हिजो पनि मलाई एउटा फोन आयो। फोन गर्ने व्यक्तिले आफूलाई रगत आवश्यक परेको बताए।
रगतको आवश्यकता परेपछि मलाई फोन आउनु मेरो लागि नयाँ कुरा होइन। दिनहुँजसो यस्ता फोनहरू आइरहेका हुन्छन्। सकेसम्म सबै फोन उठाउने प्रयास गर्छु र आवश्यक परेमा रगत व्यवस्थापनका लागि सहयोग गर्ने कोसिस गर्छु।
यसपटक फोन गर्ने बिरामीलाई 'ए पोजिटिभ' रगत आवश्यक रहेछ। बिरामी आफैले फोन गरेका थिए। त्यसपछि एक जना रक्तदातासँग समन्वय गरी उहाँलाई आवश्यक रगत व्यवस्थापन गर्न सकियो।
यस्ता घटनाहरू नेपालमा दैनिकजसो भइरहेका छन्। रगतको आवश्यकता निरन्तर बढिरहेको छ भने कतिपय स्थानमा अभाव पनि देखिने गरेको छ। म जस्ता स्वयंसेवक र ब्लड फर नेपाल जस्ता संस्थाहरूको प्रयासले आपतकालीन अवस्थामा रक्तदाता खोज्न र रगत व्यवस्थापन गर्न सहयोग पुगिरहेको छ।
यही रगत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने रक्तदाताहरूको सम्मानमा हरेक वर्ष जुन १४ मा विश्वभर 'विश्व रक्तदाता दिवस' मनाइन्छ।
यस दिवसको उद्देश्य स्वेच्छिक रक्तदाताहरूको योगदानको सम्मान गर्नु, रक्तदानप्रति जनचेतना फैलाउनु र सुरक्षित तथा पर्याप्त रगतको उपलब्धताका लागि समुदायलाई प्रेरित गर्नु हो।
रगत कुनै कारखानामा उत्पादन गर्न सकिँदैन। यसको एक मात्र स्रोत मानिस नै हो। त्यसैले रक्तदान मानवताप्रतिको सबैभन्दा ठूलो योगदानमध्ये एक हो।
नेपालमा दैनिक रूपमा दुर्घटना, शल्यक्रिया, प्रसूति सेवा, क्यान्सर उपचार, थालासेमिया लगायतका विभिन्न कारणले हजारौँ बिरामीलाई रगत आवश्यक पर्छ। तर आवश्यकताको तुलनामा नियमित रक्तदाताको संख्या अझै पर्याप्त छैन। त्यसैले धेरै परिवारले आकस्मिक अवस्थामा आफन्त, साथीभाइ वा सामाजिक सञ्जालको सहारा लिएर रक्तदाता खोज्नुपर्ने अवस्था छ।
यस्तो अवस्थामा नियमित र स्वैच्छिक रक्तदानको संस्कार विकास गर्नु अत्यन्त आवश्यक छ। रगत आवश्यक परेपछि मात्र रक्तदाता खोज्ने होइन, आवश्यकता पर्नुअघि नै पर्याप्त रगत संकलन र व्यवस्थापन गर्ने प्रणाली निर्माण गर्नुपर्छ। यसका लागि सरकार, रक्तसञ्चार केन्द्र, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था, स्वयंसेवक र आम नागरिक सबैको साझा भूमिका आवश्यक छ।
वर्तमान अवस्था
७७ जिल्लामा अहिलेसम्म ७३ वटा जिल्लामा मात्रै रक्तसंचार सेवा केन्द्र १२१ वटा सञ्चालनमा छन्, जुन नेपाल रेडक्रस सोसाइटीका रक्तसञ्चार सेवा केन्द्र बाहेक निजी तथा सरकारले सञ्चालन गरेका छन्। अझै पनि ७७ वटै जिल्लामा रक्तसंचार केन्द्र पुग्न सकेको छैन।
हरेक वर्ष लगभग ४ लाख ५० हजार युनिट जति रगतको आवश्यकता पर्छ, जसमा ३ लाख युनिट रक्तदान कार्यक्रम र स्वेच्छिक रक्तदाताबाट उपलब्ध हुन्छ भने बाँकी रक्तदाता आपतकालीन अवस्थामा खोज्नुपर्छ। यसलाई कम गर्न अत्यन्त आवश्यक छ।
