बिहान स्वास्थ्यका खातिर दौडिने बाटोमा घरदेखि निस्कँदै गर्ने क्रममा सडकमा बेपर्वाह चुरोट तान्दै गरेको युवा देखें।
युवा धुवाँ तान्ने र फाल्ने, ऊ अगाडि, म पछाडि, उसले फाल्ने, म लिने गर्दै करिब २० सेकेन्ड चलिरह्यो। धन्य ती युवक सडक पार गरे, म वारि नै रहेँ। सडकवारितर्फबाटै बिहानको पैदल यात्रामा लागेँ। फेरि अर्को दुई सय पाइलाको हिँडाइमा अर्को महानुभाव चुरोट तान्दै टेम्पो सफा गर्दै गरेको भेटेँ।
फरक के थियो, पहिलाका अम्मली सडकमै हिँड्दै चुरोट पिउँदै थिए, यी दोस्रो अम्मली एक स्थानमा बसेर पिउँदै थिए।
अर्को तेस्रो अम्मली सडकमा रहेको पेटीबाट हिँड्दै चुरोट पिउँदै थिए। खै बिचराहरूलाई सार्वजनिक स्थानमा चुरोट पिए सय जरिबाना हुन्छ भन्ने थाहा नभएर हो या बेसी नै तलतल लागेर हो। आखिर तीनै जना अम्मलीले समाजमा निष्क्रिय धूमपान गराएर क्यान्सर तथा दम, मुटुको जोखिम बढाउँदै थिए। राजधानीमा यस्तो छ, मोफसलको हालत के होला? चुरोटको विरोध गर्दा उद्योगी रिसाऊलान्, उद्योगमा काम पाउने कामदारहरू जङ्गिएलान्, यद्यपि गलत गलतै हो।
एकताका एनजिओमा काम गर्दा बच्चाले सडकमा बसेर भोक मार्न गम ग्लु अर्थात् डेनड्राइट टाँस्ने झोल वस्तु दूधको प्लास्टिकमा राखेर हावाले फुकेको चित्रको पोस्टर बनाएर सडकमा गम खाने, सुँघ्ने बच्चाहरूलाई चेतना जगाउन लागियो। यसै क्रममा बुटवलको एक सडकमा रहने बच्चाको भनाइ यस्तो थियो, 'पहिला मलाई गमको बारेमा थाहा थिएन, तर यो पोस्टर देखेपछि गम सुँघ्न सुरू गरेँ।'
अम्मल नक्कलबाट पनि सिकिन्छ, यसै गरी गीतसंगीतबाट सिकिन्छ।
बिहान स्वच्छ हावा खान हिँडेको म गाडी, बाइक तथा चुरोटको धुवाँ पिउन बाध्य थिएँ। म जस्ता धेरै बिहान हिँड्छन्, सबैको हालत यही हो, कुरा फरक मैले बोलेँ।
कतै कुनै निकाय, ठाउँमा समस्या राखे 'यस्तो नाथे कुरा खासै यो समस्या होइन' भनेर पन्छाइन्छ तर दिनहुँ दिल्ली तथा भरतपुर, हरिसिद्धि, भक्तपुर अस्पतालमा क्यान्सरको उपचारको लागि टिकट समेत पाउन कठिन छ।
उपचार त परै जाओस्। सबैलाई यो कुरा नाथे छ, उता यत्रतत्र प्लास्टिक बाल्छन्, दुर्गन्ध त छँदै छ, विषाक्त धुवाँ छ। प्लास्टिकको विरोध गर्यो भने रोजगारीको तर्क सार्छन्, घर बेचेर क्यान्सरको उपचार गरेको बिर्सन्छन्। रोगको जोखिम छ। नगरपालिका सडक पेटीका सिमेन्ट ब्लक निकाल्ने, राख्ने, उप्काउने काममा व्यस्त छ, केटाकेटीले भाडाकुटी खेले जस्तो पोख्ने, उठाउने; कहाँ जनस्वास्थ्यमा चासो दिनु।
