भनिन्छ- ‘जिन्दगीमा वान सेकेन्ड मिस, लाइफ इज फिनिस’। साँच्चै यस्तै भयो यहाँ प्रस्तुत गरिएको विषयवस्तु।
सरकारी कामको सिलसिलामा जुम्लादेखि नेपालगन्ज जान यति एयरलाइन्सको टिकट लिएको थिएँ। हाल यो एयरलाइन्स तारा एयरलाइन्सको नामकरणबाट चालु छ। त्यतिखेर यति एयरले नेपाल खाद्य संस्थानको लागि सुर्खेतदेखि जुम्ला चामल र अन्य कार्गो सामान ढुवानीको जिम्मा लिएको थियो।
सुर्खेतदेखि जुम्ला सडक मार्गको निर्माण कार्य चलिरहेको थियो। यातायातको विकल्प हवाई मार्ग बाहेक अर्को थिएन। कि त पैदलबाट ४/५ दिन लगाएर सुर्खेत जानु पर्ने हुन्थ्यो। त्यसैले हवाईजहाज नै चढ्नु पर्ने बाध्यता थियो। सुर्खेत-जुम्ला-नेपालगन्जको चार्टर फ्लाइट सेडुयल थियो त्यो दिनको। दिन थियो २०६३ साल असार ७ गते, समय दिउसो १२ बजे।
मौसम सफा थियो। काउन्टरमा सामान चेकअप भई बोर्डिङ पास हातमा लिएँ। सुर्खेतबाट हवाईजहाज उडेको जुम्ला टावरले ठुलो हर्न लगायो। आफ्ना आफन्त तथा कसैका परिवार आउने जाने भएकाले जुम्ला विमानस्थलमा मानिसहरूको ठुलो भिड थियो। सबै खुसी थियौँ।
केही समयपछि जुम्ला विमानस्थल नजिक जहाज देखियो। सफा घाम र हावा नभएकोले पश्चिमबाट (ल्यान्डिङ रुट कल साइन ०९ बाट) एकदम नजिक अवतरण गर्ने गरी आयो भन्ने हामीले बुझ्यौँ। अघिपछि माथिबाट पूर्वबाट धनराशि डाँडा मोडिएर (ल्यान्डिङ रुट कल साइन २७ बाट) ल्यान्डिङ गरिन्थ्यो। भित्रभित्रै मनमा सोचेँ, अब नेपालगन्जमा पुगिने भइयो भनेर।
तर दुर्भाग्य! त्यो प्लेन (ल्यान्डिङ रुट कल साइन ०९) तलबाट नबसी टावरमा नै ठोक्किने गरी एयरपोर्टदेखि करिब ५०० मिटर पूर्वपट्टि छोटो मोड लिन खोज्दा ठिन्के ज्यूलोको धान खेतको भित्तामा वनस्पति अनुसन्धान केन्द्र नजिक बायाँ पङ्खा ठोक्कियो।
हेर्दाहेर्दै प्लेन दर्दनाक अवस्थामा दुर्घटना भयो। ठुलो आवाज आयो। धूवाँको मुस्लोले एकै चोटि आकाश छायो। प्लेन थियो यति एयरको ९एनएबीक्यू कल साइनको। क्याप्टेन थिए किरण मल्ल। अचम्मै भयो। आँखा अगाडि नै यस्तो दुर्घटना देख्नु पर्यो। हातमा समातेको त्यो बोर्डिङ पास उता फालेँ। शरीर काँप्न लाग्यो। धरती फाटे जस्तै भयो। एकै चोटि सन्नाटा छायो।
एयरपोर्टमा रुवाबासी चल्यो। अनि सबै जना दगुर्यौँ त्यो दुर्घटना स्थलतिर। सबै यात्रुहरूका लास छिट्टीबिट्टी थिए। जलेका थिए। अझै पनि यो लेख लेख्दा हात कामिरहेको छ। सुरक्षा निकाय सहित सबै लागेर छिट्टीबिट्टी लासहरू उठायौँ। त्यतिखेर मोबाइल फोन थिएन। को-को छन् त्यस फ्लाइटमा केही थाहा थिएन। मलाई थाहा थियो त केबल मेरो बुढो मावली पट्टिका भतिज एवं कार्यक्रम अधिकृत जगदीश न्यौपाने। निजकी नाबालिग छोरी सबिना न्यौपाने एयरपोर्टमा बाबाको प्रतीक्षामा बसेको देखेको थिएँ। हाल उनी एमबिबिएस डक्टर भएकी छन्।