रगतका कुरा
ब्लड फर नेपालले सञ्चालन गर्दै आएको 'रगतका कुरा' अभियानले रगत व्यवस्थापनलाई समाजको साझा बहसको विषय बनाउने प्रयास गरिरहेको छ। रगतको अभाव हुँदा मात्र होइन, नियमित रक्तदान, प्रभावकारी व्यवस्थापन र जनचेतनाका विषयमा निरन्तर संवाद हुनुपर्छ भन्ने सन्देश यस अभियानले दिँदै आएको छ।
आज पनि नेपालका विभिन्न स्थानमा रगत अभावको समस्या देखिन्छ। कतिपय अवस्थामा बिरामीका आफन्तले रातभर रक्तदाता खोज्नुपर्ने अवस्था आउँछ। यदि समुदायमा नियमित रक्तदान गर्ने संस्कार विकास गर्न सकियो भने यस्ता समस्या धेरै हदसम्म समाधान गर्न सकिन्छ।
रक्त व्यवस्थापनसँग सम्बन्धित केही महत्वपूर्ण तथ्यहरू यस प्रकार छन्: एक पटकको रक्तदानबाट तीन जनासम्मको जीवन बचाउन सकिन्छ। स्वस्थ व्यक्तिले प्रत्येक तीन महिनामा नियमित रूपमा रक्तदान गर्न सक्ने व्यवस्था रहेको छ। रक्तदानले शरीरमा कुनै दीर्घकालीन नकारात्मक असर पार्दैन। हालसम्म रगतको कुनै कृत्रिम विकल्प उपलब्ध छैन। साथै, नियमित रक्तदानले सामाजिक उत्तरदायित्व र मानवताप्रति जिम्मेवारी तथा संवेदनशीलताको भावना अझ सुदृढ बनाउँछ।
विश्व रक्तदाता दिवस रक्तदाताहरूलाई धन्यवाद दिने दिन मात्र होइन, नयाँ रक्तदाता तयार गर्ने अवसर पनि हो। आज हामीले गरेको रक्तदानले भोलि कसैको जीवन बचाउन सक्छ। रगतको आवश्यकता कसलाई, कहिले र कहाँ पर्छ भन्ने कसैले भन्न सक्दैन। त्यसैले रक्तदानलाई अभियानभन्दा पनि संस्कारका रूपमा विकास गर्न आवश्यक छ।
म सम्पूर्ण रक्तदाता, स्वयंसेवक, रक्तसञ्चार केन्द्र, स्वास्थ्यकर्मी तथा रगत व्यवस्थापनमा योगदान पुर्याउने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। तपाईंहरूको योगदानका कारण हजारौँ बिरामीले नयाँ जीवन पाएका छन्।
हामी सबैको साझा लक्ष्य रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हुनुपर्छ। यसका लागि नियमित रक्तदान, प्रभावकारी रक्त व्यवस्थापन र समुदायस्तरमा जनचेतना अभिवृद्धि अपरिहार्य छ। आउनुहोस्, हामी सबै मिलेर मानवताको यो अभियानलाई अझ बलियो बनाऔँ।
विश्व रक्तदाता दिवसले हामी सबैलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ— रक्तदान केवल रगत दिने कार्य होइन, यो आशा, विश्वास र जीवन दिने कार्य हो। एक थोपो रगतले कसैको परिवारमा खुसी फर्काउन सक्छ, कसैको जीवन बचाउन सक्छ।
यस अवसरमा नियमित रक्तदान गर्ने, अरूलाई पनि प्रेरित गर्ने र रगत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन योगदान गर्ने प्रतिबद्धता गरौँ। मानवताको यो अभियानमा सबैको सहभागिता आवश्यक छ।