अग्ला गगनचुम्बी अस्पतालको लाइसेन्स बेच्न पल्केकालाई त्यो रोकथाम विधि के काम? स्वास्थ्य चेतनामा विश्वास नै छैन। रोकथाम होइन, उपचारमा कमाइ छ, सबै रमाएका छन्।
'आफू नमरी स्वर्ग देखिन्न, आफू मरेपछि संसार सकियो किन चाहियो' यस्तै छ यहाँको लापरबाही। नेपालको रक्सी र चुरोटमा कडाइ, धेरै कर छ, बाहिरबाट आएको आएकै छ। एक मित्र भन्दै थिए, 'सरकारी स्कुलमा बच्चा पढाउन हुन्थ्यो कि तर केयर, हेरचाह राम्रै हुँदैन; अस्ति एउटा सरकारी स्कुल नजिक स्कुले नानीले ड्रेसमा चुरोट फुक्दै थिइन्, निजी भए त यसरी बाहिर बरालिन पाउँदैनन् कमसेकम।'
हुन त निजीका बच्चाहरू पनि कहाँ कम छन् र? भेप समेत तान्छन्। स्कुल नजिक चुरोट बेच्न नपाउने कानुन त छ नि, केवल अक्षरमा लागू छैन। स्थानीय निकाय ठेक्का, टेन्डर, अग्ला भवनमा रमाउँछ, पालिकाबासी भाँडमे जाय।
विश्वमा चुरोट पिउनेमा जापानीहरू धेरै पर्छन् भनिन्छ तर नेपालमा पनि अम्मलीहरू बढेका छन्। एकान्त, समाज, एक्लोपन, दबाब, तनाव, जिम्मेवारी, कामको दबाब, बिछोड, मिलन, गरिबी, असफलता, महँगी, घर-झगडा, बेमेल विवाह आदि सबैमा अम्मलीहरूको मात्रा दिनानुदिन बढ्दो छ।
कुनै बेला बेलायतीले 'चुरोट भन्दा फेसबुक खराब भन्दथे, अहिले एआईले फरक पारेको छ'। चुरोट खाने मानिसहरू बढ्दा छन्, कारण एक्लोपना नै हो; उत्सुकता र सङ्गतले पनि केही बढाएको छ।
चुरोट पिउनुको कारणहरूमा धेरै बढी मध्येको साथीसङ्गति हो, 'सङ्गात् सञ्जायते कामः' (सङ्गते जायते फलम्) भनिन्छ, यस कारण सङ्गतमा धेरै ख्याल गर्नुपर्छ। मानिस एक्लो हुँदै छ, सबैले मोबाइललाई दोस्ती बनाएका छन्, कतिका बाध्यता छन्, कतिका रहर, कतिका कुलत, प्रयोग गर्ने आ-आफ्ना तरिका छन्।
अन्त्यमा, सार्वजनिक सडकमा चुरोट पिउन कडाइ गरौँ, कमसेकम चुरोट नपिउनेहरूलाई सम्मान गरौँ, पिउनेहरूलाई उनीहरूको स्वतन्त्रताको सही प्रयोग गर्न र अरूलाई दख्खल नदिन सचेत गराऔँ।
देश बनाउन, सुधार्न साना-साना कामबाट सुरू गरौँ।
ठूला कुरा कसैले नगरौँ, ठूला कुरा गर्नेहरू अहिले कुन दुलामा छन्, देखिएको छ।
सरकार, स्थानीय निकाय, स्वास्थ्यका अड्डाहरू सबै चनाखो बनौँ। बटुवालाई यातायातको धुवाँ त थियो नै, चुरोटको धुवाँ पनि नथपौँ, नागरिकलाई शान्तिपूर्वक स्वस्थ भएर बाँच्न दिऊँ।