल्तीको मुहान राजनीतिक नेतृत्व हो। असल शासन र असल संस्कार सिकाउन नसक्ने अनि कानुन मिच्नेलाई कारबाही गर्न पनि नसक्ने तपाईंहरूको नालायकी हो।
प्रधानमन्त्री ज्यू यो आरोप पत्र होइन, तथ्य हो। यथार्थ हो।
नेपालको मुख्य चिन्ता शिक्षा र स्वास्थ्य हो। शिक्षामा दलाल निर्माण गरियो जसले नेपालमा बस्ने सब मूर्ख हुन् भन्ने भाष्य निर्माण गरेर सबैलाई जसरी पनि विदेश जानु पर्छ भन्ने भाष्य खडा गरेको छ। स्वास्थ्यमा अघोषित दलाल छन् जसले बिरामीलाई नेपालमा सके नेपालमा लुट्ने वा भारतीय अस्पतालसँग सेटिङ मिलाएर लुट्ने।
प्रधानमन्त्री ज्यू, कि शिक्षामा जस्तै स्वास्थ्यमा पनि बिचौलियालाई लाइसेन्स दिऊँ नत्र बिचौलिया रोक्न सम्भव छ, रोकौँ। प्रधानमन्त्री वा मन्त्रीले सबै गल्ती मात्र गर्नु भयो र सबै खराब कर्ममा संलग्नता छ भन्ने पनि होइन। खराब कर्म गर्नेको छहारी किन बन्नुभएको भन्ने मूल प्रश्न हो।
यो चिठीको मुख्य उद्देश्य हामीले सरकार कहीँ पाएनौँ। कम्तीमा पैसा तिरेर उपचार गर्दा त विश्वासयोग्य उपचार देशमै पाउँ भन्ने मात्र हो।
स्वास्थ्य मन्त्री ज्यू, तपाईंको विभागीय प्रमुख र डाक्टरहरूसँग नियमित छलफल हुन्छ झैँ लाग्दैन। तपाईंको टिममा स्वास्थ्य क्षेत्रका विज्ञ सल्लाहकार भए जस्तो पनि लागेन र यस आवको बजेटमा प्रदेश स्तरमा क्यान्सर अस्पताल बिस्तार गर्ने भनिएको छ तर क्यान्सरको यो भयावह रूप हेर्दा तत्कालै जिल्ला स्तरमा बिस्तार गरिनुपर्ने आवश्यकता छ। यस रोगको निदानका लागि जिल्ला जिल्लामा विशेष डक्टर र विभाग खडा गरिनु आवश्यक छ।
म अब नरहन पनि सक्छु भनेर गाडीमा परिवारका लागि चिठी लेखेर, कार्यालयको गाडी कार्यालयमै लगेर पार्किङमा छोडेर उपचारका लागि गएको मान्छे अहिले किमो थेरापी गर्ने बेला आफैँ गाडी चलाएर हस्पिटल आएको छु। यो आत्मविश्वास सबै उपचार प्रक्रियामा भेटेको डाक्टर र मलाई केही हुँदैन भनेर सल्लाह दिन हजारौँ व्यक्तिहरूको सद्भावले हो। सबैप्रति नमन।