भनिन्छ भविष्य अन्धकार छ भनेर। साँच्चै त्यस्तै भयो। के थाहा आफ्नो घरको आँगनबाट र विमानस्थलबाटै आफ्ना आमा, बुबा, छोरा, छोरी, भाइ, भतिजा र इष्टमित्रले हेर्दा हेर्दै आफ्नै खेतको आलीमा आई आफू चढेको जहाज दुर्घटनाग्रस्त भई सबैजनाको अल्पकालीन मृत्युबाट एकै चिहान हुन्छ भनेर! अपसोच त्यस्तै भयो कार्यक्रम अधिकृत जगदीश न्यौपाने लगायत चालक दल र अन्य यात्रुको।
२०६३ साल असार ७ गते बिहान ११ बजे सुर्खेतबाट केही सामानहरू ६ जना यात्रु र ३ जना चालक दल सहित जम्मा ९ जना यति एयरको ९एनएबीक्यू कल साइनको ट्विनअटर विमान जुम्ला विमानस्थलमा अवतरणको लागि मोडिने क्रममा दुर्घटना हुन पुगेको समाचार देश तथा विदेशसम्म छायो। आधा घण्टा अघि मात्र कोही घरबाट कोही आफन्तबाट सुर्खेत विमानस्थलबाट बिदाइ भई जुम्लाको लागि उडेका होनहार युवाहरू एकैचोटि यस संसारबाट सदाका लागि अस्ताएका थिए। यस दुर्घटनामा नेपालका दक्ष जनशक्ति र ठुलो धनजनको क्षति भयो।
को-को थिए यस दुर्घटनामा अकालमा ज्यान गुमाउने यात्रुहरू?
महिला विकास शाखा जिल्ला बाल कल्याण अधिकृत जगदीश न्यौपाने (जुम्ला), जन स्वास्थ्य कार्यालय जुम्लाका लेखापाल विष्णुकुमार थापा (सुर्खेत), जाल्पा हाइड्रो प्रालि जुम्लाका कार्यालय प्रमुख गणेश खत्री (सुर्खेत), जय नेपाल युवा क्लब मुगुका कृषि प्राविधिक धर्मराज मल्ल (मुगु), भूतपूर्व भारतीय गोर्खा सैनिक कालीबहादुर शाही (जुम्ला), विद्युत प्राविधिक सिंह थापा (जुम्ला), वरिष्ठ चालक किरण मल्ल (काठमाडौँ), एयरहोस्टेस सिए दिपक शेरचन (नेपालगन्ज) र अन्य अर्का सहचालक गरी ९ जनाको ज्यान गएको थियो।
अझ दुखद कुरा त के छ भने निज सहचालककी धर्मपत्नी सिनियर पाइलट भावना खतिवडाको पनि गत विगत वर्ष काठमाडौँदेखि पोखरा जाने क्रममा निजले नै उडाएको यति एयरलाइन्सको ठुलो जहाज पोखरामा दुर्घटना भई चालक दल सहित ७२ जनाको मृत्यु भयो। जुम्लामा भएको दुर्घटनामा मृतकहरू सबै मेरा चिर परिचित र राष्ट्र सेवक कर्मचारीहरू थिए।
सरकारले तत्काल उक्त जहाज दुर्घटनाको जाँचबुझ आयोग गठन गर्यो। क्याप्टेन किरण मल्लको लापरबाहीले अवतरण गर्ने अवस्थामा पुगिसकेको जहाजलाई छोटो दूरीमा मोड्न खोज्दा जहाज दुर्घटना भएको भन्ने प्रतिवेदन सार्वजनिक भयो। तर जनमानसमा दुर्घटना हुनका अड्कलहरू अरू पनि गरिएका थिए। जे जस्तो कारण भए पनि जे नहुनु थियो त्यही भयो।
बाँच्ने र मर्ने अचम्मको संयोग
दुर्घटनामा परी ज्यान गुमाउने यात्रुहरूको त्यतिखेरको संयोग अचम्मको थियो।
दुर्घटनामा परी ज्यान गुमाएका जगदीश न्यौपाने उक्त बिहानमा मात्र जुम्ला आउने निर्णय गरी उक्त जहाजको टिकट काटेका थिए। लेखापाल विष्णु थापाले ड्रागन एयरको टिकट काटेका थिए तर एउटा कुखुरासहित जुम्ला आउन खोजेका थापालाई सामान चेकजाँच गर्ने क्रममा काउन्टरमा कुखुराको थप चार्ज लाग्ने बताएपछि उक्त भाडा तिर्न इन्कार गरी उक्त टिकट रद्द गरी यति एयरको टिकट काटेका थिए।
स्मरणीय कुरा के छ भने विमानमा रहेका सबै मानिसको ज्यान गए पनि उक्त कुखुरा ज्युँदै थियो। कुखुरालाई केही पनि भएको थिएन। कुखुराका मालिक थापाको ज्यान गए पनि कुखुरालाई केही नहुनु अचम्मको संयोग भएको थियो।
मुगुका कृषि प्राविधिक धर्मराज मल्ल सोही दिन बिहान ६ बजे नेपालगन्जबाट हाइस गाडीमा आई ड्रागन एयरको टिकट काटी काउन्टर चेक गर्दा २ किलो सामाग्री बढी भई पैसा तिर्नु पर्ने भएकोले उक्त पैसा तिर्नुभन्दा यति एयरबाट जान निर्णय गरेका थिए। जुम्लाका भूपू भारतीय गोरखा सैनिक कालीबहादुर शाही आफूले पाउने सेवा सुविधा बुझी उक्त प्लेनमा उडेका थिए। संयोग नै भन्नु पर्छ उनको त्यो सुरु र अन्त्य नै त्यो फ्लाइट भएको थियो। उनी जहिले पनि जुम्ला आउन जान पैदलबाटै यात्रा गर्थे रे।
क्याप्टेन किरण मल्लको उक्त दिनको त्यो चौथो फ्लाइट थियो। बिहान सुर्खेतबाट हुम्ला र बाजुरा फ्लाइट भ्याएर जुम्ला हुँदै नेपालगन्जबाट काठमाडौँ जाने अथवा क्रिउ चेन्जको पालो थियो। नेपालगन्जबाट २ बजे काठमाडौँ उड्ने तरखरमा थिए। त्यसैले उनी बढी हतारमा भएको देखिएको थियो।
अचम्मको बाच्ने संयोग
क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतका प्रमुख श्री क्षेत्रबहादुर केसी कार्यक्रम अनुगमनको सिलसिलामा जुम्ला आउन उक्त फ्लाइटको टिकट काटेका थिए तर फ्लाइट अलि डिले भएकोले सो भन्दा ५ मिनेट अगाडि जुम्लाको लागि उडेको ड्रागन एयर सिङ्गल इन्जिन जहाजमा जुम्ला उडेका थिए।
मैले यो लेख लेखेर बिर्सिएको घटना र पुरिएको घाउलाई कोट्याउन खोजेको होइन। केबल उपरोक्त ज्यान गुमाउने चिरपरिचित साथीहरू र आफन्तहरूको असार प्रत्येक वर्षको असार ७ गते पुण्यतिथि पर्ने भएकोले उहाँहरू सबैलाई सम्झना स्वरूप हार्दिक श्रद्धाञ्जली सहित चिर शान्तिको कामना गर्दै त्यतिखेर मेरो डायरीको पानामा लेखिएको यो शीर्षक ‘हातमा लिएको बोर्डिङ पास फाली यात्रुहरूका लास उठाइएको त्यो दर्दनाक कालो दिन’ लाई यहाँ प्रस्तुत गरेको मात्र हुँ। बिर्सिएको घटना र पुरिएको घाउलाई कोट्याउन खोजेको होइन, मलम लगाउन खोजेको हुँ।